+
+
Shares

निर्वाचन आयोगको लापरवाही, फस्टायो मिल्दो चुनाव चिह्नको राजनीति

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ५ गते ११:५५

५ भदौ, काठमाडौं । निर्वाचन आयोगले बुधबार ‘नेकपा एमाले’ नामक दललाई दर्ता गर्ने निर्णय गर्‍यो । जम्मा पार्टी सदस्य संख्या २१ रहेको यो दल दर्ताका लागि आयोगमा निवेदन दिएदेखि नै चर्चामा छ ।

चर्चाको कारण हो, नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गरेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्नु अघिको नेकपा (एमाले) सँग नाम र चुनाव चिह्न मिल्नु ।

आयोगमा १३२ औं दलको रुपमा दर्ता भएको सन्ध्या तिवारी नेतृत्वको नेकपा एमालेले डाँडामा उडाउँदो सूर्य चुनाव चिह्न पाएको छ । २०४६ सालपछि माले र मार्क्सवादी मिलेर बनेको नेकपा एमालेले लामो समयदेखि सूर्य चुनाव चिह्न प्रयोग गर्दै आएको थियो ।

माओवादीसँगको एकीकरणपछि बनेको नेकपाले पनि सूर्य चिह्नलाई नै निरन्तरता दिएको छ । यसको अर्थ नयाँ एमालेको चुनाव चिह्न पनि संघीय संसदमा झण्डै दुई तिहाई सांसद रहेको नेकपाको चुनाव चिह्नसँग मिल्दो भएको छ ।

नेकपाको जस्तै चुनाव चिह्न रोज्नुको कारण के हो त ? ‘भोली चुनावमा गईहालियो भने नेकपाका मतदाताको केही भोट झुक्किएर हाम्रो पार्टीलाई पनि आउँछ’ नयाँ एमालेका एक पदाधिकारी भन्छन् । यद्यपि मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जबज) लाई पार्टी विचारधारा बनाएकाले पनि सूर्य चि्हनसँग मिल्दोजुल्दो चिह्न राखेको उनको दाबी छ ।

जनाधार भएको पार्टीसँग मिल्दो चुनाव चिह्न राख्ने चलन नयाँ भने होइन । विस्तृत शान्ति सम्झौता पछि नेकपा (माओवादी)ले गोलाकार भित्रको हँसिया हथौडा चुनाव चिह्न पायो । २०६४ को चुनावमा यो चिह्न लिएर माओवादीले प्रत्यक्षतर्फको २४० मध्ये १२० सिटमा जितेर सबैभन्दा ठूलो दल बन्यो ।

त्यो निर्वाचनमा नेकपा (माले) को हँसिया तारा चिह्न थियो । प्रत्यक्षतर्फ एकसिट पनि नजितेको (माले)ले समानुपातिक निर्वाचन प्रणालीबाट ८ सिट जित्यो । त्यतिबेला माओवादी नेताहरूले आफ्नो मतदाताको भोट झुक्किएर मालेको चिह्नमा परेको टिप्पणी गरे ।

२०७० को संविधानसभा निर्वाचनमा माओवादी तेस्रो ठूलो दलमा खुम्चियो । यसपटक मालेको सिट पनि ८ बाट ५ मा झर्‍यो । अर्थात् माओवादीको भोट घट्दा मालेको पनि घट्यो ।

यस्तै कारणले मिल्दो चुनाव चिह्न दिएको भनेर दलहरूले पटक पटक निर्वाचन आयोगको आलोचना गर्दै आएका छन् ।

२०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही-३ बाट ३२ हजार ८६६ मत ल्याएर नेकपा नेता घनश्याम भुसाल निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का दीपक बोहराले २७ हजार ४२२ मत ल्याए ।

त्यही क्षेत्रमा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का कमलप्रसाद शर्मा उपाध्यायले एक हजार ८५६ भोट पाए । बोहराको चुनाव चिह्न ‘गोलाकारभित्र हलो’ थियो भने उपाध्यायको ‘वर्गाकारभित्र हलो’ ।

‘गोलाकारभित्रको हलो र वर्गाकारभित्रको हलोमा मतदाताहरू अलमलमा परेर निर्णायक भोट नै बदर भयो,’ निर्वाचन परिणाम स्मरण गर्दै बोहरा भन्छन् ।
फुट र विभाजनपछि बनेका दलहरूले उस्टै नाम र चुनाव चिह्न रोज्नुलाई अस्वभाविक मान्न नसकिएला । तर निर्वाचन आयोगले एकअर्कासँग सम्बन्धै नभएका दललाई पनि मिल्दोजुल्दो चिह्न दिएको देखिन्छ ।

जस्तो २०७० को निर्वाचनमा राप्रपा नेपालको चुनाव चिह्न गाई थियो भने तराई मधेश लोकतान्त्रिक पार्टीको हल गोरु ।

२०७४ सालकै निर्वाचनमा नयाँ शक्ति नेपाललाई देब्रे आँखा चिह्न दिएको थियो भने नेपाल लोकतान्त्रिक जनता कांग्रेसलाई दुई वटा आँखा ।

त्यस्तै नेकपा मालेलाई हँसिया तारा र नेकपा (संयुक्त)लाई हंसिया चिह्न दिएको थियो । आयोगले अखण्ड सुदुरपश्चिम पार्टीलाई चियादानी र नेपाली कांग्रेस -बिपी)लाई करुवा चिह्न दियो ।

राजनीतिक दल सम्बन्धी ऐन अनुसार चिह्न मात्रै होइन दलको नाम, उद्देश्य, झण्डा नेपालको धार्मिक वा साम्प्रदायिक एकतालाई खलल पार्ने वा विखण्डित गर्ने प्रकृति वा सार्वजनिक नैतिकता प्रतिकूल हुनुहुँदैन । तर निर्वाचन आयोगले कानूनको यो बाध्यकारी प्रावधानको पालना गरेको देखिदैन ।

आयोगको लापरवाही

निर्वाचन आयोगका पूर्वआयुक्त दोलखबहादुर गुरुङ साना पार्टीहरूले पहिलादेखि नै जनाधार भएका पार्टीसँग मिल्दो चिह्न मन पराउने गरेको अनुभव सुनाउँछन् । उनी भन्छन्, ‘हाम्रो जस्तो न्यून साक्षरता दर भएको देशमा उस्तैउस्तै चिह्न हुँदा एउटा पार्टीलाई दिएको भोट अर्कोले पाउने सम्भावना हुन्छ ।’

एउटालाई दिएको मत अर्कोले पाउनु अर्थात स्वच्छ प्रतिस्पर्धा नहुनु भनेको आवधिक निर्वाचन र लोकतान्त्रिक प्रणालीकै लागि राम्रो होइन । मतदाताको मताधिकारको रक्षा गर्न नसक्नु निर्वाचन आयोगको असफलता पनि हो ।

तर आयोगले भने कानूनतः सही भएको भन्दै आफ्नो लापरवाहीको बचाउ गर्दै आएको छ । ‘नयाँ एमाले दललाई पनि कानुन हेरेर मिल्ने भएपछि नै दर्ता गर्ने निर्णय गरेका हौं,’ निर्वाचन आयोगका एक आयुक्त भन्छन्, ‘१३१ वटा दल दर्ता हुँदा चुपचाप बस्ने यो दलले डाँडामाथिको सूर्य पाउँदा हल्लाखल्ला किन ?’

राजनीतिक दल सम्बन्धी ऐनको दफा ६ को ‘ङ’ मा दलको चिह्न निर्वाचन आयोगमा दर्ता कायम रहेको दलको चिह्नसँग मिल्ने भएमा दल दर्ता गर्न नमिल्ने उल्लेख छ । ती आयुक्तले भने जस्तै कानूनी रुपमा सूर्य र डाँडामाथि उडाउँदै गरेको सूर्य चिह्न दिनु सही नै होला ।

तर आयोगले ‘कानूनी रुपमा सही’ हेरेर मात्रै पुग्दो रहेनछ भन्ने माथिका दृष्टान्तहरूले नै पुष्टि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?