Comments Add Comment

मोरङमा कारागारमा कैदीको शंकास्पद मृत्यु

१० भदौ, विराटनगर । जिल्ला कारागार मोरङमा कैदीको शंकास्पद मृत्यु भएको छ । लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका विराटनगर- ४ का २६ वर्षीय निराजन यादवको शंकास्पद मृत्यु भएको हो ।

बुधबार कारागारमा मृत्यु भएका उनलाई साढे चार बजे कोशी अस्पताल ल्याइएको थियो । अस्पतालले लगतै मृत घोषित गरेको थियो । कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासका अनुसार अस्पताल आउनु अघि नै यादवको मृत्यु भइसकेको थियो ।

मृतकको शरीरमा निलडाम रहेकाले आफन्तले कुटपिटपछि हत्या भएको आरोप लगाएका छन् । ‘टाउकोमा र खुट्टामा चोट देखिएको छ,’ मृतकका दाजु बालमिथुन यादवले भने ‘ कुटपटि गरी यातनाका कारण मृत्यु भएको हो ।’

लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका युवकको अवस्था तीन दिनअघिसम्म सामान्य थियो । तीन दिनअघि मृतकमा दाजुले उनलाई पैसा पुर्‍याइदिएका थिए । ‘तीन दिनअघि कारागारमा खर्च लगिदिएको थिए । भाइको अवस्था सामान्य थियो,’ देवेन्द्र यादवले भने,’ कारागारबाट बिरामी भएर अस्पतालल्याएका छौं भन्दै फोन आयो, अस्पताल पुग्दा मृत्यु भइसकेको रहेछ ।’ उनले कारागारमा यातना दिएका कारण निराजनको मृत्यु भएकेा बताए ।

आफन्तले कुटपिटपछि हत्या गरेको आरोप दाबी गर्दै विरोध गरेपछि प्रहरीले शव पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाएको छ । कोरोना जाँच गर्दा रिपोर्ट नेगेटिभ आएपछि पोष्टमार्टम गरी बिहीबार शव आफन्तको जिम्मा लगाएको हो ।

मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले पोष्टमार्टम रिपोर्टपछि सबै विषय खुल्ने बताए । रिपोर्ट आएपछि कुटपिट गरेको देखिए थप अनुसन्धान गरी संलग्नलाई कारबाही गर्ने उनले बताए ।

यादव लागूऔषध मुद्दामा एक वर्ष ९ महिना १९ दिन कैद फैसला भएका व्यक्ति हुन् । २०७६ फागुन ११ गते यता कारागार चलान भएका थिए ।

जिल्ला कारगार मोरङका जेलर सुवासकुमार लामिछानेका अनुसार मृतकमा छारे रोगको समस्या थियो । कारागारमा कुटपिट भए नभएको पोष्टमार्टम पछि खुल्ने उनले बताए ।

कुटपिट पछि हत्या गरेको भए छुट्टै निकाय बनाएर छानबिन हुने उनको भनाइ छ । ‘कारागारभित्र यातना दिएको थियो थिएन् यसै भन्न सकिन्न् । सबै जाँच पछि खुल्छ,’ उनले भने, ‘रिपोर्टले कुटपिट भएको देखाए छानविन गर्न सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment