
५ भदौ, वीरगञ्ज । कोरोना संक्रमणबाट पर्साको वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ ।
वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका–१० रानीघाटका ४८ वर्षीय पुरुषको शुक्रबार दिउँसो सवा १ बजे मृत्यु भएको उपचारमा संलग्न एक चिकित्सकले जानकारी दिए ।
‘हिजैदेखि अवस्था सिरियस थियो, राति दुईपटक भेन्टिलेटरमा राखेर निकालेका हौं’ उनले भने, ‘बिहान फेरि अवस्था बिग्रिएर भेन्टिलेटरमा राख्यौं, तर उहाँको अवस्थामा सुधार आउन सकेन ।’
मुटुसम्बन्धी समस्याबाट ग्रसित उनी हाइपरटेन्सन र उच्च रक्तचापबाट समेत पीडित रहेको अस्पताल स्रोतले जनाएको छ । उनका आफन्तले रेमडेसिभर औषधी ल्याउन खोजेपनि सकिरहेका थिएनन् ।
नारायणी अस्पतालको आईसीयुमा उपचाररत उनलाई कोरोना संक्रमण पुष्टि भएपछि साउन ३२ गते वीरगञ्ज हेल्थ केयर अस्पतालमा ल्याइएको थियो ।
योसँगै वीरगञ्जमा कोरोना संक्रममणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ । मृत्यु हुनेमा २५ जना पर्साका, ५ जना बाराका र रौतहटका २ जना छन् ।
जेठ ३१ गते वीरगञ्जको घण्टाघरमा मृत भेटिएको बेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । तर उनको हालसम्म पहिचान खुल्न सकेको छैन ।
प्रतिक्रिया 4