
२३ भदौ, काठमाडौं । निषेधाज्ञा तथा बन्दाबन्दी अवधीभरको बैंकको ब्याज र व्यवसायिक घरभाडा छुट गर्न नेपाल राष्ट्रिय व्यवसायी महासंघले माग गरेको छ ।
महासंघले लकडाउन र निषेधाज्ञाका कारण उद्योग व्यवसाय निकै ठूलो समस्यामा परेको भन्दै उक्त अवधिको बैंकको ब्याज र व्यवसायिक घरभाडा पूर्ण रुपमा मिनाहा गर्ने व्यवस्था मिलाउन सरहकारसँग माग गरेको हो ।
महासंघले मंगलबार प्रेस विज्ञप्ति जारी गरेर ५ बुँदे माग पनि अघि सारेको छ । महासंघले बैंकको मात्रै नभइ सहकारी संस्थाहरुबाट व्यवसायीहरुले लिएको ऋणको ब्याजसमेत सरकारले मिनाहा गरिदिनु पर्ने बताएको छ ।
यसैगरी उद्योग–व्यवसायहरुको घरभाडा (व्यवसायिक घरभाडा) बन्दाबन्दी अवधिभरको पूर्ण मिनाहाका लागि सरकारले भूमिका खेल्नु पर्ने पनि महासंघले माग गरेको छ ।
यसैगरी ५ प्रतिशत ब्याजदरमा साना तथा मझौला उद्योगी व्यवसायीहरुलाई बिना धितो सहलियत ऋण दिनु पर्ने, केरुङ नाकामा रोकिएका कन्टेनरहरु छुटाउन पहल गर्नुपर्ने र साना तथा मझौला उद्योगी व्यवसायीहरुसमेतको सहभागितामा समन्वय समिति गठन हुनु पर्ने लगायतका मागहरु महासंघले अघि सारेको छ ।
निषेधाज्ञाका कारण व्यवसायहरु पूर्ण रुपमा बन्द भएको अवस्थामा बैंकको ब्याज भुक्तानी गर्न नसकिने महासंघका अध्यक्ष नरेश कटुवालले बताए । आम्दानी एक रुपैयाँ पनि नभएको अवस्थामा बैंकको ब्याज र व्यवसायको घरभाडा तिर्न सक्ने अवस्था नरहेको भन्दै अध्यक्ष कटुवालले सरकारले मिनाहा गर्नुपर्ने बताए ।
‘हामी सरकारले बनाएका नीति निर्देशनहरु सबै मान्न तयार छौं, सरकारले कति दिन घरभित्रै राखेर थुन्छ थुनोस्,’ उनले भने, ‘तर हामीलाई पनि त बाँच्ने आधार दिनु पर्यो नि, हामी ऋणको ब्याज र व्यवसायको भाडा यो अवस्थामा तिर्न सक्दैनौ सरकारले ध्यान दिनु पर्यो ।’
प्रतिक्रिया 4