Comments Add Comment

भेन्टिलेटरको खोजीमा अस्पताल डुलाउँदा डुलाउँदै वडाध्यक्षको मृत्यु

६ भदौ, विराटनगर । सुनसरीको कोशी गाउँपालिका–२ का वडाअध्यक्ष हिरालाल यादवको अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु भएको छ ।

शनिबार हृदयघात भएका ४५ वर्षका यादवलाई भेन्टिलेटरको खोजीमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान हुँदै बीएण्डसी अस्पताल बिर्तामोडसम्म पुर्‍याइएको थियो । तर समयमा भेन्टिलेटर नपाइएका कारण मृत्यु भएको कोशी गाउँपालिका अध्यक्ष एयुब अन्सारीले जानकारी दिए ।

‘धरानमा जाँच गराउँदा भेन्टिलेटर चाहिन्छ भन्यो’ अन्सारीले भने ‘धरानमा भेन्टिलेटर खाली थिएन, विराटनगरका अस्पतालले पनि छैन भनेपछि विर्तामोड पुर्‍याइयो । तर उपचार हुन पाएन ।’

धरानबाट एम्बुलेन्समा बिर्तामोड पुर्‍याइएका यादवको मुटुको भल्वमा ब्लक भएको देखिएपछि बीएण्डसीले सुविधासम्पन्न अस्पताल लैजान भन्यो । बीएण्डसीमा उपचार नहुने भएपछि फर्काउदै गर्दा बाटोमै मृत्यु भएको हो ।

‘बीएण्डसीमा उपचार हुन नपाएपछि धरान र विराटनगरको नोबेलमा कुरा हुँदै थियो’ अध्यक्ष अन्सारीले भने ‘बाटोमै मृत्यु भएपछि अस्पताल लगिएन ।’

कोरोना महामारीका कारण धरान र विराटनगरका अस्पतालले भेन्टिलेटर खाली नभएको बताएपछि यादवलाई डुलाउँदा डुलाउँदै मृत्यु भएको अन्सारीले बताए ।

उनका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई धरान लगिएको थियो । धरानसम्म पुर्‍याउँदा उनको अवस्था सामान्य जस्तै थियो ।

धरानमा सामान्य जाँचपछि चिकित्सकले भेन्टिलेटर भएको अस्पतालमा लैजान आग्रह गरे । धरानमा भेन्टिलेटर नभएपछि अध्यक्ष अन्सारीले विराटनगरका अस्पतालहरुमा सम्पर्क गरे । तर भेन्टिलेटर खाली नरहेको जानकारी पाए । ‘यहाँ भेन्टिलेटर नपाएपछि विर्तामोडमा वडा अध्यक्षको ज्वाईले भेन्टिलेटर खोज्नुभयो’ उनले भने ‘विर्तामोड पुर्‍याइयो । तर उपचार हुन पाएन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment