१२ भदौ, काठमाडौं । ब्राजिलियन डिफेण्डर थियागो शिल्भा पेरिस सहर छाडे लगत्तै लण्डन सहर पुगेका छन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन छाडेको एक साता नबित्दै शिल्भाले प्रिमियर लिगको लण्डन क्लब चेल्सीसँग सम्झौता गरेका हुन् ।
लण्डन क्लब चेल्सीले फ्रि ट्रान्सफरमा शिल्भालाई क्लब भित्र्याएको हो । चेल्सीले ३५ वर्षीय सेन्टर ब्याकसँग एक वर्षको सम्झौता गरेको छ । यस्तै सम्झौता अनुसार अर्को एक वर्ष सम्झौता थप्न पाउने विक्लपसमेत छ ।
च्याम्पियन्स लिग फाइनलमा पेरिस सेन्ट जर्मेन बायर्न म्युनिसँग पराजित भएपछि शिल्भाले औपचारिकरुपमा पेरिसियन क्लब छाडेका हुन् ।
शिल्भाको आगमनले चेल्सीको डिफेन्स लाइन सुधारिने अपेक्षा गरिएको छ । गत सिजन चेल्सीले ५४ गोल बेहोरेको थियो ।
चेल्सीसँग सम्झौता गरेपछि सिल्भाले फ्रान्क लाम्पार्डको टिमको एक हिस्सा हुन पाउँदा खुशी भएको बताए ।
‘चेल्सीमा अनुबन्धित म एकदमै हुँदा खुसी छु । फ्रान्क लाम्पार्डको उत्साहित टिमको एक हिस्सा बन्दा म खुशी छु,’ शिल्भाले भने ।
शिल्भाले सम्मानलाई चुनौती दिन तयार रहेको र स्टामफोर्ड ब्रिजमा खेल्न तयार रहेको बताए ।
सन् २०१२ मा इटालियन क्लब एसी मिलानबाट पेरिस पुगेका शिल्भाले त्यहाँ दुई सयभन्दा बढी खेल्दै खेल्दै फ्रेन्च लिग वान ७ पटक जिते । उनले ब्राजिलका लागिसमेत ८८ खेल खेलेका छन् ।
लाम्पार्डको चेल्सीले नयाँ सिजनका लागि अनुबन्ध गरेका शिल्भा चौथो खेलाडी हुन् । केही दिनअघि मात्र चेल्सीले लेफ्ट ब्याक बेन चिलवाललाई लेस्टर सिटीबाट अनुबन्ध गरिसकेको छ । यस्तै फरवार्डद्वय हाकिम जियाच र टिमो वार्नरलाई पनि नयाँ सिजनका लागि अनुबन्ध गरिसकेको छ ।
प्रतिक्रिया 4