Comments Add Comment

दुर्व्यवहार हैन श्रद्धा र सद्भाव गरौं

हामी रामचन्द्रलाई आदर्श मान्छौ, रामचन्द्र अयोध्यामा हैन ठोरीमा जन्मिएका हुन् भन्ने कामना गर्छौ र त्यसमा गौरव पनि गछौ । तर कोरोनाको कहरमा रामचन्द्रको आर्दश, श्रद्धाले समस्याको समाधान हुन्छ भन्ने कुरालाई किन आत्मसाथ गर्दैनौं ? रामचन्द्रले शवरीप्रति देखाएको सद्भाव हामीले कोरोना संक्रमित र उनीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुप्रति देखाउन नसक्नुको कारण के छ ? कोरोना संक्रमणबाट बच्न शारीरिकरुपमा दूरी कायम गर्नु पर्छ तर मानसिक र भावनात्मक रुपमा निकटता आवश्यक छ । त्यसैले हामी सबैले मानवीयतालाई जाग्रित गरौं र सबैसँग श्रद्धापूर्वक मानवीय व्यवहार गरौं ।

रामायणको एउटा प्रसंग उल्लेखनीय छ, १४ वर्षको वनबासको समय रामचन्द्र कतै जाँदै थिए । एकजना रोगी, फोहोरी वृद्धा महिला ‘शवरी’ले त्यो कुरा चाल पाइन् र उनले रामचन्द्रलाई बयरको फल खुवाउने मनसुवा गरिन् । उनले आफूले बयर चाख्दै मिठोमिठो जति रामचन्द्रको लागि छुट्टाइन् । रोगी, घाउ खटिरा भएकी, फोहोरी शवरीले बयर दिएकाले लक्ष्मणले रामचन्द्रलाई त्यो फल नखान सुझाए । तर, रामचन्द्रले शवरीबाट त्यो फल ग्रहण गर्दै हाँसेर भने– श्रद्धा सबैभन्दा ठूलो कुरा हो, उनले श्रद्धाले दिएकी छन्, त्यसैले यसमा अन्यथा सोच्नु आवश्यक छैन ।

त्रेतायुगमा रामचन्द्रले लक्ष्मणलाई सिकाएको श्रद्धाको पाठ कलियुगमा आइपुग्दा श्राद्ध गर्दा फेरेको कपडाजस्तै कतै जुठेल्नातिर मिल्किएको अवस्थामा रहेको हुनुपर्छ । त्यसैले पनि हरेक मानिस अहम, कुण्ठा र अमानवीयताले ओतप्रोत बनेका छन् । महामारीको यो समयमा पनि अनियमितता, भ्रष्टाचार, बेथितिलाई आत्मसाथ गर्दै हिँडिरहेका छन् । एकातिर कोरोना संक्रमणकै बहानामा लुटको धन्दा चलाइरहेछन्, अर्कोतिर संक्रमित र स्वास्थ्यकर्मीहरुलाई दुर्व्यवहार र विभेद गरिरहेछन् ।

कम्युनिष्टले धर्म मान्दैनन् भनेर अफवाह फैलाउन लागेको धेरै शताब्दी भैसकेको छ । मार्क्सको उदय र उनैको ‘धर्म अफिम हो’ भन्ने भनाईलाई डेमोक्रेटहरुले बुलन्दिमा पुर्‍याएको समय शताब्दिमै हिसाब गर्नु पर्छ । तर मानवताको मापन न धर्मले गर्न सक्यो, न सिद्धान्तले ।

अनुमान गर्दा पनि कन्चट चिटचिटाउँछ, मानवीयता त्यसै–त्यसै आवेग र उत्तेजनाले स्खलित बन्दै जान्छ । अनि ती समाजका सज्जनहरुप्रति अथाह अनास्था र अक्रोश मडारिन्छ । तर, फेरि श्रद्धाभावले शीर निहुरिन्छ, म सिथिल र शान्त बन्छु

कोरोना कहरको यो समय र कोरोना संक्रमित तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई भैरहेको दुर्व्यवहारले धर्मको सिद्धान्तलाई कम्युनिष्ट वृत्तमा मात्र हैन डेमोक्रेटहरुको जमातमा पनि क्रमसः पराजित गर्दै लगिरहेको छ । के कम्युनिष्ट, के डेमोक्रेट लगभग सबैको घरका ढोकामात्र हैन, टोलका गौडा र गल्छीहरुसमेत कोरोना संक्रमित तथा उपचारमा संलग्नहरुका लागि बन्द प्रायः देखिएका छन् । हैन भने धर्मभिरुहरुले कोरोना संक्रमित र उपचारमा संलग्नहरुलाई किन अछुतझै ब्यवहार गर्नु पर्‍यो र !

धर्म भनेको मानवीय सिद्धान्त हो, धर्मले मानिसलाई अनुशासित बनाउँछ । कम्युनिष्ट त धर्म विरोधी भए अर्थात अनुसाशनहीन भए, धर्म मान्ने डेमोक्रेटहरु चाहिँ किन अमानविय र अनुसाशनहीन बन्दैछन् हँ ? जवाफ सहज छ – सिद्धान्तले हैन, श्रद्धाले मानवताको मापन हुन्छ । अहिले सबै सिद्धान्तमा श्रद्धा मरेको छ, मानवीयता मरेको छ । कोरोना संक्रमित या उनीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुमाथि भैरहेको ब्यवहार त्यसैको प्रतिविम्ब मान्न सकिन्छ ।

मेरो आफ्नै एउटा पीडा छ कोरोनासँग जोडिएको । पछिल्लो समय कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी प्रभावित हुँदै गएपछि दोलखामा म लगायत चारजना पत्रकारले स्वाव परीक्षण गरायौं । सुरुका दिनमा मैले त्यस्तो कुनै अनुभूति गरिनँ, खाली रिपोर्टको प्रतिक्षा गरिरहें । धुलिखेल अस्पतालमा स्वाव नमूनाको चाप बढी भएकाले हाम्रो रिपोर्ट आउन ढिला भैरहेको थियो । जब रिपोर्ट आउने समय नजिकियो, मेरो मनमा एक प्रकारको अनौठो तर पीडादायी ज्वारभाटा अनुभूत हुन थाल्यो ।

रिपोर्ट नेगेटिभ आयो भने त ठिकै छ, पोजेटिभ आयो भने समाजले मलाई कस्तो नजरले हेर्ला ? मेरो परिवार, सहकर्मी र साथी सङ्गीको अवस्था र उहाँहरुलाई समाजले हेर्ने दृष्टिकोण कस्तो होला ? म भित्रभित्रै त्रसित र तरङ्गीत हुँदै गैरहेको थिएँ । मलाई दृढ विश्वास थियो, कथंकदाचित म संक्रमित भै हाले पनि चाँडै ठीक हुने छु । तर, मलाई भित्रभित्रै आफूभन्दा ठूलो ढुङ्गाले थिचेको आभाष भैरहेको थियो र पीडाबोध भैरहेको थियो ।

स्वाव परीक्षण गरेर कतै मैले गल्ती त गरिनँ ? मनमनै यस्तै प्रश्न–प्रतिप्रश्न गर्दै थिएँ । मसँग स्वाव दिएका अरु तीनजना पत्रकारहरुको अवस्था पनि मेरो भन्दा भिन्न थिएन । उनीहरुको छटपटी पनि म फोनवार्तामा स्पष्ट अनुभूत गरिरहेको थिएँ । जे होस् हामी चारैजना पत्रकारको रिपोर्ट नेगेटिभ आएकाले हामीले धेरै तनाव बेर्होनुपरेन ।

पत्रकार समाजको चौथो अङ्ग, सचेत वर्ग । समाजमा देखिएको बौद्धिक दरिद्रताकै कारण हाम्रो अवस्था त यस्तो छ भने सामान्य परिवारका कोरोना संक्रमितले कति ठूलो पीडा र बज्रपात सहनुपरेको होला ? अनुमान गर्दा पनि कन्चट चिटचिटाउँछ, मानवीयता त्यसै–त्यसै आवेग र उत्तेजनाले स्खलित बन्दै जान्छ । अनि ती समाजका सज्जनहरुप्रति अथाह अनास्था र अक्रोश मडारिन्छ । तर, फेरि श्रद्धाभावले शीर निहुरिन्छ, म सिथिल र शान्त बन्छु ।

मृत्यु सत्य हो, ढिलो चाँडोको कुरा अलग छ । तर, एक दिन सबैले मानव चोलाबाट विश्राम लिनैपर्छ । हाड र छालाको यो मानव चोलालाई खरानीमा विर्सजन हुनबाट धन, सम्पत्ति, सत्ता या कुनै पनि शक्तिले रोक्न सक्दैन । त्यसैले एउटा मानवले अर्को मानवलाई रोग, भोग, शोक कुनै पनि बहानामा विभेद, दुर्व्यवहार तथा अछुत झै ब्यवहार गर्ने कुरा कुनैपनि मानेमा स्वीकार्य हुनै सक्दैन । त्यस्तो कुरा दण्डनिय हुन्छ र हुनुपर्छ ।

कोरोना कहरमा आफन्तजनले मृतकको अन्त्यष्टि आफ्नो सांस्कृतिक परम्पराअनुसार गर्न नसकेको पीडा त छदैछ त्यो भन्दा आर्तनाद पीडा कोरोना संक्रमितलाई आफ्नै परिवारजन, आफन्त र समाजले गरेको विभेद र दुर्व्यवहारबाट हुने गरेको अनुभव पीडितहरुले सुनाउने गरेका छन् ।

कोरोना संक्रमित भएपछि परिवारजनबाटै भएको अपहेलना सहन नसकेर एकजना युवकले आत्महत्या गरे, अर्को एकजना संक्रमितलाई एकान्तवासको नाममा घाटको आसपास राखियो, कोरोना संक्रमित बसेको घरको बाटो हुँदै हिँडडुल नर्गन समाजका बुद्धिजीवी भनाउँदाहरुले नै उर्दी जारी गरे, अपहेलनाको डरले संक्रमित अस्पतालबाटै भागे, संक्रमितको परिवारलाई छिमेकीहरुले नानाथरी अरोप, गालिगलौज र दुर्व्यवहार गरे, स्वास्थ्यकर्मीहरु लाई टोलवासीले डेराबाट निकाल्न खोजे । यी सबै हाम्रै समाजमा देखिएका गतिविधिका फेहरिस्थहरु हुन् ।

कुनै पनि संक्रमितलाई घरमै बस्ने रहर हुँदैन । सरकारले उचित व्यवस्थापन गरिदिएको अवस्थामा हरेक संक्रमित अस्पतालमा तोकिएको आइसोलेसनमा बस्न राजि छन् । तर, यो महामारीमा सरकारले मात्र सबै व्यवस्थापन गर्न सक्ने अवस्था छैन । त्यसैले होम आइसोलेशनको कुरा आएको हो ।

होम आइसोलेसनमा बसेका संक्रमितलाई त्यहाँको समाजले विभेद र दुर्व्यवहार गर्‍यो भने उनीहरुको मानसिकता कस्तो होला ? विभेद र दुर्व्यवहार गर्ने समाजका भद्र महिला तथा सज्जन बृन्दले एकपटक संक्रमितको मुहारमा आफ्नै परिवारका कोहि सदस्यको तस्विर अनुमान गरौं त । के त्यतिबेला पनि हाम्रो मनोभाव कुण्ठित र कठोर नै हुन्छ ? या श्रद्धाभावले उद्धेलित पो बन्छ कि !

सरुवा रोग विशेषज्ञहरुले भनिरहेका छन् कोरोना एकपटक सबैलाई लाग्न सक्छ । यो सत्यलाई जान्दा जान्दै पनि समाजका अब्बल भनिएकाहरुले संक्रमितलाई गर्ने ब्यवहारले हाम्रो समाजको चेतना स्तरको मापन भएको छ ।

प्राकृतिक विपत्ति र दैवी विपत्तिले मानिसको सामाजिक, आर्थिक, राजनीतिक कुनै पनि हैसियत हेर्दैन । २०७२ सालको भूकम्पले सबै स्तरका मानिसलाई सडकमा ल्याएको यर्थाथलाई हामीले भुल्न सकेका छौं र ?

अहिले कोरोना कहरले सबैलाई घरभित्रै थुनिदिएको तथ्य पनि छ त हाम्रो सामु । त्यसैले हामीले कोरोना संक्रमणको यो पीडादायी समयमा विभेद, दुर्व्यवहार, अपहेलना हैन, श्रद्धापूर्वक मानवीय व्यवहार गर्नु आवश्यक छ ।

आफू संक्रमित बनेपछि परिवार, छिमेकी र समाजलाई पनि संक्रमित बनाउछु भन्ने कुत्सित मनसाय कसैले पनि राखेको हुँदैन । हामीभित्रको दरिद्र मानसिकताको उपज हो हामीले संक्रमितलाई गर्ने दुर्व्यवहार भनेको । वनको बाघले नखाए पनि मनको बाघले खाइरहेछ हामीलाई । संक्रमितले हेर्नासाथ रोग सर्ने, संक्रमित बसेको टोलमै बस्न नहुने, संक्रमितसँग बोल्नै नहुने जस्ता भ्रम हामीभित्रको दरिद्र मानसिकताको प्रतिविम्व हो । संक्रमितलाई दुर्व्यवहार गरेर हैन, आफू सचेत र सजग रहँदै संक्रमितलाई श्रद्धापूर्वक सहयोग गर्न सक्यौ र सिक्यांै भनेमात्र हामी यो महामारीबाट छिट्टै मुक्त हुन सक्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment