Comments Add Comment

महामारीमा पनि कसरी आयो गत वर्षको जत्तिकै रेमिट्यान्स ?

९ भदौ, काठमाडौं । विश्व बैंकले कोभिड-१९को महामारी सुरु हानासाथै भनेको थियो, नेपाल आउने रेमिट्यान्समा यस वर्ष १४ प्रतिशतसम्म गिरावट आउन सक्छ । नेपाल राष्ट्र बैंकले पनि ५ देखि १० प्रतिशतशसम्म रेमिट्यान्स आप्रवाह घट्ने अनुमान गरेको थियो ।

तर, रेमिट्यान्स आप्रवाहमा आर्थिक वर्ष २०७६/७७मा  ०.५ प्रतिशतको मात्रै गिरावट आयो । आर्थिक वर्ष २०७५/७६ मा १६.५ प्रतिशतले बढेको रेमिट्यान्स गत आर्थिक वर्ष २०७६/७७ मा ०.५ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । जुन अपेक्षित भन्दा राम्रो अंक हो ।

राष्ट्र बैंकका अनुसार कोरोना भाइरसको असरकाबीच ८ खर्ब ७५ अर्ब ३ करोड रुपैयाँ रेमिट्यान्स नेपाल आएको छ । यो रकमलाई डलरसँग तुलना गर्दा भने ३ प्रतिशतले कम हो । यसवर्ष ८ खर्ब ७९ अर्ब २७ करोड रेमिट्यान्स भित्रिएको थियो ।

वैदेशिक रोजगारीमा जानेको संख्या पनि गत वर्ष गिरावट आउँदा पनि रेमिट्यान्स नघट्नुले प्रक्षेपण गरिएजस्तो संख्यामा विदेशमा कार्यरत नेपालीहरु प्रभावित नभएको देखिने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

राष्ट्र बैंककाअनुसार आर्थिक वर्ष २०७६/७७ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति -संस्थागत तथा व्यक्तिगत, नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २०.५ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्ष यस्तो संख्या ३२.६ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा ३४.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या ५.४ प्रतिशतले बढेको थियो ।

तर, यस्तो विषम परिस्थितिमा पनि गत वर्षकै हाराहारीमा रेमिट्यान्स आउनुले सरकारी अधिकारी उत्साहित छन् ।

प्रभावित नहुनुको कारण

राष्ट्र बैंकका प्रवक्ता गुणकरण भट्ट महामारीको बीचमा पनि रेमिट्यान्स अगमन गत वर्षकै हाराहारीमा रहनु सकतारात्मक मान्छन् । चैतमा कोभिड महामारी ब्यापक रुपमा फैलिरहँदा विदशेमा रहेका ८ लाख नेपालीले रोजगारी गुमाउने अनुमान थियो । यसले गर्दा ठूलो संख्यामा नेपालीहरु स्वदेश फर्किने र त्यसले गर्दा रेमिट्यान्स आगमन खुम्चिने प्रक्षेपण थियो ।

तर, जब नेपालका प्रमुख श्रम गन्तब्य मुलुकहरुमा कोभिड-१९को लागि लकडाउन भयो, त्यसपछि पनि सीमित आर्थिक गतिविधि चलायमान रहे । प्रक्षेपण गरिएकोजस्तो ठूलो संख्यामा नेपालीहरु कामविहीन भएनन् । सेवा क्षेत्रमा प्रभाव परेपनि अन्य क्षेत्रमा धेरै श्रमिकले काम गुमाउनुपरेन ।

चीनमा कोभिड-१९ फैलिने  त्यसले विश्व तेल बजारमा ठूलो गिरावट आउने अनुमान थियो । तर, चीनले समयमै महामारी नियन्त्रणमा लिएपछि पनि खाडीका देशले ठूलो समस्या भोग्नुपरेन । जसले गर्दा त्यहाँ कामदार कटौति पूर्वानुमान गरिएभन्दा कम हुन पुग्यो ।

कोभिड-१९ पनि पछि नेपालीका प्रमुख श्रम गन्तब्य मुलुकमा ठूलो आर्थिक प्रभाव नपरेको राष्ट्र बैंकका प्रवक्ता भट्ट बताउँछन् । त्यहाँ फेरि अर्थतन्त्र चलायमान हुन थालेकाले करिब एक लाख मात्रै श्रमिकले काम गुमाएर फर्किने जस्तो अवस्था देखिएको उनको भनाइ छ ।

‘लकडाउनपछि देशमा आयात घट्यो, आयात घटेपछि अवैध रुपमा आयातमा हुन्डीमार्फत प्रयोग हुने रकम पनि बैंकिङ च्यानलबाट नेपाल आएको हुनसक्छ,’ उनी भन्छन्,’अहिले हुन्डी प्रयोग गर्नेहरु पनि बैंकिङ च्यानलमा आउन बाध्य भएकाले पनि रेमिट्यान्समा कम प्रभाव देखिएको हुन सक्छ ।’

विदेशमा रहेका नेपालीसँग विदेशी मुद्रा लिएर हुने तस्करी पनि अहिले बन्दाबन्दीका कारण प्रभावित भएको अनुमान कतिपयको छ । सुन, लागूऔषधजस्ता अवैध तस्करीको लागि हुन्डीमार्फत उठाइने पैसा उपयोग गर्ने गरिएकको छ । तर, विश्वब्यापी रुपमा लकडाउन गरिएपछि त्यस्तो तस्करी पनि घटेको छ ।

वैशाखमा ५३ अर्बमात्रै रेमिट्यान्स आएको अवस्थामा जेठमा ९४ अर्ब रेमिट्यान्स भित्रिएको थियो । असारमा त्यो क्रम बढेर १ खर्ब १ अर्ब रुपैयाँ रेमिट्यान्स आयो ।

त्यसैगरी खाडीबाट फर्किनेहरुले घर फर्किनुअघि जम्मा गरेको पैसा पनि पठाएको हुनाले रेमिट्यान्स आप्रवाह बढेको अनुमान छ । कतिपय नेपालीहरुले घरमा संकट परेका बेला आफसँग भएको पैसा पठाएको प्रभाव पनि यसमा देखिएको हुनसक्ने राष्ट्र बैंकको अनुमान छ ।

‘अब रेमिट्यान्स कति घट्छ वा बढ्छ भन्ने अहिले अनुमान गर्न गाह्रो छ,’ प्रवक्ता भट्ट भन्छन्,’अहिलेसम्मको परिस्थिति हेर्दा अब विस्तारै खाडीमा आर्थिक गतिविधि अघि बढ्दै जान सक्ने भएकाले रेमिट्यान्समा ठूलो प्रभाव भने परिहाल्ने देखिँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment