Comments Add Comment

चितवनका ४ नगरपालिकाले बनाए संयुक्त आइसोलेसन

९ भदौ, चितवन । जिल्लामा कोराना संक्रमितको संख्या बढ्दै गएपछि पूर्वी चितवनका चार वटा नगरपालिकाले संयुक्त रुपमा आइसोलेसन केन्द्र तयार गरेका छन् ।

आर्थिक लगायतका व्यवस्थापन संयुक्त रुपमा गर्ने गरी रत्ननगर नगरपालिका– टरौलीस्थित नेपाल कृषि सहकारी केन्द्रीय संघको तालिम तथा अनुसन्धान केन्द्रको भवनमा आइसोलेसन केन्द्र तयार गरिएको हो ।

रत्ननगर, कालिका, खैरहनी र राप्ती नगरपालिकाका लक्षण नदेखिएका संक्रमितलाई राख्न आइसोलेसन केन्द्र तयार पारेको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले जानकारी दिए ।

तालिम केन्द्रमा ६२ शय्याको आइसोलेसन सुरु गरिएको छ र यसलाई विस्तार गरेर १०० शय्यासम्म बनाउने तयारी छ ।

आइसोलेसनमा स्वास्थ्यका कर्मचारी, सुरक्षाकर्मी, एम्बुलेन्स तयारी अवस्थामा राखिएका छन् । एम्बुलेन्सका लागि खैरहनी नगरपालिकाले नगर क्षेत्रभित्र रहेका एम्बुलेन्स सञ्चालक र चालकहरुसँग छलफल गरिसकेको खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीले बताए ।

खैरहनी, राप्ती र रत्ननगरमा होम आइसोलेसनमा बसेका संक्रमितलाई तत्कालै यहाँ ल्याएर राख्ने तयारी छ ।

संक्रमित थपिँदै गएमा खैरहनीमा रहेको नेपाली सेनाको सैनिक आवासीय मावि, रत्ननगरमा रहेको गुञ्जमान अस्पताल, खैरहनीमा रहेको राधास्वामी संस्था लगायतका स्थानमा पनि आइसोलेसन बनाउन सकिने कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले जानकारी दिए ।

आइसोलेसनमा लागेको खर्च चारै नगरपपालिकाले दामासाहीले ब्यहोर्नेछन् । सरकारले लक्षण नदेखिएका बिरामीलाई अस्पतालमा नराख्ने निर्णय गरेपछि उनीहरुलाई अस्पतालमा भर्ना नगरी स्थानीय तहले व्यवस्थापन गरेका आइसोलेसनमा राखिनेछ ।

पूर्वी चितवनको रत्ननगर वकुलहर अस्पतालमा भेन्टिलेटरसहितको सघन उपचार कक्ष र प्रयोगशाला स्थापनाका लागि वागमती प्रदेशसँग माग गरिएको छ ।

उता माडी नगरपालिकाले यसअघि नै माडी क्याम्पसमा बनाएको आइसोलेन माडी ५ छरछरेमा सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment