Comments Add Comment

कोरोनामा अमेरिकी अनुभव : नेपाली जनतालाई सुझाव

जन्मभूमि नेपालमा रहनुभएका समादरणीय पाठकवृन्द, सात समुन्द्रपार अमेरिकाको टेक्सासबाट यहाँहरु सबैमा सादर नमस्कार गर्न चाहन्छ ।

अमेरिका, यसै पनि सपनाको देश भन्ने गरिन्छ । अहिले म त्यही देशमा छु । यहाँ रातमा हैन, दिउँसै सपना देखिन्छ । अझ देखिने मात्र हैन, विपनामै साकार पनि बनाउन सकिन्छ । त्यसैले त भन्ने गरिएको हो– अमेरिकी सपना । यो सपना मैले मात्र हैन, हरेक वर्ष लाखौं मानिसले देख्छन् र अमेरिकालाई लक्ष्य बनाएर त्यतैतिर पाइला नाप्ने गर्छन् ।

तर, समय सधैं एकनास कहाँ हुँदोरहेछ र ! अहिले त्यही दिउँसै सपना देखिने अमेरिका आफैं राति पनि सपना देख्न नसकिने अवस्थामा पुगेको छ । कोरोना कहरले सपना चोरिदिँदा रातमा सपनाका नाममा केही त्रासदी मात्र देखिने समय आएको छ ।

केही बर्षयता मैले पनि अमेरिकालाई नै कर्मभूमि बनाएको छु । तर, नेपालमा भएका हरेक घटनालाई भने त्यहीँ भए भन्दा पनि नजिकबाट हेर्ने र बुझ्ने प्रयासमा रहिरहेको छु । आजभोलि हरेक रात सपनाले नराम्ररी ऐठन लगाउन थालेको छ । थरिथरिका सपनाका प्लटले एउटै कुरा संकेत गरिरहेका छन्– समय राम्रो छैन । अनिकालमा बिउ जोगाउनुपर्छ, हुलमुलमा जिउ जोगाउनुपर्छ भनेर होसियारी अपनाउनु नै अहिलेको मूलमन्त्र ठानेर म पनि त्यसै गरिरहेको छु ।

आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपतिको चुनाव नजिकिँदै गर्दा अमेरिकामा हरेक कुरामा राजनीति पसेको छ । हुँहाहुँदा कोरोनामा पनि राजनीति पस्दा अनाहकमा धेरै मानिसको ज्यान गएको छ । यंहाँ कतिपय मानिसहरु कोरोनालाई होक्स (बकबास) भन्छन् र यसलाई पुरै बेवास्ता गर्छन् । उनीहरू आफूलाई बहादुर देखाउन न फेस मास्क लगाउँछन्, न ६ फिट दूरी कायम गर्छन्, न स्यानिटाइजरको प्रयोग नै गर्छन् । उनीहरूलाई लाग्छ, त्यसो गर्नु भनेको कायर हुनु हो । बरू उनीहरू मर्न तयार छन्, माक्स लगाउन  तयार छैनन् ।

सूर्य थापा

हुन त केही पहिलासम्म कोरोनालाई होक्स भन्दै राष्ट्रपति ट्रम्पले नै ब्रेन वास गरिदिने गर्दथे । उनले नै त्यस्तो कुरा गरिदिँदा अमेरिकी जनजीवन थप संकटमा परेको एकथरी अमेरिकीको बुझाइ छ । उनीहरू ठान्छन्, राष्ट्रपति ट्रम्प क्रियामा–प्रतिक्रियामा आउँदा अमेरिका ठाडो चिरामा विभाजित छ । लाग्छ, यो विभाजनको रेखा मेट्न असम्भव त नहोला । तर, सजिलै सम्भव पनि देखिँदैन। यो कुन दिशातिर मोडिन्छ, त्यसका लागि नोभेम्बर ३ को म्याण्डेट निर्णायक हुन सक्छ ।

अमेरिका कोरोना कहरको वरियतामा अहिले पनि शीर्षस्थानमा छ । ६० लाख संक्रमित हुँदा ३३ लाख निको भए, एक लाख ८२ हजार मरिसके, बाँकीको उपचार जारी छ ।

आज पनि औसतमा हरेक दिन  हजारौं नयाँ संक्रमित थपिरहेका छन् भने सयौंको मृत्यु भैरहेको छ । तर, यो डरलाग्दो मृत्यु आँकडा राजनीतिको घोलमा घोलिएर अर्थहीन भएको छ ।

राष्ट्रपति ट्रम्प सोझै भनिरहेका छन्, ‘चाइनिज भाइरसलाई मुद्दा बनाएर डेमोक्रेटहरू चुनाव अपहरण गर्दैछन्।’  डेमोक्रेटहरू प्रतिवाद गर्दैछन्, यो सब बेकारको कुरा हो । तर, सत्य के हो भने एक राष्ट्पतिले कडा कदम चाल्न ढिला गरे अर्को जनताले आफूले आफैंलाई जोगाउन होसियारी नगरेकै कारण यति धेरै अमेरिकीको ज्यान गएको हो ।’

आरोप प्रत्यारोप आफ्नो ठाउँमा होला, तर जब यो महामारी चीनमा शुरु भएर अमेरिका छिरेको थियो । त्यतिबेला राष्ट्रपति ट्रम्पलाई मात्र हैन, अधिकांश अमेरिकीलाई लागेको थियो, बढीमा यो एक/दुई हप्ताको पाहुना हो, त्यसपछि यो गैहाल्छ । तर, उनीहरू सबैलाई जिल्लाराम पार्दै कोरोनाले अमेरिकालाई नै तहस–नहस बनाइदियो । संसारको एकमात्र महाशक्ति राष्ट्र भनिने अमेरिकाका एक लाख ८२  हजार मानिसको मृत्यु हुनु सामान्य कुरा भएन । यसले यतिका मानिसको ज्यान मात्र लिएन, अमेरिकी जीवन नै फेरिदियो । एक  किसिमले भन्ने हो भने जीवनको परिभाषा र यसप्रतिको दृष्टिकोण नै बदल्नुपर्ने अवस्थामा धकेलिदियो ।

अमेरिका अन्य राज्यमा धेरै संक्रमण फैलिँदा म आफैं बसेको टेक्सास राज्यमा भने धेरै न्यून संक्रमण थियो । धेरैलाई लागेको थियो, ‘अमेरिकाको मधेस’ भनिने टेक्सासको गर्मीका कारण कोरोना भाइरस आउँन सक्दैन । तर, त्यसो भएन । हिउँदको बेला हैन, गर्मी लागेकै बेला टेक्सासको सारा गर्मी छल्दै यहाँ दिनदहाडै कोरोना पस्यो । र, हप्तांै भैसक्यो, यहाँ दिनहुँ हजारौंको संख्यामा संक्रमित भैरहेका छन् र सयौंको संख्यामा ज्यान गुमाइरहेका छन् ।

अमेरिकी प्रतिष्ठामा कालो धब्बा बनेको कोरोनालाई निमिट्यान्न पार्न यहाँको संघीय सरकार, राज्य सरकार र स्थानीय सरकार लागेकै छन् । राज्यले गर्न सक्ने धेरै प्रयत्न गरेकै छन् । तर, पनि भाइरसको संक्रमण बढेको बढ्यै छ ।

कोही बिरामी भएमा उपचार गर्न अमेरिका जस्तो सम्पन्न देशमा अस्पतालले सकेजति सेवा सुविधा नदिने कुरै भएन, सबै दिएकै छन् । तर पनि संक्रमण बढेको बढ्यै छ ।

शुरु–शुरुमा केही सय संक्रमित हुँदा म आफू पनि धेरै डराएँ । करिब एक हप्ता त घरबाट बाहिर पनि कमै गएँ । तर, संक्रमित बढिरहेकै बेला परिस्थितिले पनि साथ दिएन र नियमित काममा जुट्नुपर्ने अवस्था सिर्जना भयो ।

दैनिक सयौं मान्छेसँग प्रत्यक्ष भेट्नुपर्ने सानो ब्यवसायमा संलग्न भएकाले पनि सुरू–सुरूमा त मलाई मान्छे आउँदा पनि डर लाग्यो । तर, समय क्रमसँगै त्यो पनि बानी परिसक्यो ।

नेपालमा चाडबाडको मौसम छ । सामान्यतया निम्न वर्गीय परिवारमा चाडपर्वका बेला नयाँ लुगा फेर्ने चलन हुन्छ । तर, यसपटक सबैले नयाँ लुगा किन्ने बजेट मास्क किन्नमा खर्च गर्नुपर्ने समय भएको छ

अमेरिकामा संक्रमितको संख्या लाखौँमा उक्लिँदा नेपालमा शुन्य संख्यामा भएको सुन्दा धेरै खुशी लाग्थ्यो । आफूजहाँ रहे पनि आफ्नो जन्मभूमि अनि परिवार र आफन्तको चिन्ता झनै बढी भएर पनि होला, हरेक बिहान नेपालको समाचार हेर्दा आनन्द लाग्थ्यो। अमेरिकी र अन्य देशबाट आएका मानिससँग गर्वका साथ भनिन्थ्यो, ‘मेरो देशमा त कोरोना छैन ।’ यसोभन्दा उनीहरू छक्क पर्थे । तर, यो यथार्थ थियो ।

दिन बित्दै गए, नेपालमा पनि कोरोना संक्रमित बढ्न थाले । हुँदाहुँदा मृतक नै पनि गन्न सुरू भयो । यहीबीचमा मैले अमेरिकाको अनुभवबाट नेपालमा बेलैमा कडा लकडाउन गर्न माग गर्दै सम्माननीय प्रधानमन्त्रीज्यूलाई खुल्लापत्र पनि लेखेको थिएँ । सरकारका मन्त्री, विभिन्न दलका नेता र हरेक क्षेत्रका शीर्ष व्यक्तिसँग प्रत्यक्ष टक शो सञ्चालन गर्दा पनि खबरदारी र अनुभव राखी नै रहेँ। तर, मेरो खुल्लापत्र र खबरदारीले खासै रंग ल्याएन । आज नेपाल कोरोना संक्रमणको जुन स्थितिमा पुगेको छ, यो तथ्यले त्यही सत्यको उजागर गर्छ ।

मृतकको संख्या दुई सय नजिक पुगिसक्यो । दिनहुँ मृतकको संख्या बढ्दो छ । संक्रमितको संख्या बढ्दो छ । सरकारको कुरा सुन्दा गर्न बाँकि केही राखेको छैन जस्तो सुनिन्छ । तर, परिणाम हेर्यो भने त्यस्तो देखिँदैन । यसले नेपाली हुनुको नाता स्वभाविकरूपमा चिन्ता बढेको छ ।

चिन्ता संक्रमितको संख्या बढेकोमा त लागेकै छ, त्योभन्दा पनि बढी चिन्ता यो रोगका बारेमा नेपालमा चेतनाको अभाव भएकोमा लागेको छ । हुन त म स्वास्थ्यसम्बन्धी काम गर्ने व्यक्ति होइन, तर त्यही चिन्तालाई सम्बोधन गर्न आफूले अमेरिकामा भोगेकोे अनुभव बाँड्न यो लेख लेख्दैछु ।

अहिले नेपालमा पनि लगभग अमेरिकाकै जस्तो स्थिति छ । एकाथरि मानिसहरू कोरोना केही हैन, यो हामीलाई लाग्दैन भन्दै हेल्चक्र्याइँ गरिरहेका छन् भने अर्काथरि मानिस निकै डराएका छन् । कोहीले कोरोना लागेको ब्यक्तिको गाउँमै जान नहुने झै गरी जंगली शैलीमा डाक्टर, नर्स, प्रहरी जो ज्यानको बाजी थापेर अरुको सेवा गरेका छन्, उनैलाई नराम्रो ब्यवहार गर्ने घृणित काम गरेका छन् ।

मेरो अनुभवले भन्छ, दुबैथरि सही हैनन् । सत्यचाँहि के हो भने कोरोना महामारीचाँहि हो । तर, हरेक व्यक्तिले सावधानीका उपाय अपनाएर यसलाई  ख्याल गर्ने हो भने जोगिन र जोगाउन सकिन्छ । मेरो केहि महिनाको कोरोनाका बिचमा काम गर्दाको अनुभवमा लागि निम्नानुसार सुझाव यहाँ प्रस्तुत गर्न चाहन्छु ।

फेस मास्क सही तरिकाले लगाऔँ

हुन त नेपालमा धेरै मानिस मास्क लगाएरै हिँडेको देखिन्छ । तर, यसलाई निकै थोरै संख्याले मात्र सही तरिकाले लगाइरहेका छन्। कतिपयले मास्कलाई औषधीका रुपमा लिए जसरी कुनै पनि एउटा मास्क जसरी भए पनि अनुहारमा राखेपछि ढुक्क साथ जन्तर बाँधेजस्तै गरी कोरोना आउँदैन भन्नेजस्तो विश्वास गरेको देखिन्छ । कतिपयले एउटै मास्क धेरैपटक पुनः प्रयोग गरेजस्तो देखिन्छ ।

हुन त बजारमा अझै पनि सहज र सुलभ मूल्यमा मास्क नपाएको हुन सक्छ । तर, मास्क सही तरिकाले सही ठाउँमा लगाइएन भने यसले कुनै काम नै गर्दैन भन्ने कुरा सबैले बुझ्नु र बुझाउनुपर्यो । एक्लै हिँड्दा मास्क लगाउने । तर, चिनेको मान्छे देखियो भने यसलाई त के लागेको होला र भन्दै चिउँडोमा मास्क लगेर गफ दिन थाल्ने गरेको देख्दा मास्ककै बेइज्जत भएको देखियो । कतिपय पत्रकार सम्मेलनका नाममा सयौंको भिड लागेको देख्दा होस् वा अन्तरवार्ता गर्ने नाममा मुख जोडेर बसेको हेर्दा होस् ।

मेरा दुईजना सहकर्मीलाई कोरोना संक्रमण भयो, तर मलाई अहिलेसम्म भएको छैन । उनीहरू दुवैजना मलाई देख्दा मास्क लगाउने र नदेख्दा मास्क खोल्ने गर्थे । लाग्थ्यो, मास्क भनेको मेरोलागि लगाइदिनुपर्ने हो । यही कारण उनीहरू संक्रिमत भए ।

के बुझ्न जरूरी छ भने  मास्क भनेको चिनेको या नचिनेको मान्छे देखे लगाउने, तर मान्छे नभएको ठाउँमा खोल्दा पनि हुने हो । यो सत्य जनस्तरमा बुझाउनु अत्यावश्यक छ । पत्रकार सम्मेलन, सभा, जुलुसमा हिँड्दा होस् वा टोल टोलमा हुने जमघटमासमेत मास्क नलगाई भेट हुँदा संक्रमणको ठूलो सम्भावना रहन्छ ।

कपडा पछि फेरौंला, अहिलेलाई मास्क फेरौं

नेपालमा चाडबाडको मौसम छ । सामान्यतया निम्न वर्गीय परिवारमा चाडपर्वका बेला नयाँ लुगा फेर्ने चलन हुन्छ । तर, यसपटक सबैले नयाँ लुगा किन्ने बजेट मास्क किन्नमा खर्च गर्नुपर्ने समय भएको छ । त्यसो गर्न सकियो भने आफू पनि कोरोना संक्रमित हुनबाट बचिन्छ र अरूलाई पनि बचाइन्छ ।

अहिलेलाई ज्यान जोगाऔं, चाड पछि मानौंला

नेपालका चाडपर्व भेटघाट, जमघट र खानपानका लागि नामी छन् । तर, कोरोनाले यी तीनै कुरालाई अनुमति दिँदैन । त्यसैले यसपटक भने सबैले आ–आफ्नै घरमा बसेरै पर्व मनाउनु नै श्रेयस्कर हुने देखिन्छ । माइती हुन् या मावली हुन्, केही हुन्न भन्दै हिँड्ने बेला छैन अहिले । यसो गर्न सकियो भने कोरोना कहर हुनबाट जोगाउन सकिन्छ।

माया लाग्नेको नजिक होइन, टाढा जाऔं

हामी सामान्यतया माया लाग्ने मान्छेको नजिक जान मन गर्छौं। तर, कोरोनाले त्यसको ठीक विपरीत क्रियाकलाप गर्ने आदेश दिएको छ । अर्थात्, माया गर्ने मान्छेको नजिक होइन, ऊबाट टाढा जानुपर्ने भएको छ । यसो गर्न सकियो भने कोरोना संक्रमणबाट आफू पनि बच्न सकिन्छ र आफ्ना प्रियजनलाई पनि जोगाउन सकिन्छ।

पाहुना आउन–जान बन्द गरौं

नेपालमा चाडपर्व लगातार आइहेका छन् । चाडपर्वमा पाहुना आउने जाने क्रम पनि चल्छ । तर, कोरोनाले पाहुना आउन र जान नहुने समय ल्याइदिएको छ । अर्थात् समयक्रमले अतिथि देवो भवः नभन्नुपर्ने दिन आएको छ ।

लाइन बस्ने बानी शुरु गरौं

नेपालमा सामान्यतया पसलमा वा कुनै पनि कार्यालयमा जाँदा लाइन बस्ने बानी नै छैन । हुल गर्ने, अनेक तरिका लगाएर आफ्नो काम फत्ते गर्ने, पालो मिच्ने त हाम्रो संस्कारमै छ । तर, कोरोनाले त्यसो नगरेर सबैलाई कम्तिमा ६ फुटको दुरीमा लाइन बस्नुपर्ने सन्देश दिएको छ । यहीबेला त्यसो गर्न सकियो भने कोरोनाबाट पनि बच्न सकिन्छ, लाइनमा बस्ने सुसंस्कृत बानीको विकास गर्न पनि सकिन्छ । सकेसम्म कार्यलयले र पसलले नै ६ फिटको दुरीमा संकेत लगाउनु पर्ने हो होइन भने आफै भए पनि टाढा बसौं ।

अस्पतालभन्दा पनि घरमै उपचार खोजौं

यदि आफू वा आफन्त कसैलाई कोरोना संक्रमण भइहालेमा कोरोनाको सघन संक्रमण भए मात्र अस्पतालमा बस्ने नत्र चिकित्सकसँगको परामर्शमा घरमै सावधानीपूर्वक एकान्तबासमा बस्ने गर्नु श्रेयस्कर हुन्छ । यसो गरियो भने अस्पतालमा अनावश्यक भीड पनि हुँदैन, गम्भीर रोगीले सही उपचार पाउँछन् भने सामान्य अवस्थाका बिरामीले घरमै बसी–बसी नेपाली शैलीको उपचार विधिको खाना खाएर बस्दा स्वास्थ्यलाभ गर्न सक्छन् ।

आफू र आफ्ना प्रियजनको माया गरौं

कोरोनाबाट बच्ने एउटै मूलमन्त्र आफू र आफ्ना प्रियजनको माया गर्नु हो। सबैले इमान्दारीपूर्वक यति मात्र गर्ने हो कोरोनाबाट बच्न सावधानी अपनाउनुपर्ने हुन्छ । त्यसो गरेपछि सबै आफू र आफ्ना प्रियजन संक्रमणबाट बच्नेछन् । यो भनेको समग्रतामा सबै बच्नु हो, जोगिनु हो ।

अधिकार मात्र कर्तव्य पनि निर्वाह गरौं

लोकतन्त्रले हामी सबैलाई अधिकारको कुरा त सिकायो । तर, त्यसको अर्को पाटो कर्तव्य पनि हो भन्ने चाँहि सिकाउन बाँकी नै छ जस्तो देखिएको छ । कोरोनामाथि विजय हासिल गर्ने हो भने हामी सबैले आ–आफ्नो कर्तव्य सम्झन पनि जरूरी छ । एकले अर्कातिर चोरऔंला ठड्याएर मात्र समस्याको समाधान हुँदैन । सबैले साझा दायित्व सम्झेर काम गर्ने बेला हो यो ।

सरकारले ठूला कुरा हैन, साना काम गरौं

पछिल्लो समय नेपालमा शक्तिशाली सरकार छ । सरकारबाट जनताका धेरै आशा छन् । तर, योबेला सरकारले ठूला भन्दा पनि साना–साना कुरामा ध्यान दिएर जनतालाई चेतना र भरोसा दिने काम गर्नुपर्ने बेला आएको छ ।

सरकार ठूला कुरा हैन, साना तर प्रत्यक्ष प्रभाव पार्ने काम गर्ने दिशामा लाग्नुपर्छ । सबै तहका सरकार र आम मानिसलाई एकसाथ कोरोनाविरूद्धको लडाइँमा लिएर हिँड्नसक्ने नेतृत्व देखाउनुपर्छ । कमी कमजोरी भएका भए सच्याउन पनि पछि पर्नु हुँदैन ।

नेपालमा अहिले डाक्टर, नर्स, प्रहरी जस्ता अग्रपंक्तिमा लाग्ने र उनको परिवारलाई नै समाजले फरक दृष्टिले हेर्न बस्न आउन जान समस्या हुने डर भएको छ भने उनीहरु नै धेरै संख्यामा संक्रमित भए भने कसले जोगाउने भन्ने डर भएको छ । उनीहरुलाई काम गर्ने स्थानमा पर्याप्त पीपीई, यातायातको व्यवस्था र भत्ता पनि दिन ढिला गर्नुभएन ।

त्यस्तै अर्कोतर्फ विभिन्न कम्पनीहरु, तारे होटलजस्ता धेरै पैसा कमाइदिने ठाउँमा काम गरेका, प्राइभेट क्याम्पस र स्कुलमा पढाएर लाखौ कमाइदिने मजदुर र शिक्षक कर्मचारीलाई सञ्चालकहरुबाट आधा भए पनि तलब दिने व्यवस्था गरेर केही समय मानसिक राहत दिएर घरमै राख्नुपर्ने बेला हो यो ।

राज्यले चेतना, सुरक्षा र राहतमा विशेष ध्यान दिने बेला आएको छ । रोग लागिहाल्दा के गर्ने र कुन अवस्थामा अस्पताल जाने भनेर निकै राम्रोसँग विज्ञहरु परिचालन गरेर सरकारले चेतना दिनुपर्ने समय हो यो । अब लकडाउन र कर्फ्यु मात्र भन्दा पनि चेतना र होसियारीका साथ कोरोनासंँग जनतालाई जोगिने उपाय सिकाएर अगाडि बढ्ने बेला आएको छ ।

अन्तमा, प्रिय पाठकहरु,

कोरोना लाग्नु पाप होइन । लागेकोलाई हेला होइन, हौसला दिउँ । धेरैलाई निको हुन्छ र निकै थौरैलाई मात्र निको हुन नसकेको रोग हो यो । कसैलाई लाग्यो भने उसको दोष होइन, हौसलाले जोगाउन सहयोगी बनौं । यहाँ अमेरिकामा रहेका धेरै नेपालीले पनि नेपालमा पाइने घरायसी औषधी सेवन गरेर यो रोगलाई जितेका प्रशस्त उदाहरणहरु छन् । कोरोनाबाट जोगाउन रात दिने खट्ने स्वास्थ्यकर्मी, प्रहरी लगायतलाई सहयोग र सम्मान गरौं । मानव जाति नै संकटमा परेका बेला सबै नेपाली मिलेर होसायरीपूर्वक आफू पनि बचौं अनि अरुलाई पनि बचाऔं । अब संसारभरका मानिसले होसीयारीपूर्वक अगाडि नबढेसम्म कोरोनालाई परास्त गर्न कठिन हुनेछ ।

(पत्रकार थापा अमेरिकामा रहेर नेपाली टेलिभिजन कार्यक्रम यु स्टाट अगेन सञ्चालन गर्दछन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment