Comments Add Comment

व्यक्ति कि प्रणाली ?

लोकतान्त्रिक शासन व्यवस्थामा राज्यका प्रत्येक कृयाकलापहरु निश्चित ‘प्रणाली’ बाट सञ्चालित हुन्छन् भन्ने मान्यता राखिन्छ । निर्धारित लक्ष्य हासिल गर्न ‘व्यक्ति’ होइन ‘प्रणाली’लाई मुख्य तत्वका रुपमा स्वीकारिएको हुन्छ ।‘व्यक्ति’ शक्तिशाली र ‘प्रणाली’ कमजोर हुनु भनेको राज्य कमजोर भएको संकेत हो ।

‘प्रणाली’कार्यविधिहरुको त्यस्तो समुच्च स्वरुप हो, जसले संगठनलाई समानरुपले स्थापित विधि र प्रकृया अनुसार निरन्तर उद्देश्य प्राप्तिमा कृयाशील राख्छ । संगठनका कृयाकलापहरुलाई स्वचालित बनाउँछ ।

असल प्रणाली स्थापना र सुदृढीकरण कुशल नेतृत्वबाट मात्र सम्भव हुन्छ । निरन्तरको असल अभ्यास र कार्यसंकृतिले ‘प्रणाली’हरु मजबुत हुँदै जान्छन् । धेरै नेतृत्वहरुको योगदानले मात्र एयटा असल ‘प्रणाली’युक्त सवल संगठन निर्माण हुन्छ । तीमध्ये केही नेतृत्वहरुले लिने ‘नवप्रवर्तनकारी सोच’ ले संगठनको समग्र प्रणालीलाई नयाँ उचाइ दिन सके त्यस्ता नेतृत्वले समाजमा विषेश छाप छोड्न सफल हुन्छन् ।

कुशल नेतृत्वमा ‘प्रणाली’ प्रतिको विश्वास र निष्ठा हुन्छ । त्यस्ता नेतृत्व प्रणालीको विकास र स्थायित्वमा हरदम प्रयत्नरत रहन्छन् । नेपालमा सवैले ‘प्रणाली’हुनुपर्दछ भन्ने तर व्यबहारमा ‘प्रणाली’ मा बस्न नचाहने र ‘व्यक्ति’ हावी हुने प्रवृत्ति छ । राजनीति र कर्मचारीतन्त्र दुवैमा ‘प्रणालि’प्रतिको विश्वास कमजोर छ । सवल प्रणालीको अभाबमा योग्यता, क्षमता र विशेषज्ञताको उपयोग हुन सकेको छैन । नेतृत्वमा ‘प्रणाली’ भन्दा ‘व्यक्ति’मा विश्वास गर्ने परिपाटी छ ।

एउटै राजनैतिक दलभित्र विभिन्न गुट उपगुटहरु हुनु, राजनैतिक नियुक्तिहरु भागवण्डाका आधारमा गरिनु, राम्रालाई भन्दा हाम्रालाई अवसर दिने प्रवृतिले ‘प्रणाली’लाई भन्दा ‘व्यक्ति’लाई प्रश्रय दिएको छ । राज्य प्रणालीप्रतिको विश्वासलाई कमजोर पारेको छ । कर्मचारीतन्त्रको अवस्थासमेत उस्तै छ । कर्मचारीको पदस्थापना, सरुवा, बढुवा जस्ता आधारभुत विषयसमेत प्रणालीका आधारमा हुन सकेका छैनन् ।

करजोर प्रणालीकै कारण शासकीय संरचनाहरु नागरिक मैत्री हुन सकेका छैनन् । वडास्तरबाट प्राप्त हुने सामान्य सेवा प्रवाहसमेत प्रकृया वमोजिम प्राप्त हुने कुरामा जनता ढुक्क हुन सक्दैनन् । ‘प्रणाली’ले काम नगर्दा सेवा प्रवाह गर्ने हरेक निकायहरुमा विचौलियाहरुको विगविगी बढेको छ । युवा पुस्तामा वितृष्णा बढ्दो छ । नेतृत्व वर्ग ‘प्रणाली’ विकासमा भन्दा क्षणिक लाभ र स्वार्थमा रमाउने संकृतिको विकास भएको छ ।

जबसम्म मुलुकको शासन व्यवस्थाका हरेक आयामलाई प्रणालीमा आधारित बनाउन सकिँदैन, तबसम्म जुनसुकै व्यवस्था आए पनि वास्तविक अर्थमा सुशासान कायम गर्न सकिँदैन भन्ने मान्यता स्थापित हुन सकेको छैन ।

नेपालका अधिकांश संगठनहरु प्रणालीमा चलेका छैनन् भन्ने आम नागरिकको बुझाइ छ । नेपालमा पद्दतिमा चलेका वा भनौं असल प्रणाली स्थापना भएका थोरै संस्थाहरुको नाम लिनुपर्दा लोक सेवा आयोगको नाम अग्रणी स्थानमा आउँछ । यो विश्वसनीय कार्यप्रणालीको छवि कसैको एकल प्रयासमा वा एक निश्चित समय सीमामा सम्भब भएको होइन । यो संस्थामा ‘प्रणाली’ बसाल्न र प्रणलीको सवलीकरणमा धेरैको योगदान छ ।

प्रत्येक नयाँ नेतृत्वले प्रणालीको विकासमा केही न केही ईंट्टा थपेका छन् । योग्यता निश्पक्षता र स्वच्छतामा असर पुग्ने कुनै कार्य हुने वित्तिकै सुधारको निर्मम उपाय अपनाइने गरेको छ।यस्ता सुधारले प्रणालीलाई अझ मजबुत बनाउँदै लगेका छन् ।

आयोगका अध्यक्ष र सदस्यहरुको सिफारिस र नियुक्ति प्रकृया राजनैतिक नेतृत्वबाटै हुने भए पनि कार्यसम्पादनमा राजनीतिको कुनै संकेत देखिँदैन । एक निश्चित प्रणालीमा चलेका संस्थामा ‘व्यक्ति’ फेरिँदैमा संस्थाको प्रभाकारिता, कार्यकुशलता र कार्यसम्पादनमा खासै फरक पर्दैन भन्ने गतिलो उदाहरण हो यो।

असल व्यक्ति र असल प्रणाली विना सुशासन र विकास सम्भव छैन । नेपालमा हरेक संगठन र नेतृत्व व्यक्तिकेन्द्रित सोचबाट बाहिर आउन र असल प्रणाली स्थापनाका लागि कृयाशील हुन जरुरी छ । यसैबाट सुखी नेपाली, समृद्ध नेपालको परिकल्पना साकार पार्न सकिन्छ

‘व्यक्ति’ कि ‘प्रणाली’ भन्ने सन्दर्भमा हाल निकै चर्चामा रहेको नेपाल विध्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विषयलाई समेत हेर्न सकिन्छ । हालकै कार्यकारी निर्देशक कुलमान घिसिङ्गकै पुनर्नियुक्ति हुनुपर्नेमा व्यापक जनदबाव छ । कुलमान घिसिङ्ग एक कुशल व्यबस्थापक हुन् भन्नेमा दुविधा छैन। उनले घन्टौं लोडसेडिङ्गको मार खेपेका जनतालाई एकाएक उज्यालो उपहार मात्र दिएनन् बर्षौंदेखि घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याए । उनको नेतृत्वमा संगठनले सेवा, व्यापार र नाफाका दृष्टिले ठूलो फठ्को मार्‍यो । उनी प्रणालीस्थापित गर्न सफल भए ।

अब जोसुकै नेतृत्व आए पनि नेपाललाई अँध्यारोमा फर्काउन नसक्ने माहोल सिर्जना गरे । यसैले उनी आम नागरिकका नजरमा प्रशंसाका पात्र बनेका छन् । उनलाई पुनः नियुक्त गर्ने वा नगर्ने अलग पाटो होला । तर, अबको मूल मुद्दा व्यक्ति होइन, प्रणालीको दिगोपनामा केन्द्रित हुनु जरुरी छ । प्रणाली विकासका कार्यहरु संस्थागत नभइसकेको अवस्था हो भने अझै उहाँलाई निरन्तरता दिनु उपयुक्त होला, अन्यथा कुलमान घिसिङ्गजस्ता कुशल व्यवस्थापकलाई अल्झाएर राख्नुहुँदैन । उनीजस्ता सफल नेतृत्वलाई अर्को कुनै समस्याग्रस्त क्षेत्रको नेतृत्व दिन सक्ने ‘प्रणाली’ विकास गर्नु पर्दछ ।

अब पनि मुलुकलाई ‘प्रणाली’विहीन अवस्थामै रहन दिने कि सवल प्रणालीहरु विकासतर्फको यात्रा सुरु गर्ने भन्ने हाम्रै हातमा छ । असल प्रणाली विकासका लागि नागरिकदेखि नेतृत्वसम्मकै सोच, शैली र व्यवहारमा परिवर्तन जरुरी छ । विकसित मुलुकहरुको अनुभव हेर्ने हो भने राज्यले गर्ने सामान्य कार्यहरु समेत प्रणालीमा आधारित बनाइएका हुन्छन् । प्रणालीको अनुशरण गर्नु प्रत्येक नागरिकले कर्तव्य र नेतृत्वले दायित्व सम्झन्छन् ।हरेक संगठनहरु ‘प्रणाली’ प्रति सजग र संवेदनशिल हुन्छन् ।

प्रणाली विकास र अनुशरणको आधार विद्यालय तहको शिक्षाबाटै सुरु हुन्छ । जापानमा ६ वर्ष भन्दा कम उमेरका बालबालिकालाई साधारण अक्षरसमेत लेखपढ गर्न सिकाइँदैन । बालबालिकालाई रुचि अनुसारका कला, खेलकुदका अतिरिक्त जिवन उपयोगी शिक्षा र ‘प्रणाली’ अनुशरण गर्न सिकाइन्छ । सडकमा कसरी हिँड्ने, बाटो कसरी काट्ने, सडकमा कोरिएका लाइन र संकेतका बारेमा शिक्षा दिइन्छ । राज्यलाई कर किन तिर्नुपर्छ भन्नेकुरा आधारभुत विद्यालय तहमै सिकाइन्छ ।

सडक, विध्युत, खानेपानी जस्ता सेवाको नियमित मर्मत सम्भार गरिने हुँदा बत्ति गयो, पानी आएन या सडक खाल्टाखुल्टी, हिलो, धुलो भयो भन्ने कहिल्यै हुँदैन । किनकि यहाँ प्रत्येक कार्य ‘प्रणाली’ मा आधारित छन् र ती स्वचालित छन् ।

त्यसैले असल व्यक्ति र असल प्रणाली विना सुशासन र विकास सम्भव छैन । नेपालमा हरेक संगठन र नेतृत्व ‘व्यक्ति’केन्द्रित सोचबाट बाहिर आउन र असल ‘प्रणाली’ स्थापनाका लागि कृयाशील हुन जरुरी छ । यसैबाट ‘सुखी नेपाली, समृद्ध नेपाल’को परिकल्पना साकार पार्न सकिन्छ ।

(लेखक हाल जापानस्थित रित्सुमेकन युनिभर्सिटी, क्योटोमा स्नातकोत्तर अध्ययन गर्दैछन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment