+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares
प्रोफाइल :

नेपाली कथाका एक ध्रुव

निर्भीकजंग रायमाझी  निर्भीकजंग रायमाझी 
२०७७ भदौ ६ गते १०:४५

काभ्रेपलाञ्चोक, पनौतीको त्रिवेणी घाट मकर मेलाका लागि प्रसिद्ध छ । छ दशकअघि घाटछेउमा पाठशाला थियो । आठौं श्रेणीका छात्र ध्रुव सापकोटा टिफिनमा घुम्दै घाट पुगे । त्यहाँ त बोरामा भात सुकाइएको रहेछ ।

‘अन्न पो सुकाउने हो, यसरी भात किन सुकाएको होला !’ सापकोटालाई जिज्ञासा भयो ।

पछि थाहा पाए, गाउँगाउँका ब्रतबन्ध, विवाह आदिका भोजमा उब्रेको भात बटुलेर त्यहाँ सुकाउँदा रहेछन् । त्यसरी सुकाएको बासी भात खाने चलन रहेछ ।

‘हामीभन्दा पनि पचासखण्ड गरिब त्यहाँ देखें’ साठी वर्षअघिको घटना सम्झिँदै सापकोटा भन्छन्, ‘सयौंको जुठो मिसिएको भात बटुलेर खानुपर्ने निर्मम जीवनले मलाई केही लेख्न उक्सायो ।’

त्यो पीडालाई उनले ‘उदाइनसकेको घाम’ कथामा उतारे ।

त्यसयता निरन्तर मानवीय व्यथाहरूको कथा लेखिरहेका छन् ध्रुव सापकोटा । आठ कथा संग्रह, दुई उपन्यास र चार थान संयुक्त उपन्यासमा उनको कल्पनाशीलता प्रवाहित छ ।

सापकोटा साहित्यमा आउँदा भूपी शेरचन, पारिजात र शंकर लामिछानेहरूको दबदबा थियो ।

चुरोट र मदिरा सेवन साहित्यकारको विषेशताजस्तो थियो तिनताक । हर साँझ काठमाडौंको कुनै न कुनै कुवामा साहित्यकारहरूको मेहफिल जम्थ्यो । गाउँमा शुद्ध बाहुनचरी सापकोटा पनि काठमाडौंमा कवि–लेखकको कुवामा भिज्न थाले ।

‘भूपी चार रातसम्म लगातार रक्सी खान सक्थे’, उनी सम्झन्छन्, ‘पारिजात, लामिछाने, कटुवाल, वाशु शशी सबै धुमधाम खान्थे । त्यहाँ म मिसिएको पत्तै भएन ।’

त्यो बेला बसेको लत आजसम्म छ उनमा । सिग्रेट भने छोडेका छन् । हिजो ठूलो समूहसँग बसेर पिउँथे । आज संगीतको सानो समूह छ । महिनामा एकचोटि भेट्छन् उनीहरू ।  अलि उच्च जातकै एक–एक क्वाटर पिउँछन् ।

नगेन्द्रराज शर्मा, ध्रुवचन्द्र गौतम, शैलेन्द्र साकार र रोचक घिमिरेसँग बढी भेटिन्छन् सापकोटा ।

महिना व्यापार गर्दा उनले कथाका लागि थुप्रै पात्र भेटे । लबेदासुरूवाल र कोटमा ठाँटिएर आउने मान्छे दुई किलो माछा किन्थे अनि ‘पैसा भोलि है बाबु’ भन्दै हिँड्थे

****

८ साउन २००९ मा काभ्रे कुशादेवीमा जन्मेका सापकोटा नौ कक्षा पढ्न काठमाडौं आएदेखि यतै छन् । भ्रमणमा निस्केको बेलाबाहेक काठमाडौंबाहिर रात काटेका छैनन् उनले ।

‘हाइस्कुल पढ्न चामल, गुन्द्रुक र दाउराका चोइटा बोकेर भक्तपुरको बाटो हुँदै काठमाडौं आएको सम्झना बासी भएको छैन’, उनी भन्छन्, ‘६ दशक समय यसै बितिसकेछ ।’

सापकोटाले बनेपाबाट दिनहुँ दुई घण्टा हिँडेर आउने गुरुबाट कुशादेवीमै अक्षर सिके । त्यही अक्षर खेतिमा रमाइरहेका उनले सात दशकमा डेढ सय जति कथा लेखेका छन् ।

त्यो बेला कुशादेवीको भाषा पाठशालामा गाउँकै रामचन्द्र अधिकारी पनि शिक्षक थिए । साहित्य, संगीत र नाटकमा रूचि राख्ने उनी आफ्ना विद्यार्थीलाई सृजनात्मक कुरामा प्रोत्साहन गर्थे । सापकोटालाई रामचन्द्र गुरु बढी मन पर्न थाल्यो ।

त्यही बेला बाबुआमाले पढाई राम्रो होस् भनेर उनलाई १५ किलोमिटर टाढा सदरमुकाम धुलिखेल बजारको विद्यालयमा सारिदिए । ११ वर्षको फुच्चे, प्रत्येक हप्ता खाजासामलको लागि कुशादेवी–धुलिखेल धाउनपर्दा हैरान भए । कक्षा आठ पढ्न चाहिँ उनी पनौति नै फर्किए । अर्को वर्ष काठमाडौंको क्षेत्रपाटीमा रहेको जुद्धोदय हाइस्कुल भर्ना भए । त्यहीँबाट प्रवेशिका उत्तीर्ण गरे ।

‘सहरको चहलपहल देखेर केही महिना त दंगै परें,’ उनी सुनाउँछन्, ‘काठमाडौं आएको ६ महिना भइसक्दा पनि एउटै साथी बनेनन् । गाउँबाट आएको भनेर समुहमा नमिसाएका रहेछन् ।’

प्रवेशिका परीक्षापछि काठमाडौं बाहिरबाट आएका अरूजस्तै सापकोटा जागिरको लागि दौडधुपमा लागे ।

गाउँठाउँकै सुशीला थापा राष्ट्रिय पञ्चायत सदस्य थिइन् । सापकोटा उनको चाकडी गर्न गए । थापाले परिवार नियोजन संघमा जागिर मिलाइदिइन् । त्यहीँ भेटे सापकोटाले कवि वाशु शशीलाई ।

‘शशी दाइ हिन्दी र अंग्रेजी पनि उत्तिकै जान्ने,’ उनी सुनाउँछन्, ‘उहाँलाई भेटेपछि साहित्यकारलाई सृजनामात्र होइन, आफ्नो विषयमा विज्ञता पनि चाहिने रहेछ भन्ने बोध भयो ।’

उनले अलि गतिलो जागिरका लागि सुशीला थापाको चाकडी टुटाएका थिएनन् । थापाले सिंहदरबारस्थित ‘पुतली–बगैँचा’मा हिडम्ब उपाध्यायकहाँ लिएर गइन् । उपाध्याय ‘टेली–कम्युनिकेसन विभाग’ प्रमुख रहेछन् । रापस थापाको एकै वचनले काम गर्यो । सापकोटाले मुखिया पाए ।

कार्यालय थियो सुन्धारा, सदर जेलखानाअघि । तर, चाकडीबाट पाएको त्यो जागिरले सापकोटाको मन पोल्न थाल्यो । उनलाई आफ्नै बलबुतामा केही गर्न हुटहुटी हुन थाल्यो ।

अर्को वर्ष गाउँले कवि हरि अधिकारीसँगै लोकसेवा भिडेर खरिदारमा नाम निकाले । उनी भन्छन्, ‘म कर कार्यालय काठमाडौंमा परेँ, हरि हधिकारी तनहुँ जिल्ला प्रशासनमा गयो ।’

सापकोटाले जीवनमा एक पटक व्यापार पनि गरे । ‘हेटौंडाबाट ल्याएको माछा ‘रोपवे’ले टेकुमा झाथ्र्यो’, उनी सुनाउँछन्, ‘साँझमा वसन्तपुर लगेर बेच्न बस्थें ।’

महिना व्यापार गर्दा उनले कथाका लागि थुप्रै पात्र भेटे । लबेदासुरूवाल र कोटमा ठाँटिएर आउने मान्छे दुई किलो माछा किन्थे अनि ‘पैसा भोलि है बाबु’ भन्दै हिँड्थे ।

व्यापारपछि २०३४ सालमा त्रिभुवन विश्वविद्यालयमा अधिकृतमा नाम निकाले ।  ३४ वर्ष त्रिविमा लेखा नियन्त्रक हुँदै अवकाश लिए ।

३२ सालको बुटपालिस आन्दोलनमा होमिएको मान्छे, जागिर चल्दाचल्दै ३६ सालको सडक कविता आन्दोलनमा हिँडे । सडक कवितामा हरेक दिन कुनैै नयाँ ठाउँको चोकमा कविहरू भेला भएर निरकुंशताविरुद्ध कविता सुनाउने कार्यक्रम हुन्थ्यो । युवा जोशका सापकोटा निकै आक्रामक भएर त्यहाँ कविता पढेथे । कुनै एक मण्डले मित्रले त्रिविमा त्यो कुरा लगाइदिएछन् ।

उनलाई केरकार गर्न बोलाइयो । उनी भन्छन्, ‘उपकुलपति रामचन्द्र बहादुर सिंहले साहित्यमा लागे पनि कार्यालयको काममा ध्यान दिनुस्, केही हुन्न भनेर पठाए ।’

आफ्नो समयको हरेक साहित्यिक आन्दोलनमा लागेका सापकोटा बुटपालिस आन्दोलनलाई आफ्नो जीवनको ‘टर्निङ प्वाइन्ट’ मान्छन् । ‘त्यसपछि नै हो म साहित्यमा झनै प्रतिबद्ध भएर लागेको’, उनी भन्छन्

****

हातले लेख्ने जमानाका उनी आजसम्म हातले नै लेख्छन् । कालो मसीवाला कलमले लेख्ने उनी अहिले जेलपेन चलाउँछन् ।

जागिरले राजधानीबाहिर धकेलिएको बेला अभिन्न मित्र हरि अधिकारीले सुन्दर अक्षरमा लेखेका चिठीहरू सापकोटाले सुरक्षित राखेका छन् । कुनै बेला यी दुई कथाप्रधान मिलेर ‘प्रतीक’ पत्रिका पनि निकालेका थिए ।

संयुक्त उपन्यास लेखनको अनुभव भएका थोरै साहित्यकारमध्ये पर्छन्, सापकोटा । उनले ध्रुवचन्द्र गौतम र बेञ्जु शर्मासँग मिलेर ‘देहमुक्त’ लेखे । अरू दश साहित्यकारसँग ‘आकाश विभाजित छ’ लेखे । त्यस्तै, अर्को दश जनासँग ‘अवतार विघटन’को सहलेखन गरे ।

‘ज्यागा’ उपन्यास भने ध्रुव सापकोटा र ध्रुवचन्द्र गैतमको सहलेखन हो । यी दुई ध्रुव देशभित्र र बाहिरको घुमघाम र जमघटमा पनि प्रायः सँगै देखिन्छन् ।

साहित्यिक सर्कलमा सापकोटालाई सानो कोटरीमा रमाउने प्राणी भनिन्छ । यसबारे उनको कन्फेसन छ, ‘मेरो स्वभावको कारणले थोरै साथीसँग नजिक भएँ । तपाईं त कति असल भन्दै धेरै मानिससँग निकट रहन सक्ने स्वभाव छैन ममा ।’

त्यसो त, ‘माध्यम’ नामक समूहको संस्थापक हुन् सापकोटा । यो संस्थाले हरेक हप्ता कुनै एक साहित्यकारको घरमा चिया खान गएर अन्तरर्क्रिया गथ्र्यो । त्यो बेला तारानाथ शर्मा, वासुदेव त्रिपाठी, दौलतविक्रम विष्ट र तुलसी दिवससँग नजिक भए उनी ।

अग्रजहरूको कुरा गर्दा उनको स्मृतिमा कवि गोपालप्रसाद रिमाल आइहाल्छन् । भेट्न घरैमा जाँदा ती क्रान्तिकारी कविको अवस्था देखेर आफूलाई भयंकर खिन्नता भएको सम्झन्छन् सापकोटा ।

‘अहिले साहित्यकारलाई हेर्ने धारणा मध्यमार्गी छ’, उनी भन्छन्, ‘पहिला त अर्धपागल नै भन्थे । देवकोटा राँची गएपछि त्यसो भन्न थालिएको हुनसक्छ ।’

२०३० देखि ५० सालसम्म सापकोटा अचम्मलाग्दो गरी सक्रिय भए । त्यो कालखण्डमा एकदिन पनि पूरै घरमा नबसेको उनी सम्झन्छन् । ‘हरेक दिन कुनै न कुनै साहित्यिक गतिविधिमा लागें’, उनी भन्छन्, ‘कार्यक्रम नभएको दिन अग्रज कवि–लेखकलाई भेट्न गइन्थ्यो ।’

अचेल साहित्यकारले आत्मकथा लेख्ने चलन चलेको छ, जसलाई सापकोटा वाहियात मान्छन् । ‘ठूलो मान्छेको मात्र होइन सामान्य किसानको पनि आत्मकथा त हुन्छ’, उनी भन्छन्, ‘तर, अरूलाई गजबै प्रेरक हुने कुराहरू छैनन् भने आत्मकथा लेख्नु वाहियात हो । मेरो जीवनमा त त्यस्तो केही छैन !’

आजकाल निकै भयो पत्रपत्रिकाका समाचारहरूले यी सरल कथाकारलाई घरिघरि झोँक चलाउन थालेको छ । ‘समृद्व नेपाल’ बनाउन तम्सेका नेताको ताल देखेर घरिघरि उनको पारा तात्न थालेको छ

उनी स्वयम् भने आफुलाई प्रेरणा दिने कथाकारमा विपी कोइराला, कविमा मोहन कोइराला र गद्यमा शंकर लामिछानेलाई सधैं सम्झिरहेका हुन्छन् ।

सापकोटाको उपन्यास ‘अवमूल्यन’ ले २०६६ को पद्मश्री र कथासंग्रह ‘अन्धकार’ ले ०६१ सालमा ‘साझा पुरस्कार’ पायो । उनले ०७४ सालमा प्रज्ञा पुरस्कार, मैनाली कथा पुरस्कार र रूद्रराज पाण्डे पुरस्कार पनि पाए ।

‘कम लेखेर पनि राम्रो लेख्न सके पुग्दोरहेछ’, लेखनीबारे सापकोटा भन्छन्, ‘मैले नियमित लेखिरहेकाले धेरै देखिएको हो । सय कथाबाट दुईवटा कथा घच्चीको भयो भने त्यो लेखक सफल हो ।’

पछिल्लो समयको कथा विद्याबारे उनी भन्छन्, ‘अहिले ‘फेन्टासी’ले महत्त्व पाएको देखिन्छ । गहिराइमा गएर लेख्नेभन्दा ‘क्यारिस्मेटिक’ कुरा लेख्ने चलन बढेको छ । तर, जस्तो बिक्छ, त्यस्तै लेखेर नेपाली साहित्यको स्तर बढ्दैन ।’

साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा ध्रुव सापकोटालाई तीसको दशकका उम्दा कथाकार मान्छन् । उनी भन्छन्, ‘स्वप्रचारमा ध्यान नदिने, सृजनाकर्ममा लागिरहने कथाशिल्पी होे ध्रुव सापकोटा ।’

साहित्यकार विष्णुविभु घिमिरेको नजरमा भने सामाजिक मुद्दाहरूमा आफ्नै शैलीमा कथा लेख्ने प्रतिबद्ध कथाकार हुन्, सापकोटा ।

****

समय बितेकोमा होइन, ‘समय छँदै केही गर्न नसकेकोमा’ सोचमग्न छन् अहिले कथाकार सापकोटा । ‘केही गर्न नसक्दा पनि’ उनको कलम बेगवान छ । बन्दाबन्दीको समयमा उनको पठन र लेखन सघन रह्यो ।

कथाकार सापकोटा श्रीमति र छोरासँग नयाँ बानेश्वरस्थित घरमा बस्छन् । नयाँ बानेश्वर क्षेत्रमा हरियो फाँट छँदै उनले बनाएको घर अहिले पनि बलियो छ । पुरानो छ तर बगैँचा र रंगरोगनले घर सुन्दर देखिन्छ ।

किसानी गरेर आफूलाई काठमाडौंमा पढाउने सय वर्षका पिता तोयानाथ सापकोटालाई नजिकै रहेको भाइको घरमा भेट्न गइरहन्छन् । पिता तोयानाथ र आमा यज्ञकुमारीको नौ सन्तानमध्ये जेष्ठ पुत्र हुन् सापकोटा । आमा भने तीन दशकअघि नै बितिसकेको सुनाउँछन् उनी ।

दुब्लोपातलो ज्यानका सापकोटामा अल्छीपन पटक्कै छैन । सरल जीवनको लागि संघर्ष गर्न सधैं तप्पर हुन्छन् । बिहान छिमेकी कवि शैलेन्द्र साकारसँग मर्निङ–वाकमा निस्कन्छन् । दिउँसो घरमै पत्रपत्रिका र साहित्यका किताबहरू पढ्ने, चिन्तन–मनन गर्ने गर्छन् । कोही घरमै भेट्न आउँदा साहित्य र राजनीतिकै कुरा चल्छ । त्यहीँबाट कथाको प्लटका लागि चाहिने खुद्रा सामग्री तयार पार्छन् ।

आजकाल निकै भयो पत्रपत्रिकाका समाचारहरूले यी सरल कथाकारलाई घरिघरि झोँक चलाउन थालेको छ । ‘समृद्व नेपाल’ बनाउन तम्सेका नेताको ताल देखेर घरिघरि उनको पारा तात्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?