+
+

नेपालीहरुले दिए अष्ट्रेलियाको तास्मानिया कोरोनामुक्त भएको सन्देश

प्रतीक सिग्देल प्रतीक सिग्देल
२०७७ भदौ २१ गते १४:४८

तास्मानिया । अष्ट्रेलियाको भिक्टोरिया र न्यु साउथ वेल्स राज्यमा बसोबास गर्नेहरु कोरोना संक्रमण नियन्त्रणका लागि घोषणा गरिएको संकटकाल र लकडाउनका कारण महिनौदेखि घरमै बस्न बाध्य छन् ।

उक्त राज्यका मानिसहरुलाई केही सीमित संख्यामा बाहेक विनाकारण ठूलो संख्यामा भेला हुन मनाही छ । तर त्यसको ठीक विपरीत, अष्ट्रेलियाकै तास्मानिया राज्यमा भने करिब चार महिनादेखि समुदायस्तरमा संक्रमण नदेखिएका कारण ठूलो संख्यामा भेला हुन, कार्यक्रम गर्न कुनै बन्देज छैन ।

यसैबीच लन्चेस्टनमा बसोबास गर्ने नेपालीहरुले यही आइतबार ‘पोस्ट कोभिड मिट एण्ड ग्रिट’को आयोजना गरेका छन् । करिब १५० जनाको संख्यामा सहभागी नेपालीहरुले बारबिक्यु, खेलकुद तथा मनोरञ्जनका कार्यक्रम गरी तास्मानिया राज्य कोरोना संक्रमणबाट मुक्त छ भन्ने कुराको सन्देश दिए ।

कोरोना महामारीका बीच अष्ट्रेलियाभरीका नेपाली समुदायले गरेका कार्यक्रममध्ये लन्चेस्टनको यो कार्यक्रम सहभागी संख्याका आधारमा सम्भवतः सबैभन्दा ठूलो हो ।

कोरोनाको संक्रमण शून्य भएपश्चात नेपाली सोसाइटी अफ नर्दन तास्मानियाले स्थानीय काउन्सिलको सहमतिमा उक्त कार्यक्रम आयोजना गरेको थियो ।

कुनै डर र त्रासविना कार्यक्रममा सहभागी नेपालीहरु धेरै समयपछि सामुदायिकस्तरमा भेला भएका कारण होला, सबैका मुहारमा खुशी र उमंग देखिन्थ्यो । बालबालिकाहरु पनि आफ्ना साथीहरुसँग खुला मैदानमा खेल्न पाउँदा हर्षित थिए ।

‘धेरै समयपछि सबैजना साथीभाइसँग सहभागी भई यसरी रमाइलो गर्न पाउँदा निकै खुशी लागेको छ,’ एक सहभागीले अनलाइनखबरलाई बताए ।

‘संसारमा यस्तो ठाउँ कमै होला जहाँ महामारीको समयमा पनि यति ठूलो संख्यामा भेला भएर रमाइलो गर्न पाइन्छ,’ युवायुवतीहरु एकअर्कासँग गफिँदै थिए, ‘हामी त भाग्यमानी पो रैछौं ।’

महामारीका कारण धेरै समयसम्म घरमा गुम्सिएर बसेका लन्चेस्टनका नेपाली समुदायलाई मनोरञ्जनात्मक कार्यक्रममा सहभागी गराएर ‘फ्रेस’ गराउनु उक्त कार्यक्रमको मुख्य उद्देश्य रहेको सोसाइटीका अध्यक्ष ओमकुमार मगरले अनलाइनखबरलाई बताए ।

स्थायी भिसाको प्रकृयामा पछिल्लो समय लन्चेस्टनमा उल्लेख्य संख्यामा नेपाली विद्यार्थीहरु आएको र उनीहरु पनि एक अर्कासँग परिचित होउन भन्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको उनले बताए ।

गत जुन महिनादेखि तास्मानियामा कोरोना भाइरसको एउटा बाहेक कुनै पनि संक्रमण देखिएको थिएन । उक्त एकजना पनि गत महिना निको भएर घर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?