Comments Add Comment

कांग्रेस महाधिवेशन : नीतिमा मौनता, नेतृत्वमा हल्लाखल्ला

चौधौं महाधिवेशनपछि कसले हाँक्ला कांग्रेस ?

नेपाली कांग्रेसको नेतृत्वले कोभिडका कारण महाधिवेशनको समय आफ्नो प्रतिकुल हुने देखेको छ । तर, ०७७ फागुनमा निर्धारित १४ ‍औं महाधिवेशनको कार्यतालिका फेरबदल भएको छैन । तथापि निर्धारित मितिमै महाधिवेशन सम्पन्न हुनेमा भने अझै संशय छ ।

लकडाउन र निषेधाज्ञामा नेताहरु फुर्सदिला भएकैले हुन सक्छ, केन्द्रीय तहमा नेतृत्वको होडबाजीले उत्कर्ष नाघेको छ । सभापतिमा उम्मेदवारी घोषणा गर्ने लहर पनि नेपाली कांग्रेसभित्र चलिसकेको छ ।

महाधिवेशनको प्रारम्भिक तयारी स्वरुप गाउँ /गाउँमा पठाइनुपर्ने क्रियाशील सदस्यता र विधानअनुसार गरिनुपर्ने तल्ला कमिटीहरुको समायोजन भएकै छैन । यहीवीचमा पार्टी संस्थापन पक्षले केन्द्रीय विभागहरुलाई पूर्णता दिएको छ । यसबाट पार्टी संस्थापन पक्षले पार्टी कब्जा गर्ने नीति लिएको भन्दै उक्त कदम नसच्याए आमरण अनसन बस्ने सम्मको चेतावनी संस्थापन इतर पक्षले दिइरहेको छ ।

तेह्रौं महाधिवेशनका प्रतिनिधिबाटै चौधौं महाधिवेशन सम्पन्न गर्ने नेता रामचन्द्र पौडेलको प्रस्ताव र युवाहरुलाई पार्टीमा जोड्नका निम्ति पनि चौधौं महाधिवेशनपूर्व युवालाई प्राथमिकतामा राखिनुपर्ने संस्थापन पक्षका नेता विमलेन्द्र निधीको भनाइले महाधिवेशनको बहसलाई सघन बनाएको छ ।

कसले हाँक्ला कांग्रेस ?

पार्टी सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको संस्थापन समूह, नेताद्वय रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले नेतृत्व गरेको संस्थापन इतर दुई समूह गरी कांग्रेसमा तीन समूह विद्यमान छन् ।

सिटौलाको समूहबाहेक देउवा समूहबाट नेता निधीले आफू पार्टी सभापति बन्ने मनसुवा प्रकट गरिसकेका छन । निधि सभापतिका प्रत्यासी बन्ने हो भने म चाहिँ के कम भन्दै देउवा पक्षीय अर्का नेता गोपालमान श्रेष्ठले पनि दाबी गर्न थालेका छन् ।

पौडेल समूहभित्र पनि आजका मितिमा रामचन्द्र पौडेल सर्वसम्मत छैनन् । नेताद्वय डा. शशांक कोइराला र डा. शेखर कोइराला दुबैले सभापतिमा दाबी गरेका छन् । पौडेल समूहभित्रै अर्का नेता प्रकाशमान सिंहको पनि तयारी पार्टी सभापतिकै लागि छ ।
यसरी हेर्दा देउवा र पौडेल दुवै समूहभित्र आकांक्षीको व्यवस्थापनको पाटो जटिल देखिन्छ ।

तेह्रौं महाधिवेशनका सभापतिका प्रत्यासी सिटौला भने आफंै लड्न चाहँदा उनको समूहभित्र अन्य प्रत्यासी देखिँदैनन् । गगन थापा, प्रदीप पौडेल, उमाकान्त चौधरीजस्ता युवा नेताहरु सिटौलातिरै रहे पनि सभापतिमा उनीहरुको कसैको दाबी देखिँदैन ।

सभापतिका सम्भावित उम्मेदवार देउवालाई रोक्न पौडेल-सिटौला समूहवीच विश्वासयोग्य वातावरणको खाँचो छ, जुन आजका मितिमा बनिसकेको छैन । रामचन्द्र पौडेलका पछिल्ला अभिव्यक्तिहरुले पनि सिटौल्ााप्रति तिक्तता कायमै रहेको देखाउँछ ।
अर्कातिर, देउवा समूहभित्रैबाट निधीको सम्भावित उम्मेदवारीले संस्थापन इतरमा केही हदसम्म उत्साह संचार गरे पनि महाधिवेशनसम्मै निधीको उम्मेदवारी टिकिरहन सक्नेमा शंकै छ ।

सभापति देउवासँग दर्जनांै मुद्दामा असहमत रहेर पनि देउवासँगै रहेका र देउवाको पार्टी कब्जाको नीतिमा पनि देउवालाई नै साथ दिँदै आएका निधीले देउवाबाट विद्रोह गरिहाल्ने आँट गर्न नसक्ने बुझाइ संस्थापन पक्षकै नेताहरुको छ ।

बाबु महेन्द्रनारायण निधीको विरासत र नेता प्रदीप गिरीको बैचारिक साथबाहेक मधेसमा समेत आफ्नो लोकप्रियता खस्कँदै गएको राम्रैसँग बुझेका निधिले पार्टीभित्रको राजनीतिक खपतका लागि सभापतिमा दाबी प्रस्तुत गरेको बुझाइ संस्थापन पक्षकै नेताहरुको छ ।

उता रामचन्द्र पौडेलको हकमा पनि देउवाले पार्टीलाई विधि र पद्दतिभन्दा बाहिर लगेर चलाउँदा पनि दरिलो अंकुश लगाउन नसकी सभापति देउवालाई वेलगाम घोडा बन्न दिएको आरोप लाग्ने गरेको छ । नेबिसंघ जस्तो संस्थामा विधान मिच्न देउवालाई पौडेलले नै उक्साएको आरोपको समेत लाग्ने गरेको छ । यी आरोपहरुको पौडेलले खण्डन गर्न सकेका छैनन् । ‘मेरो यो अन्तिमपटक हो’ भन्ने बाहेक पार्टी रुपान्तरणको बैकल्पिक मार्गचित्र देउवाको कार्यकालभरि पौडेलले प्रस्तुत गर्न सकेनन् ।

आजका मितिसम्म पनि स-साना कुरामा फुरुङ्ग हुने र सानै कुरामा चित्त दुखाउने प्रवृत्तिलाई कांग्रेस भित्र ‘पौडेल प्रवत्ति’ भनेर पनि बुझ्ने गरिन्छ ।

पौडल-सिटौला समूहको चर्चा गर्दा पौडेल समूहभित्रै पनि नेताहरुका वीच एकतामा जोड दिँदै आएका नेता अर्जुननरसिंह केसी स्वयं पनि पौडेलको हल्काफुल्का टिप्पणी गर्ने बानीले संस्थापन इतर पक्षमा बेमेल देखिएको बताउँछन् । र, यसको फाइदा सभापति देउवाले प्राप्त गर्ने सम्भावना देखिएको केसीले बताउने गरेका छन् ।

उता नेता सिटौलाले भने आफ्नो समूहलाई अझै विस्तारित रुप दिँदै महाधिवेशनमा होमिने बताइसकेका छन् । तर, क्षेत्रीय अधिवेशन सम्पन्न नहुँदै सभापतिका आकांक्षीहरुको नाम बाहिर आउनुले महाधिवेशनलाई निष्पक्षता दिन नसक्ने बुझाई सिटौला पक्षको छ ।

तथापि कोभिडकै कारण घरबाट बाहिर निस्कन नसकेका नेताहरुले आफ्नो उम्मेदवारी प्रस्तुत गर्ने मञ्चका रुपमा सामाजिक सञ्जाल, मूलधारका मिडिया र भर्चुअल बैठकहरुलाई बनाउँदै आएका छन् ।

यसरी हेर्दा नेपाली कांग्रेसको केन्द्रीय तहमा नेतृत्वबारे मिहीनरुपमा जोड घटाऊ राम्रैसँग प्रारम्भ भैसकेको देखिन्छ । ग्रामीण तहमा सुनसान नै रहे पनि केन्द्रीय तहमा महाधिवेशनको निकै हल्लीखल्ली सुरु भएको कांग्रेसलाई आगामी महाधिवेशनपछि कसले हाँक्ला ?

आजका मितिसम्म यसको तस्वीर स्पष्ट छैन । विचार बोकेको भनिएको सिटौला समूह सानो छ । बहुमतप्राप्त देउवा समूह विधि र पद्दतिअनुसार चल्न सकेको छैन । पार्टीमा प्राविधिकरुपमा दोस्रो बलियो देखिएको पौडेल समूहभित्र आफंैमा बेमेल र अविश्वास छ ।

तसर्थ, महाधिवेशनको माहौल निर्माण हुँदै गर्दा जोडिने ‘गठजोड’ले कसको कता पल्ला भारी हुने हो, त्यसैले कांग्रेसको भावी दिशा तय गर्छ ।

सभापतिपछि दोस्रो महत्वपूर्ण पोजिसन मानिने महामन्त्री पदका आकांक्षीका कारण पनि महाधिवेशनको माहौल तात्दै गएको छ । महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, नेता गगन थापा, बालकृष्ण खाँड, विश्वप्रकाश शर्मा, डा. मिनेन्द्र रिजाल, प्रदीप पौडेल र चित्रलेखा यादवदेखि ज्ञानेन्द्रबहादुर कार्कीसम्मको दाबी महामन्त्रीमै देखिन्छ ।

समयक्रमले महामन्त्रीको दावीबाट को पछि हट्ने हुन् वा समूहगतरुपमा को कहाँ पुग्ने हुन्, त्यसको अहिले नै लेखाजोखा गरिहाल्न गाह्रो छ । तथापि बैचारिकरुपमा सपाट ब्यक्तिलाई महामन्त्रीजस्तो जिम्मेवार तहमा छनोट गर्न नसक्दा पार्टीको ओझमा तुवाँलो लाग्ने निश्चित नै छ ।

यी नेताहरुले नेतृत्वका निम्ति अरु कसैको मुख ताक्नु स्वयं आफंैमा पनि दुर्भाग्यपूर्ण सावित हुनेछ । मुलुकमा प्रजातन्त्र हुँदै गणतन्त्र स्थापनामा अब्बल मानिएको पुस्ताले नेतृत्वमा पुग्ने सन्दर्भमा पार्टी नेताको सहारा नलिई विचारका आधारमा आफूलाई उभ्याउन सक्दा मात्र कांग्रेसले परिवर्तनको झण्डा उठाउन सक्छ । मुलुकमा देखिएको वामपन्थीको बेगलाई रोक्ने हैसियत निर्माणका निम्ति पनि कांग्रेसको नेतृत्व बैचारिक र क्रियाशील नेताहरुका हातमा पुग्नु अनिवार्य शर्त हो ।

पुस्तान्तरणको मुद्दा

नेपालमा पछिल्लो समय नेपाली कांग्रेस, नेकपालगायत अस्तित्वमा रहेका राजनीतिक दलभित्र मजबुतरुपमा उठ्दै आएको मुद्दा हो पुस्तान्तरण । तर, युवाहरुको उक्त मुद्दामा युवा स्वयं नै संगठित हुन नसक्दा नेतृत्वमा भने ७० को हाराहारीका नेता मात्रै पुग्दै आएका छन् ।

उमेरले परिपक्व हुँदैमा विचारमा शून्यता भैहाल्ने त होइन । तर, पनि नेपालका सन्दर्भमा भने कांग्रेस, नेकपा दुवैको नेतृत्व तहका ब्यक्तिमा देखिएको विचार शुन्यताले भने उमेरसँगै विचारमा पनि शून्यता हुने रहेछ भन्ने कुराको पुष्टि हुँदैछ ।

पुस्तान्तरणको मुद्दा वास्तवमा पार्टीलाई बैचारिकरुपमा अगाडि बढाउनका निम्ति हुनुपर्ने हो । तर, आजको मितिमा पुस्तान्तरणको मुद्दा केवल नेतृत्वमा पुग्ने दाबी प्रस्तुत गर्ने बाहाना मात्रै बन्न पुग्यो ।

अस्तित्वमा रहन चाहने राजनीतिक दलप्रतिको आकर्षण बढाउने माध्यम उक्त दलले अवलम्बन गर्ने नीति र प्रस्तुत गर्ने विचारले हो । कांग्रेसको सन्दर्भमा नेतृत्वले पार्टीलाई कति विचारप्रधान बनायो त ? यो विषयको जोडघटाउ महाधिवेशनपूर्व हुन जरुरी छ ।

कांग्रेसमा गगन थापा, प्रदीप पौडेल, विश्व प्रकाश शर्मा, उमाकान्त चौधरी, बद्री पाण्डे, जीवन परियार, प्रकाश स्नेही, किरण पौडेल, कुन्दनराज काफ्ले, उदयशम्शेर राणा, कल्याण गूरुङ, सरिता प्रसाई, नीमा लामा, गुरुराज घिमिरे, नैनसिंह महर, कर्ण मल्ल, महेन्द्र यादव, रामकृष्ण यादव, भीम पराजुली, भेषराज आचार्य, विश्वदीप लिङदेन, भीष्मराज आङदेम्बे, डा.चन्द्रमोहन यादव, भुपेन्द्रजंग शाही, किरण यादव जस्ता सैयौं युवा नेता छन् ।

नेपाली समाजको तिब्र रुपान्तरणसँगै परम्परा र आधुनिकताको लडाइँमा आधुनिकताको पक्षमा आफूलाई अब्बल सावित गर्नुपर्ने युवा पुस्ताका यी नेताहरु स्वयंले पनि विचारको बहसका सन्दर्भमा आफूलाई खरो सावित गराउन सक्नुपर्छ ।

युग सुहाउँदो कांग्रेस निर्माण भनेको विचारबाट नै हो । पार्टीका युवा नेताले आगामी २० देखि ५० वर्षसम्मको मुलुक र पार्टी सञ्चालनको मार्गचित्रसहितको नेतृत्वका निम्ति दाबी प्रस्तुत गर्ने उपयुक्त समय हो यो ।

माओवादी द्वन्द्वकै समयमा मारिएका बाबुलाई ‘सञ्चै छ ?’ भन्ने बासी विचारसहितको नेतृत्व आजको आवश्यकता होइन । कांग्रेसकै अगुवाइमा जारी संविधानमा उल्लेखित समाजवादका बारे धारणादेखि कोभिडका कारण खाडीबाट फर्किएका दशौं लाख युवाका बारेमा सोच्ने नेतृत्व आजको आवश्यकता हो । आधुनिक कृषि, पर्यटन, उद्योग र ठप्प बन्न पुगेको शिक्षाबारे पुस्तान्तरणको मुद्दा उठाउने कांग्रेसका युवा नेताले आफूलाई कहाँ उभ्याएका छन् भन्ने सवाल महत्वपूर्ण छ ।

यी र यस्तै दर्जनौं प्रश्नको उत्तरसहितको नेतृत्व आजको आवश्यकता हो । जुन नेतृत्व चयनका निम्ति देशैभरका कांग्रेस कार्यकर्ता वेचैन छन् । अन्यथा, कार्यकर्तालाई विचारले प्रशिक्षित गर्नै नसक्ने र प्राविधिकरुपमा नेतृत्व चयनमा मात्रै कांग्रेस जाने हो भने कांग्रेसभन्दा समय दुई कदम अगाडि नै बढ्ने छ ।

(आचार्य नेपाली कांग्रेसका युवा नेता हुन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment