Comments Add Comment

माडीले सक्रिय संक्रमितको संख्या शून्यमा झार्न कसरी सक्यो ?

७ भदौ, चितवन । चितवनका सात स्थानीय तहमध्ये ६ वटामा कोरोनाको संक्रमण फैलिँदो छ । कोरोना संक्रमित भरतपुर महानगरपालिकालाई सबैभन्दा धेरै देखिएका छन् । भौगोलिक र जनसंख्याका हिसावले ठूलो महानगरपालिकामा अन्यत्रको संक्रमित भेटिनु स्वभाविक भए पनि यसको दर भने निकै उच्च छ । सावधानी निकै कम छ । महानगरमा अहिलेसम्म १८३ जना संक्रमित बनेका छन् ।

जिल्लाको एक मात्रै गाउँपालिका इच्छाकामनामा एक जना वृद्धासहित दुई जना संक्रमित छन् भने, कालिका नगरपालिकामा ५ जना राप्तीमा ६८ जना, खैरहनीमा १२ जना र रत्ननगरमा १२ जना संक्रमित छन् ।

तर, जिल्लाकै अर्को एक नगरपालिका माडीमा भने सक्रिय संक्रमितको संख्या यतिबेला शून्य छ । अहिले माडीले अपनाएको संक्रमित शून्य पार्ने मोडलको सबैले प्रशंसा गर्न थालेका छन् । माडीमा गएको असार ३१ गते क्वारेन्टिनमा बसेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि अहिलेसम्म थप एक जनालाई पनि संक्रमण देखिएको छैन । माडीमा कुल संक्रमितको संख्या ४१ रहे पनि सक्रिय संक्रमित कोही पनि छैन ।

माडी नगरपालिकाले नगर क्षेत्रमा १२ वटा क्वारेन्टिन बनाएर विदेशबाट आएका करिब तीन सय जनालाई राखेर परीक्षण गरी व्यवस्थापन गरिसकेको छ । अहिले एक मात्रै क्वारेन्टिन र एक मात्रै आइसोलेसन सेन्टर बाँकी छ । अहिले होम क्वारेन्टिनमा चार जना छन् । तीमध्ये दुई जनाको परीक्षणका लागि स्वाब दिइएको छ भने बाँकी दुईको दिन बाँकी छ ।

नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख शिव सुवेदीले माडीमा समुदायमा कोरोना फैलिन नदिन सबै सचेचनाका उपाय अपनाएको बताउँछन् । उनले भने, ‘जिल्लाका अरु स्थानीय तहमा समुदायमा नै कोरोना फैलिएको देखिएको छ तर माडीमा अहिलेसम्म एउटा पनि त्यस्तो केस भेटिएको छैन, ४१ बाट माथि बढ्न दिएका छैनौं ।’

समुदायमा परीक्षण नै नगरेर केस नभेटिएको भने होइन । नगरपालिकाले अहिलेसम्म समुदायमा शंकास्पद १५० भन्दा बढीको नमूना परीक्षण गरेको छ । ती सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

विदेशबाट आउने नगरवासीलाई सीमा क्षेत्रमा नै लिन जाने जिल्लाको स्थानीय तहमध्ये माडी नै पहिलो हो । यसको सिको गर्दै भरतपुर महानगरपालिकाका जनप्रतिनिधि पनि सीमा क्षेत्रमा गएका थिए ।

नगरवासीलाई लिन सीमा क्षेत्रमा पुगेका माडीका जनप्रतिनिधिहरु

माडीले अर्को पनि गतिलो काम गरेको छ, त्यो भनेको लक्षण नभएका कोरोना संक्रमितलाई आफैंले आइसोलेसन बनाएर राख्ने ।

नगरपालिकाले संक्रमित राख्न माडी क्याम्पसमा व्यवस्थित आइसोलेसन बनाएको छ । अहिले यसलाई माडी–५ छरछरेमा सार्ने तयारी छ । यहाँको सामुदायिक भवनमा २० शय्याको सुविधासम्पन्न आइसोलेन सेन्टर बनाउने काम भैरहेको छ । अहिले मर्ज भएर खाली भएको कालिका विद्यालय राधापुरमा एउटा मात्रै क्वारेन्टिन छ । अरू सबै हटाइएका छन् ।माडी नगरप्रमुख ठाकुर ढकालले क्वारेन्टिन तथा आइसोलेसन सेन्टरलाई निरन्तरता दिने योजनामा नै नगरपालिका रहेको बताउँछन् । नगर प्रमुख ढकालले माडीमा निर्माण क्षेत्रमा काम गर्ने ठेकेदारलाई अनिवार्य क्वारेन्टिन बनाएर काममा लगाउन भनिएको छ । उनीहरुलाई समुदायसँग घुलमिल हुन नदिने शर्तमा मात्रै काममा लगाइएको छ ।

माडीले सुरुमा संक्रमित ६ जनालाई उपचारका लागि भरतपुर कोरोना अस्पतालमा पठायो । तर, त्यहाँ भित्र राम्रो व्यवस्थापन नभएको र शौचालयको पानी वार्डसम्म आएको समाचार सार्वजनिक भएपछि कुनै पनि लक्षण नभएका संक्रमितलाई अस्पताल नपठाएको नगरपालिकाले जनाएको छ । ‘जटिल अवस्था देखिन थाले मात्रै अस्पताल पठाइयो अन्यथा कुनै पनि संक्रमितलाई पठाइएन,’ स्वास्थ्य प्रमुख सुवेदीले भने ।

माडीको एक आइसोलेसन सेन्टर

माडीमा अहिले चार चिकित्सकसहित झण्डै ८० जना स्वास्थ्यकर्मीको टिम एक दिन पनि बिदा नलिई खटिइरहेको स्वास्थ्य प्रमुख सुवेदीले बताए ।

माडीले कसरी संक्रमितको संख्या शून्यमा झा¥यो भन्ने प्रश्नमा नगर स्वास्थ्य प्रमुख सुवेदीले बुँदागत रुपमा यसो भने–

  • माडीले सुरूमा नै प्रवेशका दुई नाका बगई र कसरामा हेल्थ डेस्क र सूचना केन्द्र राख्यो, त्यसले बाहिरबाट आउनेहरुको तथ्यांक लिन सहज भयो ।
  • विदेशबाट आउने नगरवासीसँग सम्पर्क गरी आफैं गाडी लगेर ल्याउने, विदेशबाट आउने सबैलाई क्वारेन्टिनमा अनिवार्य राख्ने ।
  • अन्य बेलामा निकुञ्जका कारणले दुःख पाइयो भन्ने माडीवासीलाई कोरोना संक्रमण घटाउन निकुञ्ज ठूलो बरदान सावित भयो । निकुञ्ज पार नगरी माडी जान असम्भव थियो । निकुञ्जले कडाइ गरिदियो ।
  • टोल सुधार समितिहरुलाई संक्रिय बनाउने, सूचनाहरू लिने दिने, माइकिङ गरेर सचेतना फैलाउने, स्थानीय एफएम रेडियोबाट कोरोना भाइरस सम्बन्धी सूचनाहरु निरन्तर प्रसारण गराउने ।
  • माडीमा नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यका कर्मचारी, सुरक्षाकर्मीहरुको टिम कम्बिनेसन निकै राम्रो बन्यो, एकअर्कोमा सहयोगी र उत्साहित भएर जोखिम घटाउन लागे ।
  • संक्रमण पुष्टि भएका तर लक्षण नभएकालाई तत्कालै आइसोलेसन सेन्टरमा राख्ने, उनीहरुमा सकारात्मक उर्जा भर्ने ।
  • माडी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरु भरतपुर आउ–जाउ गर्नुपर्ने अवस्थालाई रोक्ने ।

चुनौती : माडी–भरतपुर कनेक्सन

माडीको ६० हजार जनसंख्यामध्ये अहिले करिब २० हजार मात्रै ‘रनिङ पलुलेसन’ छ । धेरैजसो सदरमुकाम भरतपुरमा बस्ने गर्दछन् । माडी भरतपुर आउजाउ निकै चल्छ । माडीको धानचामल ल्याएर भरतपुरमा खाने धेरै छन् ।

भरतपुरमा समुदायस्तरमा नै कोरोना संक्रमण फैलिएकाले माडीलाई कसरी जोगाउन भन्ने चिन्ताले अहिले माडी नगरपालिकाका अधिकारीलाई चिन्तित बनाएको छ ।

लकडाउन खुलेको बेलामा माडी पुगेर फर्किएकी एक जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित भनिएका व्यक्ति आएको घरका सदस्यहरूलाई पनि ट्रेसिङ गरी परीक्षणका लागि भरतपुर पठाइएको छ ।

निषेधाज्ञा भएकाले तत्कालका लागि आउजाउ बन्द भए पनि माडी र भरतपुरको कनेक्सनले माडीमा पनि समुदायमा कोरोना फैलिन सक्ने हुँदा नगरपालिकाले सावधानी अपनाउन भनेको छ । ‘हामीले सकभर त चनाखो भएर हेरिरहेका छौं, विनाकाम नहिँड्न भनेका छौं, सामान्य र साधारण भेटघाट त पछि गर्दा पनि हुन्छ भनेर सम्झाउने काम गरिरहेका छौं,’ स्वास्थ्य प्रमुख सुवेदीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment