Comments Add Comment

सामाजिक सञ्जालको शिकारमा ब्याच–२०७६

कोभिड– १९ को विश्वव्यापी मारले स्थगित गरिएको माध्यामिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल प्रकाशनसँगै सामाजिक सञ्जाल बहुल टिप्पणीले भरिएको छ ।

२०७६ चैत्र ५ गतेको साँझ एक वर्षको मिहिनेत पार लगाउन विद्यार्थीहरू परीक्षा–केन्द्रमा पुगे । ५ गतेसम्म जम्मा एक जनामा कोरिना संक्रमण पुष्टि भएर निको भइसकेको थियो । तर परीक्षा सञ्चालन गर्न सकिने विकल्प विचार नगरी १५ घन्टा अगाडि एक्कासी परीक्षा स्थगित गर्नु राज्य संयन्त्रको अदूरदर्शिता थियो ।

यसरी कुरा गर्दा परीक्षा केन्द्रबाटै कोरोना भाइरसको महामारी फैलिन सक्ने तर्क अगाडि सार्न सकिन्छ । तर, त्योभन्दा अगाडि राज्यभरि संक्रमण देखिएका जम्मा एक व्यक्ति र उसको सम्पर्कमा आएका व्यक्तिलाई पूरा राज्यसंयन्त्रले ट्रेसिङ गर्न नसक्ने कमजोरीलाई कसरी मुल्यांकन गर्ने ?

हाम्रो शैक्षिक मान्यताले कक्षा १० को परीक्षालाई उच्च श्रेणीमा राखिदिएको छ । लगातार फलामे ढोका भनिनु, सामान्य जागिर, पद र प्रतिष्ठामा समेत एसईई उत्तीर्णको प्रमाणपत्र खोजिरहनुजस्ता सामाजिक अभ्यासले एसईईको महत्त्व थप पृष्ठपोषण गरिएको छ । कक्षा दशको पढाइ सिकाइकेन्द्रित होइन, परीक्षाकेन्द्रित बन्दै आइरहेको छ । १५–१६ वर्षका किशोर विद्यार्थीको मस्तिष्कमा हामीले एउटा कक्षामा अनुत्तीर्ण विद्यार्थी जीवनमा अब्बल हुन सक्छ भन्ने बोध गराउन सकेका छैनौं । बरू लगातार एसईईको प्रमाणपत्रले नै जीवनको उत्कृष्टता मापन गर्दछ भन्ने मनोवैज्ञानिक मान्यता सृजना गरिरहेछौं ।

स्कुल, कलेज वा युनिभर्सिटी टप गरेका विद्यार्थीहरू जीवनमा असफल भएका र फेलर विद्यार्थीहरूले पनि समयलाई एउटा नयाँ मोडमा लगेका उदाहरण हामीसँग अनगन्ती छन् । यो कुरा हामी धेरैलाई थाहा छ तर सबैभन्दा दुःखद पक्षचाहिँ हामीलाई यो परीक्षापद्धति गलत हो भन्ने थाहा हुँदाहुँदै पनि यसको विकल्पबारे अझैसम्म केही सोचेका छैनौं ।

हामी त सामाजिक सञ्जालमा परीक्षा पद्धतिलाई बेकामे भन्दै फेरि यसैको पृष्ठपोषण गर्न अब्बल छौं । विगतका वर्षमा विद्यार्थीले ल्याएको नतिजा वा जीपीएलाई यस वर्षको जीपीएसँग तुलना गरेर सस्ता टिप्पणीहरू सार्वजनिक गर्न उद्यत छौं ।

यदि हामीलाई जीपीए वा नतिजाले मात्र विद्यार्थीको साँचो क्षमता मूल्यांकन गर्दैन भन्ने न्युनतम मात्र जानकारी छ भने पुराना नतिजासँग यस वर्षको नतिजा तुलना गर्नुको तुक रहँदैन । देशका प्रतिष्ठित पत्रिकाले समेत यही विषयलाई रिपोर्टिङको मसला बनाउँदा घुमाउरो तरिकामा हामी हाम्रो परीक्षा प्रणालीको विकल्पबारे सोच्न तयार छैनौं भन्ने कुरालाई थप पुष्टि मिलेको छ ।

परीक्षा पद्धतिको विकास करिब २ हजार वर्ष पहिले चीनबाट सुरु भए पनि, परीक्षामा केही घन्टा बसेर, लेखेर सिकाइको मूल्यांकन गर्ने पद्धतिको इतिहास भने उति लामो छैन । अमेरिकाबाट १९ औं शताब्दीदेखि यो पद्दति विकास भएसँगै संसारभर यही पद्दतिको प्रयोग हुँदै आएको छ । केही वर्षयता समय सीमामा बाँधिएर गरिने मुल्यांकन प्रभावकारी हुन सक्दैन भन्ने ठानेर परिक्षा पद्धतिको विकल्प खोजिएको उदारहण धेरै छन् । आजभोलि विश्वका अधिकांश पश्चिमा र युरोपेली मुलुकमा परीक्षा हलमा केही समय निश्चित प्रश्नहरूको उत्तर लेखेर गरिने मूल्याङ्कन पद्दति परिवर्तन हुन थालिसकेका छन् ।

भारत र नेपालजस्तो हिन्दु सभ्यता भएको मुलुकमा केही दशक अगाडिसम्म पनि स्कुल र कलेज सर्वसुलभ थिएन । नेपालमा सबैभन्दा पहिले त्यो पनि केवल दरबारका भाइ भारदारलाई पढाउन दरबार हाईस्कुल (१९१० आश्विन २७) खोलिएको तथ्यांकले पनि नेपालमा परीक्षा प्रणालीको सुरुवात भएको निकै कम समय देखाउँछ ।

त्योभन्दा अगाडि गुरुकुल पद्दतिबाट ज्यादै कम मानिसले मात्र शिक्षाको अवसर पाउँथे । दरबार स्कुल खुलेको लामो समयसम्म एसएलसी बोर्डको स्थापना भएको थिएन । नेपाली विद्यार्थीहरू भारतको कलकत्ता तथा बनारसमा गएर प्रवेशिका परीक्षा दिन बाध्य थिए ।

समयको परिवर्तक्रमसँगै चलिरहेको परीक्षापद्धति खारेजीको विश्वभर प्रयोग र बहस सुरू भइसकेको छ । स्वीटजरल्यान्ड, डेनमार्क, बेलायत, फिनल्यान्डजस्ता उत्कृष्ट शिक्षा पद्दति रहेका अधिकांश मुलुकमा सिकाई मूल्याङ्कनको पृथक प्रयोग सुरु भइसकेको छ । त्यहाँ परीक्षामा लेखेरमात्र होइन, बोलेर, प्रयोगात्मक कक्षा गरेर, खेलकुद तथा सृजनात्मक अभ्यासको प्राप्तांक जोडेर कुल परीक्षाफल सार्वजनिक गरिन्छ ।

एकातिर हामीसँग गलत पद्दतिले जरा गाडेर बसिरहेको छ भने अर्कोतिर हामीले यही पद्दतिलाई मलजल गरिरहेकाछौं । एसईई वा जुनसुकै परीक्षा उत्तीर्ण गरेपछि हामीले सोध्ने पहिलो प्रश्न हो, ‘पर्सेन्ट’ वा ‘पोजिसन’ ! विद्यार्थीले कम प्रतिशत ल्याएको रहेछ वा राम्रो पोजिसनमा आउन सकेको रहेन छ भने हामी नाक खुम्च्याइहाल्छौं । परिवार र नजिकका आफन्तबाट त्यो विद्यार्थीले उपहास सहनुपर्छ ।

यसबाहेक नतिजा सार्वजनिक भएसँगै विद्यार्थीले भोग्नुपरेको मनोविज्ञानको हिंसाबारे कुरा गरौं । यसपालि टाउको दुखाएको विषय हो विद्यार्थीले प्राप्त गरेको उच्च अङ्क । विद्यालयले आन्तरिक मूल्यांकनबाट अंक दिन मिल्ने प्रावधान भएसँगै विद्यार्थीको अंक विगतभन्दा केही बढी देखियो । ४ जीपीए ल्याउने विद्यार्थीको संख्यामा वृद्धि भयो । यसका मुख्य दुई कारण छन्– पहिलो आफ्ना विद्यार्थीलाई आफैंले नतिजा दिन पाउँदा पनि किन कम दिनु भन्ने मानसिकता ।

दोस्रो कारणचाहिँ अभिभावकबाट पैसा लिएर वा दवाबमा अंक बढाएको आरोप सत्य हुन सक्ने । प्रमाणित नभइकन हामीले दुवै कारणमाथि मनपरि बोल्नै मिल्दैन । तर, हरेकले विद्यार्थीकै प्राप्तांकमाथि प्रश्न गरिरहँदा विद्यार्थी स्वयं आफ्नो जीवनप्रति मोटिभ हुन्छ कि डिमोटिभ ?

विद्यालयले दयाले प्राप्तांक दियो कि दबावले ? उसको मस्तिष्कमा सधैं रिङ्गिइरहने यो प्रश्नले आगामी परीक्षामा समेत असर गर्छ । किनभने, फलानो ब्याज त परीक्षा नदिइकन माथि चढेको ब्याज हो भनेर भन्न थालिने छ । आखिर विद्यार्थीले ल्याएको उच्च अंकलाई केन्द्रमा राखिएर गरिएका हाम्रा टिप्पणी, प्रश्न र बहसको निशानामा शिक्षक वा विद्यालय मात्रै नपरेर विद्यार्थी नै पर्ने हुन् ।

हाम्रा अस्वस्थ टिप्पणी तथा प्रश्नहरूले एकातिर हाम्रो सिकाइको गलत मूल्यांकन पद्दतिलाई थप पृष्ठपोषण गरिरहेको छ भने अर्कोतिर विद्यार्थीको मनोविज्ञानमा नकारात्मक सन्देह प्रवाह भइरहेको छ ।

एसईई उत्तीर्ण भएका यी चार लाखभन्दा बढी विद्यार्थीमा पर्न गएको सामाजिक दबाबले उनीहरूको आगामी शैक्षिक मान्यतामाथि पनि प्रश्न उठ्छ । उनीहरू आफैंले आफूले पाएको प्राप्तांकमा हीनताबोध गरेर बसे भने आगामी सिकाइमा गम्भीर असर पर्छ । उनीहरू अब त यही प्रणाली चल्छ कक्षामा मात्र राम्रोसँग पढे हुने रहेछ भनेर बसे भने सृजनशीलतामा ह्रास हुन्छ ।

दुवै पूर्वानुमानमा शिक्षाविद, अनुसनधानकर्ताले खोज गर्नु जरुरी छ । अनि सामाजिक सञ्जालमा केही लेख्दा बालमनोविज्ञान तथा सिकाइ मनोविज्ञानमाथि कस्तो असर पर्छ सोच्न आवश्यक छ ।

(चालीसे त्रिभुवन विश्वविद्यालयमा एमफिल अध्ययनरत छन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment