Comments Add Comment

वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

२० भदौ, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पकाहामैनपुर गाउँपालिका–२ पर्साका ७५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

अस्थायी कोभिड अस्पताल गण्डकमा उपचारको क्रममा गएराति साढे ११ बजे उनको मृत्यु भएको गण्डक कोभिड अस्पतालका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

कोरोना संक्रमण पुष्टि भएपछि उनलाई भदौ ५ गते अस्थायी कोभिड अस्पताल गन्डकमा भर्ना गरिएको थियो । उनको फोक्सोको दुवैतर्फ कडा कोभिड निमोनिया देखिएको थियो । स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अवस्थामा अचानक स्वास फेर्न गाह्रो भएकोे र उपचारको क्रममा मृत्यु भएको डाक्टर सिंहले बताए ।

स्वास्थ्यमा राम्रो सुधार भइरहेको थियो । पीसीआर परीक्षण गरेर घर पठाउने तयारी हुँदै थियो । सम्भवत आज घर जानुहुन्थ्यो भन्ने थियो,’ उनले भने, ‘तर एक्कासी श्वास प्रश्वासमा समस्या आयो, अक्सिजन लगायौं, शरीरले अक्सिजन लिएन, भ्याएसम्म औषधी उपचार ग¥यौं, तर बचाउन सकेनौं ।’

योसँगै वीरगञ्जमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ । साउन यतामा मात्रै ५२ जनाको मृत्यु भएको छ । मृत्यु भएका ५६ जनामध्ये पर्साका ४० जना, बाराका १२ जना र रौतहटका ४ जना छन् । पर्सामा मृत्यु भएका दुई जनाको ठेगाना खुलेको छैन ।

नारायणी अस्पतालमा बालकको मृत्यु

वीरगञ्जमा अर्का एक बालकको पनि उपचारको क्रममा मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचारको क्रममा पर्साको बिरुवागुठी घर भएका १२ वर्षीय बालकको मृत्यु भएको हो ।

भदौ १९ गते भर्ना भएका बालकमा मस्तिस्क ज्वरो र दुवैतर्फ छातीमा निमोनिया देखिएको नारायणी अस्पतालका प्रवक्ता बरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिए ।

भदौ २० गते विहान २ः३५ मा मृत्यु भएका बालकको स्वाब संकलन गरेर पीसीआर प्रयोगशालामा पठाइएकोमा रिपोर्ट नेगेटिभ आएको प्रवक्ता डाक्टर चौरसियाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment