Comments Add Comment

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु पुष्टि

९ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ९ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

मृत्यु हुनेमा काठमाडौं, महोत्तरी र बाराका दुई/दुई जना तथा पर्सा, रुपन्देही र कैलालीका एक/एक जना छन् । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७२ पुगेको छ ।

  • काठमाडौं, चाबहिलकी ७१ वर्षीया महिलाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । दमकी विरामी उनको दिर्घायु अस्पतालमा अस्पतालमा सोमबार मृत्यु भएको थियो । संक्रमण पुष्टि भने मंगलबार भएको छ ।
  • काठमाडौंका ६६ वर्षीय पुरुषको सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा मृत्यु भएको छ ।
  • महोत्तरीको मनरा सिस्वा नरगरपालिका–३ का ७५ वर्षीय बृद्धको मृत्यु भएको छ । चितवन क्यान्सर अस्पतालमा उपचारका क्रममा उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उनको जलेश्वर अस्पतालम मृत्यु भएको हो ।
  • महोत्तरीकै बलबाका ७७ वर्षीय बृद्धको प्रादेशिक अस्पताल, जनकपुरधाममा मृत्यु भएको छ । जनकी हेल्थ केयरमा उपचारका क्रममा कोरोना संक्रमण पुष्टि भएपछि उनी सोमबार साँझ त्यहाँ भर्ना भएका थिए ।
  • बाराको सुवर्ण–४ का ७२ वर्षीय पुरुषको कोरोना अस्पताल गण्डकमा मृत्यु भएको छ । भदौ ६ गते कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेका उनको स्वास्थ्यमा समस्या आएपछि सोमबार अस्पताल लगिएको थियो ।
  • बाराकै महागढीमाई–४ का ५९ वर्षीय पुरुषको पनि गण्डकमै मृत्यु भएको छ । ४ भदौमा कोरोना पुष्टि भएका उनी भोलिपल्ट अस्पताल भर्ना भएका थिए ।
  • कोरोना विशेष अस्पताल गण्डकमा उपचारका क्रममा मत्यु भएका पर्साको सुपौलका ६८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
  • रुपन्देहीका ५३ वर्षीय कोरोना संक्रमित पुरुषको भीम अस्पतालमा मृत्यु भएको छ । घरको छतबाट लडेर युनिभर्सल मेडिकल कलेजमा उपचाररत उनलाई कोरोना संक्रमण भएको चार दिन अघि मात्र पुष्टि भएको थियो ।
  • ३२ साउनमा मृत्यु भएका कैलालीको बर्दगोरिया–५ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनको स्वाब भदौ १ गते नै संकलन गरेको भएपनि मंगलबार मात्र रिपोर्ट आएको छ ।

८५५ जना संक्रमित थपिए

यसैबीच पछिल्लो २४ घण्टामा ८५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभरका प्रयोगशालामा ११ हजार ३२७ नमुना परीक्षण गर्दा २७१ महिला र ५८४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा मात्र २३२ संक्रमित थपिएका छन् । काठमाडौंका १९९ जना, ललितपुरका १९ जना र भक्तपुरका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै संक्रमितको कुल संख्या ३३ हजार ५३३ पुगेको छ । उनीहरुमध्ये १९ हजार १९९ निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३१३ जना डिस्चार्ज भएका छन् ।

हाल देशभरमा गरी १४ हजार २५० संक्रिय संक्रमित छन् । काठमाडौं, मोरङ, पर्सा, बारा, रौतहट, सर्लाही र महोत्तरीमा संक्रिय संक्रमित ५०० भन्दा बढी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment