१५ भदौ, काठमाडौं । राष्ट्रिय स्क्वास टिमका प्रशिक्षक हिरा थापा कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । कोरोना पोजेटिभ देखिएको २४ दिनपछि थापा कोरोना मुक्त भएका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकबाट आफू कोरोना मुक्त भएको बताएका छन् । ‘अन्ततः आज बिहान मेरो कोरोना रिपोर्ट नेगेटिभ आएको छ र म परिवारसँगै घर फर्किएको छु । तर म अझै केही दिन सेल्फ क्वारेन्टिनमा बस्नुपर्नेछ’ थापाले फेसबुकमा लेखेका छन्, ‘मलाई २४ दिनअघि कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि म आफै आइसोलेसनमा बसेँ । पोजेटिभ भएपनि मलाई कुनै लक्षण देखिएको थिएन । मेरो स्वास्थ्य लाभको प्रार्थनाका लागि सबैलाई धन्यवाद दिन चाहन्छु । कृतज्ञता व्यक्त गर्न चाहन्छु ।’
गत साउन २५ गते कोरोना संक्रमण भएको पुष्टि भएपछि उनी सातदोबाटोस्थित स्क्वास संघको भवनमा सेल्फ आइसोलेसनमा बसेका थिए । संगै स्क्वास खेलेका संघकै उपाध्यक्ष मनोज बहादुर श्रेष्ठलाई कोरोना संक्रमण देखिएपछि थापाले कोरोना परीक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
हिराको प्रशिक्षणमा नेपालले गत मंसिरमा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्क्वासको टिम प्रतिस्पर्धामा महिला र पुरुष दुवै टिमले नेपालका लागि कास्य जितेका थिए ।
नेपाल पूर्व च्याम्पियनसमेत रहेका थापा २०६० सालयता राखेपमा करार प्रशिक्षकको रुपमा कार्यरत छन् ।
प्रतिक्रिया 4