Comments Add Comment

रामोसको दुई गोलमा स्पेनको शानदार जित, फातीले बनाए ‘योङ्गेष्ट स्कोरर’को कीर्तिमान

२२ भदौ, काठमाडौं । सर्गियो रामोसको दुई गोल र अंशु फातीको कीर्तिमानी गोलमा स्पेनले यूईएफए नेशन्स लिगमा युक्रेनमाथि शानदार जित हात पारेको छ ।

लिग ए को समूह ४ अन्तर्गत आइतबार राति भएको खेलमा स्पेनले युक्रेनलाई ४-० ले पराजित गरेको हो ।

उक्त खेलमा गोल गर्दै फातीले ९५ वर्षको पुरानो कीर्तिमान तोड्दै स्पेनका लागि सबैभन्दा कम उमेरमा सिनियर टिमबाट गोल गर्ने खेलाडी बने । उनले १७ वर्ष ३ सय ११ दिनको उमेरमा स्पेनका लागि गोल गर्न सफल रहे ।

फाती च्याम्पियन्स लिगको इतिहास र स्पानिस लिगमा समेत सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी हुन् । पहिलो रोजाइमा मैदानमा उत्रिएका फाती नेसन्स लिगमा प्लेइङ सेटमा रहेर खेलको सुरुवात गर्ने सबैभन्दा युवा खेलाडी बनेका छन् ।

गिनी बिसाउमा जन्मिएका फाती ५ वर्षको उमेरमा परिवारसहित स्पेन आएका हुन् । ८४ वर्षको इतिहासमा उनी स्पेनका सबैभन्दा कम उमेरका खेलाडी बनेका छन् । पछिल्लो बिहीबार मात्र उनले जर्मनीविरुद्धको खेलमा डेब्यु गरेका थिए ।

जुआन एराजुकिनले सन् १९२५ मा १८ बर्ष ३ सय ४४ दिनको उमेरमा स्विटरल्याण्डबिरुद्ध सबैभन्दा कम उमेरमा गोल गरेका थिए ।

गत आइतबार बुल्गेरियाबिरुद्ध वेल्सबाट खेलेका एथम अमपादु सबैभन्दा कम उमेरमा नेसन्स लिगको प्लेइङ सेटमा रहेर खेलको खुरुवाती गर्ने खेलाडी थिए । उनले सन् २०१८ मा १७ वर्ष ३ सय ५८ दिनको उमेरमा रिपब्लिक अफ आयरल्याण्डविरुद्ध डेब्यु गरेका थिए ।

खेलमा तेस्रो मिनेटमै पेनाल्टीमा गोल गर्दै रामोसले गोल गर्दै अग्रता दिलाएका थिए । २९औं मिनेटमा रामोसले नै गोल गर्दै स्पेनको अग्रता दोब्बर पारे । फातीले ३२औं मिनेटमा गोल गर्दै स्पेनको अग्रता तेब्बर पारे । यस्तै खेल सकिन ६ मिनेट बाँकी रहदाँ म्यानचेष्टर सिटीका फेरान टोरेसले स्पेनका लागि चौथो गोल गरेका थिए ।

पहिलो लमा जर्मनीसँग बराबरी खेलेको स्पेनले जितपछि समूह ४ मा ४ अंक जोड्दै शीर्ष स्थानमा छ । पहिलो खेलमा स्वीट्जरल्याण्डलाई पराजित गरेको युक्रेन ३ अंकसहित दोस्रो स्थानमा छ ।

अर्को खेलमा जर्मनी र स्वीट्जरल्याण्डले १-१ को बराबरी खेलेका छन् । लगातार दुई बराबरी खेलेको जर्मनीको २ अंक मात्र छ । खेलको १४औं मिनेटमा इकाए गुन्डागोनले गोल गर्दै जर्मनीलाई पहिले अग्रता दिलाएका थिए । ५८औं मिनेटमा सिभान विडमरले स्वीट्जरल्याण्डका लागि बराबरी गोल फर्काए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment