Comments Add Comment

संस्मरण : सम्झनामा दुखेकै छ मन 

प्रिय रोशन ! यो बर्खेझरीमा तिमीलाई धेरै सम्झिएँ । फेसबुकमा तिम्रो अजी (हजुरआमा)को श्रद्धाञ्जली देखेपछि याद आएको थियो मलाई पुराना दिनको । त्यो साँझ झरीजस्तै बर्सिएका थिए स्मृति र बिथोलिएको थिएँ मध्यरातसम्मै ।

हुन त, तिम्रो याद दिलाउने धेरै चिज छन् । अक्सर ‘मीठा पान’ खाएको बेला तिमीलाई सम्झिने गर्छु । सम्झना एक निराकार तत्त्व हो जसले वर्तमानलाई भावविह्ल बनाइदिँदोरहेछ । मुटु एकाएक हिउँदको दिनजस्तै चिसिन्छ । त्यही सम्झनाले भन्छ कि हामीले बाँचिरहेको जीवन के नै हो र ? तर यही सम्झना छ, र त जीवनले आफ्नो महत्त्व थाहा पाएको छ । निश्चय नै सम्झनाले जीवन दुख्नुपरेको छ । तर यहि सम्झना हो जसले मनलाई त्यसैत्यसै रूमानी बनाइदिन्छ ।

तिम्रो सम्झनाले अनायसै मन दुख्छ अनि आँखा रसाउन खोज्छन् । तर त्यसोभन्दैमा सम्झनालाई तगारो हाल्न सकिँदैन रहेछ ।

सायद जीवनमा पीडाको स्मरण हुँदैनथ्यो भने, कसैले निजी पीडामा लेखिएका शब्दहरू अर्कालाई आफ्नै जस्तो लाग्दैन थियो । मान्छेको स्मरण शक्ति हुँदैनथ्यो भने, यति धेरै पीडाका काव्य पनि लेखिँदैन थिए । ती पीडाका गीत अत्यधिक मीठा र मर्मस्पर्शी पनि लाग्दैन थिए । तर सम्झना भएकै कारण पीडाका गीतहरू पनि अंग्रेज कवि पीबी शेलीले भनेझैं अत्यधिक प्रिय बनेका छन् ।

तिमीले जति बाँच्यौ र तिमीले छोडेर गएको समय त्योभन्दा धेरै भइसकेको छ । तिमीले बाँचेको समयको थोरै अंशमात्र हाम्रो भेटघाटमा बितेको थियो । मैले ती भेटघाटलाई जनकपुर र नेपालगञ्ज पुग्दापनि सम्झेको छु । ती शहर इटहरीजस्तै उष्ण भएकाले तिम्रो याद आएको हैन, त्यहाँ त इटहरीमा जस्तै पान पाइन्थ्यो जो तिमीले खान सिकाएका थियौ । म त्यो दिन अझैपनि सम्झन्छु । साउनको महिना तिमी पान लिएर आएका थियौ । मलाई त्यो बेला पान पनि सुर्ती, चुरोट वा खैनीजस्तै लाग्थ्यो ।

‘जर्दा पानमात्र खतरा हुन्छ,’ हातमा पात दिँदै भनेका थियौ, ‘यो मीठा हो, गुलियो मात्र हुन्छ ।’ त्यसपछि हामीले लुकिछिपि मीठा पान खाएका थियौं । मीठा नै सही, केटाकेटीले पान खाएको राम्रो मानिँदैन थियो । त्यही भएर लुकिचोरी खाइन्थ्यो ।

तिमी एक्लैले चारजनालाई आच्छु–आच्छु पारेका थियौ । म तिम्रो छेउँमा उभिएर सोचिरहेको थिएँ कि बाह्र–तेह्र वर्षको मान्छेमा यत्ति धेरै ताकत कसरी आयो ? । तर तिमी भने अर्कै लोकमा थियौ

धरान जाने सडकबाट आइतबारे छिर्ने शाखा सडकमा भेटिन्थ्यौं हामी । आइतबार हाटबजार लाग्ने ठाउँ नै जाने बाटो भएकfले त्यसलाई आइतबारे रोड भनिन्थ्यो । त्यो बेलाका आधुनिक भनिनेले केही मान्छेले भने त्यो सडकलाई ‘सन्डे रोड’ भन्ने गर्थे । त्यही सडकको उत्तरपट्टि मेरो फुपूको घर थियो, अनि दक्षिणपट्टि तिम्रो अजाअजी (हजुरबा–हजुरआमा) बस्थे । तिमी भवानीपुरबाट अक्सर बिदाको समय इटहरी आउँदा हामी भेटिन्थ्यौं । पहिलोचोटी पान खाएको समय निकै लामो समय इटहरी बसेका थियौँ ।

(त्यो बेला इटहरी गाउँ विकास समिति थियो, अहिले उपमहानगरपालिका भएको छ अनि भवानीपुरलाई पनि आफैँभित्र समेटेको छ ।)

भवानीपुर र इटहरीको दुरी त्यति लामो हैन । तर त्यो समय सार्वजनिक यातायातकै भर पर्नुपर्ने समय थियो । त्यही कारण आठ–नौ किलोमिटरको यात्रा पनि टाढै मान्नुपर्थ्यो । उसमाथि तरहराबाट भवानीपुर भित्री गाउँ पर्ने हुनाले हिँडेरै यात्रा गर्नुपर्थ्याे । तर अहिले इटहरीमात्र हैन, तिम्रो भवानीपुर पनि शहर भइसक्यो । अफसोच, तिमीले बदलिएको इटहरी र भवानीपुर देख्न पाएनौ ।

तिमीले शुभकामनासहित पठाएका पोष्टकार्डहरू हराए । दिव्या भारतीको तस्वीर पछाडि नीलो अक्षरले लेखिएका शुभकामनाका शब्दहरू अनि पुछारमा लेखिएको ‘रोशन श्रेष्ठ’ धुमिल सम्झना छ । दिव्या भारतीको त्यो तस्वीर आजकल गुगलमा भेटिन्छ । बलिउडमा ठूलो सम्भावना बोकेकी दिव्याले किशोरकालमा दुनियाँ छोडेझैं, तिमीले पनि चाँडै दुनियाँ छोड्यौ । तिमी जीवित भएपनि हामी सँगै हुन्थ्यौँ भन्ने ग्यारेन्टी त थिएन । यद्यपि, कुनै न कुनै माध्यमबाट जोडिएको हुन्थ्यौं होला । आजकल छुटेर गएका धेरै साथीहरू फेसबुकमा भेटिएका छन् । सायद फेसबुकमा भएका साथीहरूको सूचीमा तिम्रो पनि नाम हुन्थ्यो होला । बेलाबेला तिम्रो सम्झनाले मन बिथोलिँदैन थियो ।

हाम्रो विद्यालय एउटै थिएन । कक्षा पनि मिल्दैन थियो । सँगै बस्दैनथ्यौं । बिदाको समय तिमी अजाअजी भेट्न आउँदा हाम्रो चिनजान भएको हो । अनि अरू भेट पनि विदाका बेला आउँदा नै हुन्थ्यो । अक्सर बर्खामा असार–साउन र हिउँदमा मंसिर–पुसमा हाम्रो भेट सघन हुन्थ्यो । बर्खाको समय साँझपख डर मान्दै नेपाल बैंक भएकोतिर टहलिन जान्थ्यौं । अनि फर्किदा कहिलेकाहीँ पान खान्थ्यौं । अरूले थाहा नपाउन् भनेर पानभित्रको सुपारी छिटो–छिटो चपाउथ्यौं । हामीले पान खाने घुम्ती पसल विस्थापित भएको धेरै भइसक्यो । नेपाल बैंकका वरिपरी अहिले घरघरै छन् जहाँ साँझ टहलिन डर लाग्दैन ।

हाम्रो पछिल्लो भेट ५३ सालको मंसिरतिर भएको थियो । तिमी इटहरी आएर फेरि भवानीपुर फर्किन लाग्दै थियौ । बिहान आएर फर्किन लागेको रहेछौ । मैले फर्किने बेलामा मात्र भेटेँ । उदास भएर भनेका थियौ, ‘भानु, मेरो त पुरानो व्यथा बल्झिएला जस्तो छ ।’

त्योबेला मैले के जवाफ दिएँ, थाहा छैन । तर, तिम्रो कुराले निकै दुःखी भएको थिएँ । म पनि त्यही सालको माघ महिना ताप्लेजुङ फर्किए । अनि ताप्लेजुङ बसेर पढ्दा, ५७ सालमा तिम्रो जस्तै बिराम भएको एक साथी देखेको थिए । तर, एउटै जस्तो देखिएपनि तिम्रो र उसको बिराममा केही फरक थियो । उसले निरन्तर होश गुमाउँथ्यो । तर, तिमी बेलाबेला मात्र वास्तविक संसारभन्दा अन्त जान्थ्यौ ।

तिमी बिराम हुँदाको पहिलो दृश्य म अझै पनि सम्झिन्छु । तिम्रो हजुरबुबाको घरमा केही मान्छे अत्तालिरहेको घरैबाट देखेर म पनि अत्तालिँदै त्यतैतिर दौडिएँ । टाँड भएको घरको दुईवटा भर्याङ हावाको गतिमा ओर्लिएको थिएँ । अनि तिम्रो अजाको घरको भर्याङ पनि त्यहि रफ्तारमा उक्लिएँ । त्यहाँ पुग्दा देखेको दृश्य अझै पनि विश्वास लाग्दैन ।

चारजना बलिया मान्छेले भुइँमा लडाएर तिम्रो हातखुट्टा थिचेका थिए । तिमी एक्लैले चारजनालाई आच्छु–आच्छु पारेका थियौ । म तिम्रो छेउँमा उभिएर सोचिरहेको थिएँ कि बाह्र–तेह्र वर्षको मान्छेमा यत्ति धेरै ताकत कसरी आयो ? । तर तिमी भने अर्कै लोकमा थियौ । तिमी कुन संघर्ष थियौ थाहा छैन तर तिम्रो शरीरमात्र त्यहाँ थियो । तिम्रो मस्तिष्क अर्कै लोकमा विचरण गरिरहेको थियो ।

‘आयो, आयो, आयो ! मलाई खुकुरी दे । यसलाई छिनाइदिन्छु !’

तिमीले काम्दै उठ्न खोज्दै भनेको अहिलेजस्तो लाग्छ । छेउमा उभिँदा तिमीलाई कति गाह्रो भएको होला भनेर सोचिरहेको थिएँ । अहिले पनि त्यस्तै याद आउँछ । सायद तिमीले अर्कै लोकमा अजङ्गको जीवसँग संघर्ष गरिरहेका थियौ । केसँग संघर्ष गर्यौ भनेर सोध्ने आँट आएन । त्योबेला तिम्रो त्यो संघर्ष मेरोलागि रहस्य थियो र रहस्य नै भएर गयो ।

चिकित्सा विज्ञानले तिम्रो बिरामलाई खै के भन्ला ? तर धामीझाँक्रीले अनेक अनुमान लगाए । भूतप्रेत मन्साउने काम भयो । चुँडेलको कथा त निकै सुनेको थिएँ तर चुँडेल मन्साएकोचाहिँ त्यहीबेला देखेँ । तिम्रो बुढी औँलामा सेतो धागो बाधेर भर्याङ्गको उपल्लो भागमा राखियो । तिम्रो औँलामा बाँधिएको सेतो धागो तानेर पुजारी अछेता र धुपसँग भर्याङ्गको तल्लोभागमा बसेको थियो । तिमीलाई तारन्तार मेडिकल पनि लगिन्थ्यो । तिमी औषधिले ठीक भयौ वा धामीझाँक्रीले ठीक पार्यो त्यसको स्पस्ट आधार थिएन । तर तिमी ठीक भएर धेरै जनालाई खुशी बनाएका थियौ ।

म ५८ सालमा क्याम्पस पढ्न फेरि इटहरी झरेँ । तर तिम्रोबारे सुनेको खबरले पूरै इटहरी बिरानो लाग्यो । तिमी संसारमा नरहेको कुरा मैले विश्वास गर्ने सकिनँ । पछि सञ्चार क्षेत्रमा काम गर्दै जाँदा, सञ्चारकर्ममै रहेका तिम्रो गाउँका मान्छेहरू भेटिए । उनीहरूले तिम्रो मृत्युको कारण बताउँदा अझ दुःख लाग्यो । प्रिय रोशन, डरले तत्काललाई केही कुराबाट जोगाउँछ । साथै डरको कारण कति कुरा लुकाउँदा धेरै कुरा चुकाउनु पर्दोरहेछ । सायद कुकुरले तिमीलाई टोकेको कुरा बुबाआमालाई बताउन साहस गरेको भए, पछि बिराम बल्झिदैन थियो होला । बिराम नबल्झिएको भए तिमी जीवित नै हुन्थ्यौ जसरी अरू साथीहरू छन्, म छु ।

हुन त त्यो समय नै त्यस्तो थियो र आजपनि पूरै बदलिएको छैन । छोराछोरी नबिग्रिउन् भनेर डर देखाउने चलन थियो । आजकल कतिले अभिभावकले छोराछोरीलाई डर देखाउनुहुँदैन भन्ने कुरा बुझेका छन् । तर कतिले अझै बुझेका छैनन् जसले अकल्पनीय दुर्घटना पनि निम्त्याउन सक्छ ।

जागिरका क्रममा म जनकपुरमा धेरैचोटि गएँ । त्यहाँको चिया र पान असाध्यै मन पर्थ्यो । जागिरे जीवनकै क्रममा नेपालगञ्जको प्रचण्ड गर्मीमा पनि मैले १६ महिना बिताएँ । त्यहाँ मीठापान निकै खाइयो । मीठापान कहिलेकाहीँ काठमाण्डौमा पनि खाइन्छ । कहिलेकाहीँ लाग्छ कि तिमी र मैले बाल्यकालमा जति प्रेमले मीठा पान खायौ त्यति प्रेमले कसले खान्छ होला ? वा अहिले तिमी हुन्थ्यौ त, इटहरी आउँदा भेट हुन्थ्यो होला । अनि मीठापान खाइन्थ्यो । अब यी सबै मनमा खेल्ने कुरामात्र हुन् ।

प्रिय रोशन, तिम्रो अजिको मृत्युले फेरि पुराना दिनहरू सम्झाए । त्यो साँझ निकै भावुक भएर सोचेँ– कि अजम्बरी कोही छैन । धर्तीमा मान्छे केही समय आफैं बाँच्दोरहेछ । अनि बितेपछि उसलाई चिन्ने र माया गर्नेको स्मृतिमा बाँच्दोरहेछ । तर कसैलाई सम्झने जीवन पनि अमरअजर कहाँ छ र ?

यसैले त सम्झिने र सम्झना बन्ने श्रृंखला चलिरहँदो रै’छ जीवनमा !

(बोखिम ‘रुमानी साँझ’ कथासंग्रहका लेखक हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment