Comments Add Comment

किलोको १२ रुपैयाँमा नबिकेको गोलभेडाको भाउ कसरी पुग्यो १०० ?

कोरोना र लकडाउनले आपूर्ति चेनमै प्रभाव

८ भदौ, काठमाडौं । पाँचखाल, काभ्रेका कृषक गोविन्द रम्तेलले बारीमा फलाएको गोलभेडाको मूल्यले मूल्य पाएन । अघिल्लो वर्ष जेठमा प्रतिकिलो ७२ रुपैयाँमा बेचेको गोलभेडा यो वर्ष लकडाउन कारण १२ रुपैयाँमा बिक्री गर्न नसकेको उनको दुखेसो थियो ।

यसको अघिल्लो साता कञ्चनपुरका किसान भरतबहादुर चौधरीले त प्रतिकिलो एक रुपैयाँ किलोमा लैजानभन्दा पनि गोलभेडा बिक्री नभएका गुनासो गरेका थिए । त्यही कारण किसानले फलाएको हजारौं किलो गोलभेडा बारीमै कुरियो ।

तर त्यसको तीन महिना नबित्दै बजारमा गोलभेडाको भाउ थोकबजारमा प्रतिकिलो ७० रुपैयाँ हाराहारी पुग्यो ।

कालीमाटी तरकारी बजारमा भदौ ८ गते ठूलो गोलभेडाको प्रतिकिलो मूल्य ६८, सानो गोलभेडा ५५ र टनेलको सानो गोलभेडा ६२ रुपैयाँमा कारोबार भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । तर खुद्रा उपभोक्ता मूल्य त गोलभेडाको भाउ प्रतिकिलो १०० रुपैयाँ हाराहारी पुगेको छ ।

मागअनुसार तरकारी छैन

बजारको मागअनुसार उत्पादन नभएकाले तरकारीको मूल्य आकासिएको व्यापारीहरुको दाबी छ ।

कालीमाटीमा आउने तरकारीको मूख्य स्रोतमा कम उत्पादन भएको र भएको तरकारीमा खुला बजारमा खोसाखोस भएकाले मूल्य बढेको फलफूल तथा तरकारी थोक बजार व्यवसायी संस्थाले जनाएको छ ।

‘काठमाडौंमा तरकारी भित्रिने दोलखा, पाँचखाल, धादिङ, चितवन, मकवानपुर र नुवाकोटमा नै उत्पादन कम भएको छ,’ संस्थाका अध्यक्ष गीता अचार्यले भने । दैनिक दुई गाडी तरकारी झर्ने आफ्नो पसलमा मुस्किलले एक गाडी आएको उनले सुनाए ।

बल्खु तरकारी तथा फलफूल बजारका व्यवस्थापक मोहन बस्नेतले पनि उत्पादन घट्दाको असर बजारमा देखिएको बताए । चाड पर्व र लकडाउनका कारण कम उत्पादन हुँदा तरकारी खोसाखोस हुने अवस्था आएको उनले बताए ।

लकडाउन र कोरोना महामारीका कारण कृषक आत्तिनु र समयमै मल बिउ नपाउनुको असर बजारमा देखिएको उनको दाबी छ । ‘रोपेको ४५ देखि ७० दिनमा तरकारी बजारमा आउने समय हुन्छ’ बस्नेतले भने, ‘तरकारी रोप्ने बेला कोरोनाको डरले विगतको अनुपातमा खेती नै भएन ।’

बजारमा आउने तरकारी घट्यो

सामान्य अवस्थामा कालीमाटी तरकारी बजारमा दैनिक ७÷८ लाख किलो तरकारी भित्रिने गरेको थियो । यो विस्तारै घट्दै गएको बजार विकास समितिले जनाएको छ ।

महिना गत वर्ष भित्रिएको तरकारी यसवर्ष भित्रिएको तरकारी
भदौ ५ ५ लाख ५६ हजार किलो ३ लाख ६८ हजार किलो
भदौ ६ ८ लाख ९४ हजार किलो ४ लाख २१ हजार किलो
भदौ ७ ७ लाख २२ हजार किलो ३ लाख २४ हजार किलो
भदौ ८ ८ मा ६ लाख ५६ हजार किलो ४० हजार किलो

गतवर्ष ७ भदौमा ७ लाख २२ हजार किलो तरकारी भित्रिएको थियो भने यसपटक ३ लाख २४ हजार किलो मात्र आएको छ । गतवर्ष भदौ ८ मा ६ लाख ५६ हजार किलो तरकारी भित्रिएकोमा यसपटक ४० हजार किलो मात्रै आएको छ ।

बजारमा तरकारी कम आउनुको कारण निषेधाज्ञा मात्रै नपाई उत्पादन नै घटेको हुनसक्ने बजार विकास समितिका उपनिर्देशक एवं सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन् ।

त्यसलाई पाँचखालका किसान गोविन्द रम्तेलले पुष्टि गरे । ‘ऋण गरेर लगाएको गोलभेडा १२ रुपैयाँमा पनि नविकेपछि थप तरकारी लगाएनौं’ उनी भन्छन्, ‘लकडाउन कति लम्बिने हो भन्ने अन्योल भएपछि तरकारी रोप्ने खेतमा धान रोप्यौं ।’

बजारमा मूल्य उतार चढाव

असारको तुलनामा कालीमाटी फलफूल तथा तरकारी बजारमा साउन १४ गतेसम्म ३६ प्रकारका तरकारीको मूल्य बढेको थियो । यो अवधिमा आलुको मूल्य थोकमै ७० देखि १०९ प्रतिशतसम्म मूल्य बढेको थियो । यस्तै हरियो धनियाँको मूल्य सबै भन्दा धेरै ६८४ प्रतिशतसम्मले बढेको थियो । अकबरे खुर्सानी, भारतीय प्याज, गाजर, बन्दा, काउली, मुला लगायतका तरकारीको मूल्य निकै बढ्यो ।

साउन अन्तिम सातासम्म आइपुग्दा तरकारीको भाउ घट्यो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार हरियो तरकारीको भाउ दुई सातामा ७५ प्रतिशतसम्मले सस्तिएको थियो ।

साउन १८ गतेको तुलनामा घिरौलाको प्रतिकिलो मूल्य ७५ प्रतिशत सस्तो भएको थियो भने प्रतिकिलो ३६० रुपैयाँ पुगेको हरियो धनियाँको भाउ ७३ प्रतिशत सस्तिएर थोकमा ९५ रुपैयाँमा आइपुगेको थियो । यस अवधिमा तिते करेला, गाजर, तने बोडी, टनेल तथा सानो गोलभेडाको मूल्यमा पनि उच्च गिरावट आएको थियो ।

निषेधाज्ञामा सामान्य मूल्यबृद्धि

निषेधाज्ञा सुरु भएपछि तरकारीको भाउ फेरि बढ्न थालेको छ । एक सातामा सानो र टनेल गोलभेडाको मूल्यमा निकै बढेको छ भने अरुमा सामान्य बृद्धि भएको छ ।

साउन ३२ गते २८ रुपैयाँमा पाउने सानो गोलभेडाको थोक मूल्य भदौ ८ मा ५५ रुपैयाँ पुगेको छ ।

टनेलको सानो गोलभेडा ३३ रुपैयाँबाट बढेर ६२ रुपैयाँ पुगेको छ भने भारतीय आलु ७ प्रतिशत, मुडेको आलु ८ प्रतिशत, सुकेको प्याज २५ प्रतिशत, बन्दा १० तथा काउली २२ प्रतिशत र मुलाको भाउ पाँच प्रतिशतले बढेको छ ।

निषेधाज्ञाका कारण सवारी साधन कम चल्नुका साथै तीज पर्वका कारण बजारमा तरकारी आयात कम भएकाले भाउ बढेको र सोमबारबाट पुनः घटेको व्यापारीहरु बताउँछन् ।

आपूर्ति चेनमा कोभिड असर

मकवानपुर थाहा नगरपालिकाका कृषक राजेन्द्र बिडारी लकडाउनमा मल बिउ नपाउने र बजार पनि सुनिश्चित नहुने डरका कारण खेती कम भएको बताउँछन् ।

वैशाख–जेठमा बजारमा लकडाउनले तरकारी नबिक्दा किसान हतोत्साहित भएर खेती कम गरेकाले अहिले तरकारी अभाव भएको बिडारी बताउँछन् । ‘तरकारी छोडेर मकै रोप्ने किसान यहाँ धेरै छन्’ उनले भने ।

कृषि विज्ञ डा. हरि दाहाल खेती गरेको बेलाको उत्पादनले बजार नपाएपछि कृषक पलायन हुन सक्ने बताउँछन् । ‘बजार मूल्यमा माग र उत्पादन तथा आपूर्तिको भूमिका हुने भएकाले कम उत्पादनले मूल्य उच्च हुन गएको हुन सक्छ,’ दाहालले भने ।

उनका अनुसार कोभिडको विश्वव्यापी असरका कारण भारतबाट हुने आयातमा पनि असर गरेको छ । त्यसलाई कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले पनि स्वीकार गर्छन् ।

उनका अनुसार कोभिडका कारण भारतबाट आउने तरकारीको हिस्सा घट्दै गएको छ । यसले तरकारीको बजार भाउलाई भने बढाउन भूमिका खेलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment