Comments Add Comment

बाँझो जमिनमा अर्गानिक जडिबुटी खेती

१० भदौ, गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–७ सातबिसेमा जडिवुटी खेती शुरु भएको छ ।

स्थानीय वासिन्दाको करिब ५ सय रोपनी जग्गा भाडामा लिएर मोरिङ्गा र सिटोनेला लगाइएको लार्के हिमाल जडिवुटी उद्योगले जनाएको हो । उद्योगका प्रोपराइटर दिपक पाण्डेले भने, ‘मोरिङ्गाको दश हजार विरुवा सारिसक्यौ, सिटोनेलाको एक लाख विरुवा आउदैछ ।’

उद्योगले मोरिङ्गाको विरुपा भने आफैं उत्पादन गरेको छ । ‘हामीले मोरिङ्गाको २० हजार विरुवा त्यहीँ उत्पादन गरेका छौ, सिटोनेलाको विरुवा उत्पादन गर्ने तयारी पनि भइरहेको छ,’ उनले भने । कुल डेढ करोडको योजनामा हालसम्म ३५ लाख खर्च गरिसकेको पाण्डे बताउँछन् ।

‘बाँझो जमिन बनमासा र सिरु घारीले ढाकिएको थियो, त्यसलाई फाँडेर ल्याण्ड स्केपिङ मिलायौं, अर्गानिक मलका लागि ५० वटा पाडा पाल्न मिल्ने गोठ पनि बनाउँदैछौं,’ उनले भने ।

उनका अनुसार सिटोनेला बिशेष गरी सुगन्धित तेलको रुपमा प्रयोग हुने गर्छ । उक्त तेलको बजार मूल्य प्रति लिटर तीन हजार रुपैयाँ रहेको उनले बताए । ‘मोरिङ्गा तरकारीको रुपमा पनि प्रयोग गरिन्छ, यसको पात, फल, जरा सबै काम लाग्छ,’ पाण्डेले भने ।

मोरिङ्गाको सुकेको पातको बजार मूल्य प्रति केजी सात सय रुपैयाँ र हरियो पातको तरकारी प्रति केजी दुई सय रुपैया पर्ने उनी बताउँछन् । सो क्षेत्रमा उत्पादित जडिवुटीको बजार व्यवस्थापन जापान, युरोप र अस्ट्रेलियामा गरिने पाण्डेले जानकारी दिए ।

सहज र उर्वर भूमिको आवश्यकता नपर्ने भएकाले मोरिङ्गा र सिटोनेला खेती गरिएको उनी बताउछन् । ‘विरुवा रोपेको ६ महिनादेखि एक बर्षमा उत्पादन शुरु हुन्छ, बर्षको तीन÷चार पटकसम्म उत्पादन लिन सकिने र २५ बर्षसम्म यसको आयु हुने भएकाले यो खेती शुरु गरेका हौ,’ उनले भने ।

उद्योगकी व्यवस्थापक एलिना धितालले अहिले मोरिंगा खेतीका लागि आवश्यक पूर्वाधार निर्माण र खेती विस्तारका लागि ५० जनाले काम गरिरहेको जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment