Comments Add Comment

‘उत्कृष्ट’ मुलुकको सामान्य जीवनशैली, हामीले के सिक्ने ?

सांकेतिक तस्वीर

काठमाडौं । दैनिक भागदौडको जिन्दगीमा हामीले आफ्नो काम, कर्तव्य र जिम्मेवारीलाई यतिसम्म भुल्छौं कि दैनिक हुने नियमित कामबाहेक अरू काम हाम्रो स्मरण आउनै पाउँदैन ।

कार्यालयीय कामपछि हाम्रो फुर्सदिलो समय विद्युतीय सामग्रीको प्रयोगमा नै बित्ने गर्छ । पर्याप्त व्यायाम, स्वस्थ र सन्तुलित आहार एवं गहिरो निद्राको बारेमा हामी चिन्ता लिँदैनौं । या त कार्यालयीय काम या अनुत्पादक क्षेत्रमा विद्युतीय उपकरणसँग नै बित्ने हाम्रो दिनले हामीलाई कत्तिको फाइदा गर्ला ?

भागदौडलाई नियन्त्रण गरेर फरक किसिमले जीवन जिउने विश्वका कतिपय मुलुकहरू उदाहरणीय छन् । विश्वका कतिपय देश र कम्पनीले बिहान ९ बजेदेखि ६ बजेसम्मलाई कार्यालय समयको रूपमा तोकेका हुन्छन्, जुन हाम्रोभन्दा धेरै हो ।

विश्वमा कतिपय यस्ता संस्थाहरू पनि छन् जसले विश्वभरका मानिसहरूको जीवनशैलीलाई समेत सूचक मानेर उत्कृष्ठ मुलुकहरूको सूची तयार पार्ने गरिएको छ । यही जीवनशैली सम्बन्धी विषयलाई आधार मानेर नै कस्तो जीवनशैली भएका मुलुकका मान्छे धेरै समय बाँचे भनेर समेत रिपोर्ट तयार पार्ने गरिएको छ ।

कमजोर र छोटो निन्द्रा राम्रो स्वास्थ्यका लागि हानिकारक रहेको चिकित्सकहरू बताउँछन् । किनकि अनुसन्धानले देखाएअनुसार पर्याप्त निद्रा नपाउनेहरूलाई टाइप २ मधुमेह, उच्च रक्तचाप, मोटोपना, श्वासप्रश्वास सम्बन्धी रोग आदिको जोखिम बढी हुन्छ । त्यसैले को कति सुत्छ र कति गहिरो निद्रा सुत्छ भन्ने आधारमा पनि जीवनशैलीको व्याख्या गर्ने गरिएको पाइन्छ ।

बेलायतबाट प्रकाशित हुने इन्डिपेन्डेन्टको रिपोर्ट अनुसार उत्कृष्ट जीवनशैलीको आधारमा सबैभन्दा अघि नर्वेलाई राखिएको छ । त्यहाँको औषत् उमेर ८२ वर्ष छ । दोस्रोमा अस्ट्रेलिया, तेस्रोमा डेनमार्क, चौथोमा स्विट्जरल्याण्ड, पाँचौंमा क्यानडा, छैटौंमा स्विडेन, सातौंमा न्युजिलेण्ड, आठौंमा फिनल्याण्ड र नवौंमा संयुक्त राज्य अमेरिका परेका छन् ।

जीवनशैलीको लागि उत्कृष्ट भनिएका मुलुकहरूले सिकाएको पाठ भनेको कार्यालयीय कामका अलावा धेरै समय प्रकृतिसँग रमाउनुपर्छ, शारीरिक अभ्यास हुने काम गर्नुपर्छ र खानपिन पौष्टिक हुनुपर्छ भन्ने नै हो । नर्वे होस् या डेनमार्कका मानिसहरू सम्भवभएसम्म छोटो दुरीको लागि पैदल हिँड्ने र लामो दुरीको लागि साइकलको प्रयोग गर्ने गर्छन् ।

हामीले द इन्टिपेन्डेन्टको रिपोर्ट अनुसार सबैभन्दा उत्कृष्ट जीवनशैली अपनाउने नर्वेको जीवनशैली कस्तो छ ? भन्नेमा सामान्य व्याख्या उल्लेख गरेका छौं ।

– नर्वेका नागरिकको लागि सहज र आफ्नो शरीरलाई सहज हुने खालको पहिरन नै पोषाकको आचार संहिता हो । त्यहाँ कुनै नाटकीय हिसाबले महँगा र ब्राण्डेड कपडालाई ध्यान दिइँदैन ।

– अर्काे उनीहरूको मुख्य जीवनशैली भनेको फुर्सदिलो समयको सदुपयोग हो । नर्वेमा कार्यालय समय भनेको बिहान नौ बजेदेखि साँझ ५ बजेसम्म हो । हप्तामा शनिबार र आइतबार बिदा हुन्छ भने क्रिसमस, इस्टर जस्ता पर्वमा त्यहाँ बिदा हुन्छ । यस्तो बिदाको समयमा उनीहरू तनावरहित तरिकाले समय बिताउने गर्छन् ।

–यस्तो फुर्सदिलो समयमा उनीहरू फुटबल खेल्ने, साइक्लिङमा जाने, स्विमिङ गर्ने जस्ता काममा लाग्ने गर्छन् । फुर्सदको समयमा उनीहरू हिँड्न नै धेरै मन पराउँछन् । खुल्ला ठाउँमा छोटो र लामो दुरीमा हिँड्ने, हिमाल आरोहण जस्ता काममा उनीहरू मन पराउँछन् । फुर्सदको समयमा उनीहरूले शरीरलाई आवश्यक पर्ने अभ्यास पनि हुने खालका मनोरञ्जनात्मक काममा नै समय खर्च गर्ने गर्छन् ।

–उनीहरू यात्रा मनपराउँछन् । रेस्टुरेन्टमा बसेर आफ्नो रैथाने खाना खाने, साथीभाइमा नयाँ योजनाको बारेमा छलफल गर्ने जस्ता काम नर्वेजीयनहरूको विशेषता हो । खानेकुरामा मुख्यतः उनीहरू समुद्री खानालाई बढी महत्व दिन्छन् । नर्वेजीयन खाना भियतनामदेखि सोमालियासम्म विस्तार भइसकेको द इण्डिपेन्डेन्ट्सले उल्लेख गरेको छ ।

दशौं स्थानको नेदरल्याण्ड : समयनिष्ठ व्यवहार

अर्काेतर्फ द इन्डिपेन्डेन्ट्सको उत्कृष्ठ जीवनशैली भएको मुलुकहरूको सूचीमा १० औं स्थानमा परेको मुलुक हो नेदरल्याण्ड । त्यहाँको संस्कृतिलाई डच संस्कृति भन्ने गरिन्छ ।

डच संस्कृतिमा समयनिष्ठ व्यवहार अत्यन्त महत्वपूर्ण छ । यदि तपाईं आफ्नो साथीहरूसँग भेट गर्दै हुनुहुन्छ र पाँच मिनेट मात्रै ढिला आउनु भयो भने पनि त्यो अक्षम्य गल्ती ठहरिने छ । एकदमै निकट मित्रले केही समयको लागि क्षमा दिन सक्ला । अरूबाट त्यस्तो छुट हुँदैन ।

डचहरूमा कफीको शोख अत्यन्तै हुन्छ । यो उनीहरूको जीवनको महत्वपूर्ण अंश हो भन्दा पनि फरक नपर्ला । किनकि हरेक दिन बिहानको १०ः३० बजेदेखि ११ बजेसम्मको समयलाई उनीहरूले कफी टाइमको रूपमा नै छुट्याएका हुन्छन् । कफी नपिउने मान्छे सामाजिक बन्न गाह्रो हुन्छ नेदरल्याण्डमा ।

दिउँसो ३ बजेदेखि ४ बजेसम्म अपराह्नको चिया समयको रूपमा छुट्याउने गरिन्छ । यो समयमा चिया या कफीबाहेक अरू पेय पदार्थ खानको लागि छुट हुँदैन । त्यो समयपछि केही समय आराम गर्नको लागि पनि समय छुट्टयाउने गरिन्छ ।

लक्जेम्बरको संस्कृति

कतिपय अध्ययनले पश्चिमी युरोपको एउटा सानो भूपरिवेष्ठित मुलुक लक्जमबर्गलाई पनि उत्कृष्ट जीवनशैली भएको मुलुकको सूचीमा पहिलो स्थानमा राख्ने गरेको छ । स्लिपजंकी नामक संस्थाले कुल १०० अंकलाई सर्वाधिक अंक मानेर गरेको विश्लेषणमा यो मुलुकले ८५.२ प्रतिशत प्राप्त गरेको थियो ।

यस्तो विश्लेषण हरेक वर्ष एक दिनमा काम गर्ने कुल समय, कुल बिदाको दिन, त्यहाँको मानिसको स्वास्थ्य अवस्था, उनीहरूको निद्राको अवस्था आदिलाई आधार मान्ने गरिन्छ ।

नेपालमा व्यवस्थापनको अभाव

माथि उल्लेखित मुलुकको संस्कृतिलाई आधार मान्दा नेपाली संस्कृति पनि त्यहाँको भन्दा कम छैन । मानवशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख डम्बर चेम्जोङ नेपालमा विकासे मानसिकताले गर्दा सामाजिक विकास र समाज सुधारको काम उल्लेख्य रूपमा विकास हुन नसकेको बताउँछन् । उनी हामी जीवन जिउन नजानेर भन्दा पनि अरूको शैली अपनाउँदै हिँड्ने धुनमा आफ्नो पनलाई बिर्सिएकोले सुखी र खुसी हुन नसकेको बताउँछन् ।

नेपालको कार्यालय समय जीवनशैलीमा अब्बल ठहरिएका मुलुकहरूको भन्दा कम छ । मनोरञ्जनको लागि उनीहरूको भन्दा रोचक र उत्कृष्ट कला संस्कृति हाम्रो छ । तर हामी त्यो पुरानो संस्कृतिलाई अपनाउँदैनौं र अरूको सिको गर्न खोज्दा हामीले दुःख पाएको जानकारहरू बताउँछन् ।

विलासी सवारीमा कार्यालय जाने र कार्यालय समय सकिएपछि घरभित्र नै समय बिताउने जीवनशैलीका कारण पनि विभिन्न समस्याहरू सिर्जना हुने गरेको जानकारहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment