Comments Add Comment

सबैले देख्ने पूर्णताभित्रको रित्तो मान्छे !

एक महिनाअघि कामविशेषले कास्कीको नापी कार्यालयमा पुगेकी थिएँ । भेट्नुपर्ने कार्यालय प्रमुख खिमलाल गौतम सरलाई । कार्यालय प्रवेशसँगै कोरोना कहरका मापदण्ड पूरा गरेर उहाँको कार्यकक्षमा पुगेँ ।

खिमलाल सर टेबुलमा केही फाइल पल्टाउँदै हुनुहुन्थ्यो । अभिवादनसहित म टेबुल अगाडिको सोफामा बसें । त्यो दिन साउनको २ गते थियो । अक्सर हँसिलो अनुहारमा प्रस्तुत हुने उहाँ त्यो दिन भने केही मलीन अनुहारमा हुनुहुन्थ्यो । तर सोध्ने आँट आएन ।

केही औपचारिकतासँगै उहाँ बोल्नुभयो । भन्नुस् मेडम, ‘के कति कामले आउनुभयो ?’ कुराको शुरुआत उहाँले नै गर्नुभयो । मैले आफू आउनुको कारण जानकारी गराएँ । तर, उहाँको पूरा ध्यान हातमा रहेको एउटा पुस्तकको पाण्डुलिपीमा केन्द्रित थियो । निकै ओल्टाइ पल्टाइ हेरिरहनुभएको थियो । सायद यसअघि त्यही पढिरहनुभएको थियो ।

उहाँ बोल्नुभयो, ‘भोलि श्रावण ३ गते । हामी आमाबाबा हुने सौभाग्य प्राप्त भएको दिन । जिन्दगीको खुशीमा सबैभन्दा अमूल्य खुशीको दिन । हाम्रा सपनाहरु साझा भएको दिन । तर, अब स्मृतिमा मात्र त्यो पल, सायद दैवले आँखा नलगाएको भए त्यो खुशीको हुर्काइ भोलि अर्थात् श्रावण ३ मा एक वर्ष पुग्ने थियो ।’

‘देख्नेहरु सबैले मलाई पूर्ण देख्छन् । तर, मभित्रको ‘म’ केवल रित्तो पाउँछु । यस्तै पीडाहरुको बेचैनी छ । हाँसेको त हुन्छु, तर खुसीविहीन हाँसो मात्र । बाहिर देखिएजस्तो सबै मानिस खुसी कहाँ हुन्छन् र ! म पनि पीडा लुकाएर हाँसेको मान्छे हुँ । व्यक्त गर्ने पो कसलाई ?’

समय त्यस्तै परेछ । एकदम भारी मनसँगै एक्लै पिरोलिएको बेला म पुगेंछु ।  उहाँले रोक्न नसकी व्यक्त गरेका शब्दहरुसँग म ठोक्किन पुगेँ । तत्काल जवाफ दिने शब्द मसँग केही भएन ।

‘भोलि श्रावण ३’, उहाँले फेरि दोहोर्‍याउनुभयो ।

उहाँका भनाइले शोकको पीडामा हुनुहुन्छ भन्ने ठम्याइ मात्र गर्न सकेँ ।

मानिस अक्सर आशिष दिँदा भन्ने गर्छन् ‘सफलताले सगरमाथाको उचाइ छोओस् ।’ हुन पनि सफलताले उहाँको त्यो उचाइ छोएको थियो । .२०६८ सालमा भ्रमण वर्षको सफलताको कामनासहित निजामती कर्मचारीको तर्फबाट सगरमाथा पुग्ने अवसर उहाँलाई मिलेको थियो । त्यसपछि २०७५ सालमा सगरमाथाको उचाइ नाप्ने गहन जिम्मेवारीको नेतृत्व गरेर गौरवमय इतिहास लेख्ने अवसरमा पनि उहाँ सफल हुनुभएको थियो ।

कास्कीको नापी कार्यालय पनि प्रविधि मैत्री बनाउने परिकल्पनालाई साकार पार्ने उहाँको योगदान पनि बिर्सनु हुँदैन । एक कर्मठ कर्मचारीका रुपमा उहाँलाई मैले चिनेकी थिएँ । लाग्थ्यो, उहाँको जीवनमा दुःख पीडा भन्ने कुनै कुराले प्रवेश गर्ने मौका नै पाएको छैन । अक्सर हामी आवरण हेरेर नै धारणा बनाउँछौं । भित्री कथाव्यथा त भने मात्र न थाहा हुने हो ।

उहाँले जीवनमा सबै कुरा भएर पनि अभाव र वेचैनमा बाँच्नुपरेको यथार्थ सुनाउनु भो । ‘भन्ने गर्छन् सगरमाथाको त्यो उचाइमा पुगेर कीर्तिमानी कायम गर्न सफल व्यक्ति जीवनको हरेक पलमा खुसी छ । तर, मैले पाएर पनि गुमाएको मेरो जीवनको एक अमूल्य रत्न, जुन कुनै खुसी र सम्मानसँग तुलना हुँदैनथ्यो, त्यही गुमाएँ– छोरा ।’

उहाँको आवाज रोकियो ।

केहीबेरको मौनता तोड्दै बोल्नुभयो, ‘म त जसोतसो सम्हालिएको छु, श्रीमतीलाई अझै सम्झाउन सकेको छैन । उनीसँग अँगालो हालेर रुने समय पनि मलाई पर्याप्त छैन । जिम्मेवारीलाई बोकेर हिँडेको मान्छेले व्यक्तिगत जिन्दगी सायदै बाँच्छन् । कहिल्यै निको नहुने यो पीडाको घाउ छ, हाम्रो जीवनमा ।’

हातमा रहेको पाण्डुलिपिका पाना पल्टाउँदै, ‘यो आशुतोष शोककाव्य, पोखरा–२३ चैनपुरका नारायणप्रसाद गौतमले तयार गर्नुभएको । यसका हरेक शब्दले मलाई निःशब्द बनाएको छ । आज अलि बढी भावुक भएको छु ।’

‘माफ गर्नुहोला केही व्यक्तिगत कुरासँग जोडिएँ ।’

सन्तान वियोगको पीडाले छिन्नभिन्न भएको उहाँको मनमा मैले भन्ने शब्द केही पाइनँ ।

विषयान्तर गरें, मैले कार्यालयबाट लिनुपर्ने जानकारी लिएँ । हिँड्दै गर्दा उहाँले त्यो पाण्डुलिपी मलाई थमाइदिनुभयो । ‘फुर्सद मिले पढ्नुहोला ।’

समयाभवले गर्दा महिना दिन पछि आज पाण्डुलिपिमा आँखा गयो । सरसर्ती पढेँ  आशुतोष (शोककाव्य) । एकाएक श्रावण २ गतेको त्यो परिदृश्य आँखामा आउन थाल्यो । उहाँको जीवनमा घटेका सत्य कहानीलाई साहित्यकार एवं तनहुँका सहप्राध्यापक नारायणप्रसाद गौतमले जीवन्तरुपमा काव्यमा उतार्नुभएको रहेछ ।  २०६८ सालमा सगरमाथा चढेर फर्केलगत्तैै वैवाहिक जीवनमा प्रवेश गर्नुभएका गौतम आज जीवनमा सबै भएर पनि रित्तो अनुभव गर्नुको कारणलाई सिलसिलाबद्ध तीन पात्र यौवना, आरोही र पथिकको माध्यमबाट झ्याउरे लयमा बेलीविस्तार लगाइएको छ ।

एकातर्फ खुशी उत्साह, उमङ्गसँगै  सफलताको सिँढी उक्लदै गर्दा, अर्कोतर्फ पटक–पटक सन्तान वियोगले दिएका चोट र त्यही बेला गभर्वती श्रीमती छोडेर हिँड्नु पर्दाको बेचैनीले छटपटाइरहेको मनोभावहरु आशुतोष खण्डकाव्यमा छचल्किएको  थियो ।

सन्तान प्राप्तिबाट जीवनमा पूर्णताको अनुभूति गर्न तड्पिएका दम्पतीबाट ‘प्रि– म्याच्युर’ ६ महिनामै शल्यक्रिया गरेर बच्चा जन्माउनु पर्ने अवस्था आउनु र त्यसपछिका घटनाक्रम निकै अकल्पनीय छन् । कठिन युद्धमा आफू हारेर सन्तान बचाउने एउटै अभिष्टमा तल्लिन दम्पतिको कारुणिक चित्कार, साहस, धैर्यता सबै सबै स्पष्ट बिम्ब थियो ।

जमुना वर्षा शर्मा

प्रतिक्षाको समय अगावै जन्मिएको सन्तानलाई बचाउन आजको अत्याधुनिक चिकित्साशास्त्रको सम्पूर्ण विधि प्रयोग गरेर ६ महिनासम्म काठमाडौं, दिल्ली, बैंगलोरका महँगा अस्पतालमा दिनरात एकै बनाएर गरिएका प्रयास अन्ततः असफल हुँदाका पलहरु भोग्नेले मात्रै महसुस गर्न सक्छन्, अरुका लागि काल्पनिक कथा लाग्छ । आमाबुबाको त्यो धैर्यता र आशा ६ महिनाको अथक प्रयासपछि शून्यतामा विलिन हुन्छ । आँखा भरिन्छ, काख रित्तिन्छ । पराइ भूमिमा आफ्नो मुटुको टुक्राको एक्लो मलामी बनेर गरिएको दाहसंस्कारले जो कोहीलाई शोकको गहिराइमा पुर्‍याउँछ ।

सन्तान नजन्मँदै ‘आशुतोष’नाम जुराएर सुन्दर पारिवारिक संसार निर्माण गरेर रमाइरहेका दम्पति, सन्तानका लागि हरेक अवस्थालाई तिलाञ्जलि दिएर केवल उसको जीवनको प्रार्थनामा तल्लिन हुँदा पनि उनीहरुको कोखमा त्यो खुशी अडिएन । दुई दिनको राम छाँयाजस्तै गरेर आएका आशुतोषको आकृती अहिले एक वर्ष पुगेको छ । आँखा अगाडि पटक–पटक आइरहँदा आमाबाबाले समात्न खोज्छन्, तर भौतिक दुरीबाट टाढा भएका उनी केवल स्मृतीमा मात्र छाइरहेका छन् ।

श्रावण ३ गते आएको खुशी पौष ८ गते विलीन हुन्छ । त्यो अन्धकारमय आँधीबेहरीले सम्हाल्दै गरेको मनमा पहिरो लैजान्छ, निदाउन खोज्दा निद्रा हर्छ, हाँस्न खोज्दा हाँसो खोस्छ, अनि बोल्न खोज्दा आवाज विलिन हुन्छ, कहालीको त्यो भुमरीमा डुबाउँछ र पटक पटक ऐठनले सताउँछ ।

आमा हेमा हुमागाईँ गौतमले छोरा आशुतोषलाई सम्झदै लेखेका ति भावुक शब्दमा पुग्छु, ‘संघर्ष र दुःखमा तिमीसँग बिताएका पलहरू गनी–गनी जीवन बिताउन सक्छु, आमा बन्ने सौभाग्य दियौ तिमीले, तिम्रो भौतिक शरीर पो छैन । तर, तिमी अझै मेरो अँगालोमा छौ । तिम्रो गन्ध, तिम्रो स्पर्शको अनुभव मैले पटक–पटक गरिरहेकी छु ।  मेरो आँखामा तिम्रो मुहारको चमकको प्रतिविम्ब गुमेको छैन, भलै तिमीले मेरो मातृवात्सल्यको लामो अनुभव गर्न पाएनौ । तर, तिमी मेरो सन्तान र मैले तिम्री आमा बन्न पाएको पलले नै सुखानुभूती गरेकी छु, भौतिक रूपमा तिमी हामीसँग छैनौं । तर, तिमी हाम्रै सन्तान हौ, सदाका लागि आकाशको ध्रुवतारा तिम्रो आकृति हो ।’

आमाका शब्दसँगै ‘आशुतोष’ पढ्दै गर्दा र नियतिलाई बुझ्दै गर्दा लामो सासको  सहारा म आफैंले लिनपुगेँ ।  फेरि पनि नियतिलाई स्विकार्नुको विकल्प के नै छ ? पीडाको भुमरी भित्रबाट पनि खुशीका छिटाहरु फालेर जिम्मेवारीलाई पूरा गर्नसक्ने साहस मात्रै होइन, दुस्साहसको नमूना देखाइसक्नुभएको छ । सत्यलाई  स्वीकार गरी छिन्नभिन्न मनलाई एकत्रित गर्दै अघि बढ्ने साहस प्रेमिल जोडीलाई मिलोस्, शुभकामना ।

भौतिक शरीरबाट टाढा पुगेका आशुतोषलाई हार्दिक श्रद्धाञ्जलि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment