Comments Add Comment

सर्प पाल्न झलनाथ खनाल प्रतिष्ठानलाई ७२ करोड

साढे ८ विघा जमिनमा सर्प पालेर विष उत्पादन गरिने

१६ भदौ, काठमाडौं । नेकपाका बरिष्ठ नेता झलनाथ खनालका नाममा खुलेको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ले सर्लाहीको लालबन्दीमा साढे ८ विघा जमिनमा विषालु सर्प पाल्ने भएको छ । सर्पको विष उत्पादन गरेर सुरुमा भारत सप्लाई गर्ने र पछि स्वदेशमै ल्याब स्थापना गर्ने प्रतिष्ठानको योजना छ ।

सर्प पालन एवं एन्टी स्नेक भेनम उत्पादन परियोजनाका लागि संघीय सरकार, प्रदेश २ सरकार र लालबन्दी नगरपालिकासँग प्रतिष्ठानले ७२ करोड रुपैयाँको परियोजनामा हस्ताक्षर गरिसकेको प्रतिष्ठानका अध्यक्ष रेवती पन्तले अनलाइनखबरलाई जानकारी दिए ।

पन्तका अनुसार झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानले सर्प पालन र एन्टी भेनम उत्पादन परियोजनाका लागि लालबन्दी नगरपालिका, प्रदेश २ सरकार र संघीय सरकारसँग ७२ करोड रुपैयाँको सम्झौता गरेको छ । सर्लाहीको लालबन्दी नगरपालिका–१ मा संस्थाले साढे ८ विघा जग्गा खरीद गरेर त्यहाँ विषालु सर्प पाल्ने तयारी अगाडि बढाएको पन्त बताउँछन् ।

सर्प पाल्नका लागि सो जग्गा प्रतिकठ्ठा साढे ३ लाख रुपैयाँका दरले टेण्डरमार्फत खरिद गरिएको पन्तले बताए । प्रतिष्ठानले किनेको यो जग्गामा तीनै तहका सरकारको लगानी छ ।

सम्झौताबमोजिम ‘एन्टी स्नेक भेनम’ उत्पादनका लागि जग्गा खरिद गरी भवनसमेत बनाउन लागिएको अध्यक्ष पन्तले जानकारी दिए । अब असोज अन्तिमसम्म भवन निर्माणको ठेक्का लागिसक्ने उनले बताए ।

अबको दुई वर्षभित्र भवन लगायतका सबै संरचनाहरु बनिसक्ने र सर्पको विष उत्पादन हुन थाल्ने पन्तले अनलाइनखबरलाई बताए । सुरुमा उत्पादित विष भारतको ल्याबमा पठाएर ‘एन्टी स्नेक भेनम’ बनाइने र त्यसपछि नेपालमै ल्याब बनाइने उनले योजना सुनाए ।

विषालु सर्पले टोकेर नेपालको तराई क्षेत्रमा हरेक वर्ष मानिसहरुको ज्यान जाने गरेको छ । सर्पले टोकेको बिरामीलाई बचाउन प्रयोग गरिने ‘एन्टी स्नेक भेनम’ सर्पकै विषबाट बनाइन्छ ।

अहिलेसम्म नेपालले ‘एन्टी स्नेक भेनम’ उत्पादन गर्न सकेको छैन र सर्पदंशको उपचारमा भारतसँग निर्भर हुनु परिरहेको छ ।

यद्यपि स्वास्थ्य मन्त्रालयले लाखौं रुपैयाँ खर्च गरेर गरेको एक अध्ययनमा नेपालमा ‘एन्टी स्नेक भेनम’ बनाउन नसकिने निश्कर्ष निकालेको पनि नेकपा सर्लाहीका नेता पन्तले सुनाए ।

यसरी जन्मियो झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान

पूर्वप्रधानमन्त्री झलनाथ खनाल २०७० सालमा इलाम र सर्लाही दुई ठाउँबाट संविधानसभाको चुनाव लडेका थिए । उनले सर्लाहीमा जितेनन् । तर, त्यहीँबाट ‘विषालु सर्प’सँग खनालको नाता जोडियो ।

विषालु सर्पले टोकेर उपचार नपाई एकजनाको मृत्यु भएको घटना नेता खनालले सर्लाहीको चुनाव प्रचारका क्रममा थाहा पाए । त्यही घटनाबाट उद्धेलित भई नेपालमा सर्प पालन गर्ने र ‘एन्डी स्नेक भेनम’ बनाउने मुख्य उद्देश्य राखी २०७१ सालमा ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’को जन्म भयो ।

अहिले नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तले यो प्रतिष्ठान हाँकिरहेका छन् ।

तत्कालीन एमालेमा मृत्यु भइसकेका नेताका नाममा प्रतिष्ठान बन्ने होडबाजी चलिरहेकै छ । मदन भण्डारी र पुष्पलालका नाममा एकपछि अर्को संस्था जन्मिएका छन् । नेता खनालले चाहिँ आफू जिउँदै हुँदाखेरि आफ्नै नाममा प्रतिष्ठान बनाएर सर्पदंश उपचारको प्रोजेक्ट अघि बढाएका छन् ।

‘जीवित नेताका नाममा पनि यसरी प्रतिष्ठानहरु बनाउने चलन विदेशमा रहेछ,’ झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष पन्तले अनलाइनखबरसँग भने, ‘खनालले पनि आफू जिउँदै हुँदा संस्थाको जग तयार भएको हेर्न चाहनुभयो र उहाँकै नाममा यो प्रतिष्ठान स्थापना भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment