Comments Add Comment

विदेशमा कोरोनाबाट यो साता ३ नेपालीको मृत्यु

१४ भदौ, काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा यो साता थप ३ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता बेलायतमा १ जना र युएईमा २ जनाको मृत्यु भएको हो । योसँगै कोरोनाबाट विदेशमा मृत्यु हुने नेपालीहरुको संख्या १९५ पुगेको एनआरएनएले जनाएको छ ।

एनआरएनएका स्वास्थ्य समिति संयोजक डा. संजीव सापकोटाका अनुसार दक्षिण अफ्रिका, पोर्चुगल, स्पेन, कतार, साउदी अरब लगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको छ । अष्ट्रेलिया र युरोपका केही देशमा संक्रमणको दोस्रो लहर सुरु भएपछि नेपाली समुदायमा संक्रमण सामान्य रुपमा बढेको हो । हालसम्म विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

हालसम्म नेपालबाहेक विदेशमा मात्र ३४ हजार ७ सय १ जनामा कोरोना संक्रमण देखिएको छ । ३२ हजार ५ सय ११ जना कोरोना संक्रमणबाट मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ ।

एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम कम नभइसकेकाले थप सचेत र सावधान हुन नेपाली समुदायलाई आग्रह गरेको छ । समितिका संयोजक डा. सापकोटाले सार्वजनिक स्थल मात्रै नभई बन्द कोठामा गरिने भेला र जमघटले पनि संक्रमण बढाउने भएकाले त्यस्ता खाले कार्यक्रम कम गर्न र गर्नैपर्ने भए सीमित संख्यामा सामाजिक दुरी कायम गरेर गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment