
२० भदौ, बुटवल । बुटवल उपमहानगरपालिकाले मिर्गौलाको डायलासिस गराउने बिरामीको निःशुल्क पीसीआर परीक्षण सुरु गरेको छ ।
डायलासिस गराउनु अघि कोरोना संक्रमण भए/नभएको यकिन गरिने भएकाले उपचारमा सहज होस् भनेर उपमहानगरले नै निःशुल्क परीक्षण सुरु गरेको हो ।
बुटवलमा स्थायी बसोबास गर्ने, उपचारका लागि आएका वा बुटवलमै डेरा गरेर बस्दै आएका मिर्गौलाका सबै बिरामीहरुलाई कोरोना परीक्षण निःशुल्क गर्न लागेको उपमहानगरका प्रमुख शिवराज सुवेदीले बताए ।
स्वाब संकलन गरिने स्थानसम्म पुग्न नसक्ने अवस्थाका बिरामीलाई बसेको स्थानै पुगेर परीक्षण गर्ने गरी काम सुरु भएको उपमहानगरले जनाएको छ । निःशुल्क पीसीआर परीक्षणका लागि अस्पतालहरुमा डायलासिस गराइरहेको कागजात वा डेरा गरेर बसेको वडा कार्यालयको सिफारिस देखाउनु पर्ने छ ।
बुटवल र आसपासमा बसेर विभिन्न अस्पतालमा डायलासिस गर्ने बिरामीको संख्या करिब ६ सय रहेको छ । कोरोना महामारीको बेलामा सबै बिरामीको नियमित डायलासिसअघि डेढ महिनामा दुई पटक पीसीआर गर्नुपर्ने मापदण्ड तोकिएको छ ।
डायलासिसका बिरामीको निःशुल्क पीसीआर परीक्षणका लागि १९ वटै वडा कार्यालयलाई निर्देशन जारी गरिएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिए ।
डायलासिस गराउनेमा सबैभन्दा धेरै बुटवलको गौतमबुद्ध सामुदायिक मुटु तथा मिर्गौला अस्पतालमा जाने बिरामी छन् । त्यहाँमात्रै करिब तीन सय जनाको नियमित डायलासिस हुने गरेको अस्पतालका अध्यक्ष एजाज आलमले बताए ।
प्रतिक्रिया 4