Comments Add Comment

ग्रेट हिमालयन ट्रेलमा एक वर्षमा थपियो ६८ किलोमिटर पदमार्ग

८ भदौ , काठमाडौं । पछिल्लो एक वर्षमा ग्रेट हिमालयन ट्रेल अन्तर्गत ८३ किलोमिटर पदमार्ग निर्माण पुरा भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रगति प्रतिवेदन अनुसार एक वर्षमा विभिन्न चार वटा खण्डमा ग्रेट हिमालय ट्रेलका लागि काम भएको थियो ।

यसअन्तर्गत दोलखाको जिरीदेखि सोलुखुम्बुको चौरीखर्क लुक्लासम्म सगरमाथा आधार शिविर पुग्ने वैकल्पिक पदमार्ग अन्तर्गत १० किलोमिटर लामो पदयात्रा मार्ग निर्माण भएको छ । ग्रेट हिमालयन ट्रेल अन्तर्गत नै रसुवाको लाङटाङमा २० किलोमिटर पदमार्ग बनेको छ ।

मन्त्रालयका अनुसार सिन्धुपाल्चोकको हेलम्बु ठाडेपाटी हुँदै लाङटाङ जाने पदयात्रा मार्गमा २० किलोमिटर लामो संरचना निर्माण गरिएको हो । उता च्छो रोल्पा जाने पदयात्रामा समेत १५ किलोमिटर पदयात्रा मार्ग निर्माण भएको छ ।

खारे सोतली हुँदै च्छो रोल्पासम्म जाने पदमार्ग निर्माण भएको हो । ग्रेट हिमालयन ट्रेलकै कन्चनजंघा क्षेत्र र मकालु क्षेत्रमा समेत पदयात्रा निर्माण भएको मन्त्रालयले जनाएको छ । कंचनजंघामा ७, मकालुमा ८ र यार्सा ट्रेलमा ८ किलोमिटर पदयात्रा निर्माण सकिएको छ ।

के हो ग्रेट हिमालयन ट्रेल ?

करीव ४ हजार ५ सय किलोमिटर लामो ग्रेट हिमालयन ट्रेलमध्ये नेपालमा मात्र करीव १७ सय किलोमिटर भाग पर्छ । यसले नेपालको पूर्वमा ताप्लेजुङको कंचनजंघादेखि पश्चिममा दार्चुलासम्मको भूभाग ओगटेको छ । ग्रेट हिमालयन पदयात्राको पदमार्गमा बन्ने संरचना पूर्वदेखि पश्चिमसम्म एउटै गुणस्तरको बनाउने नीति सरकारको छ ।

सोही अनुसार यो वृहत्त पदयात्रा मार्गका लागि बजेट राख्दै आएको छ । नेपालभित्र मुख्य १० क्षेत्रहरुलाई समेटेर ग्रेट हिमालयन ट्रेलको अवधारणा कोरिएको हो । यसमा कञ्चनजंघा, मकालु वरुण, एभरेष्ट रोल्वालिङ, हेलम्बु लाङटाङ, गणेश हिमाल मनास्लु, अन्नपूर्ण मुस्ताङ, डोल्पा, रारा र जुम्ला, हुम्ला र सुदुरपश्चिम गरी १० भागमा विभाजन गरी पूर्वाधार निर्माण तथा प्रवर्द्धनको काम भइरहेको छ ।

गत वर्षको बजेटमा सरकारले सुदूरपश्चिमको दार्चुलादेखि पूर्वको ताप्लेजुङ जोड्ने हिमालयन हरित पदमार्ग रेखांकन गरी पूर्वाधार निर्माण शुरु गर्ने कार्यक्रमलाई समेटेको थियो ।

एक प्रदेश एक गन्तब्यमा काम शुरु

सरकारले गत वर्ष एक प्रदेश एक गन्तब्य कार्यक्रम अन्तर्गत सात गन्तब्य छनोट गरी पूर्वाधार निर्माण थालेको थियो । त्यसमा विस्तृत परियोजना प्रतिवेदनका आधारमा काम अगडाी बढेको मन्त्रालयले जनाएको छ ।

एक प्रदेश एक गन्तब्य अनुसार इलामको सन्दकपुर, धनुषाको धनुषाधाम, मकवानपुरको इन्द्रसरोवर, कास्कीको पन्चासे छनोट भएका छन् । यसैगरी कपिलवस्तुको निगलिहवा, मुगुको रारा र कैलालीको भादागाउँ प्रदेशस्तरीय पर्यटकीय गन्तब्य बनाउने गरी छनोट भएका थिए । यी गन्तब्यमा बजेट भने केन्द्र सरकारले नै राखेको छ । यी गन्तब्यको विकासका लागि सरकारले गत वर्ष नै गुरुयोजना बनाएर काम थालेको थियो ।

यसबाहेक अघिल्लो आवमा कंचनपुरमा रानाथारु संग्रहालय निर्माणको ९० प्रतिशतक काम सम्पन्न भएको मन्त्रालयले जनाएको छ । यो वर्ष चितवन, लुक्ला र जनकपुरमा सूचना केन्द्र भवन निर्माण गरिएको छ । मुक्तिनाथको कागवेनीमा श्राद्ध स्थल र मुक्तिनाथमै आनी गृहको निर्माणको काम समेत शुरु भएको मन्त्रालयको विवरणमा उल्लेख छ ।

पूर्वाधार निर्माणमा पोखरा राष्ट्रबैंकको चोकमा पर्यटकीय बस पार्क निर्माणको काम ९० प्रतिशत पुरा भएको मन्त्रालयले उल्लेख गरेको छ । चितवनको दासढुंगामा पार्क तथा भ्यूटावर, घनौसा स्यांग्जामा समेत भ्यूटावरसहितका पार्क बनाइएको मन्त्रालयले जनाएको छ । सिरहाको वावा तालको सौन्दर्यीकरण तथा भ्यूटावर निर्माण पनि यो आवको उपलब्धीका रुपमा मन्त्रालयले समेटेको छ ।

पूर्वाधारमा ७१ करोड बजेट 

पर्यटन मन्त्रालयले आव २०७६/७७ मा पूर्वाधारतर्फ ७० करोड ९२ लाख रुपैयाँ विनियोजन गरेको थियो । त्यसमध्ये ५२ करोड ६० लाख रुपैयाँ खर्च भएको छ । पूर्वाधार निर्माणमा मन्त्रालयको वित्तीय प्रतिशत ७४.१० प्रतिशत देखिएको छ । भौतिक प्रगति प्रतिशत ८२.७३ रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment