Comments Add Comment

निजगढ विमानस्थल निर्माणस्थलको रुख मंसिरसम्म गनिसक्ने लक्ष्य

२३ भदौ काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण स्थलमा भइरहेको रुख गणनाको काम मंसिरसम्म सक्ने गरी लक्ष्य तोकेको छ ।

अहिले आयोजनाको रुख गणनाको काम भइरहेको छ । मंगलबारसम्म सो क्षेत्रका ५७ हजार ३५० रुख गणना कार्य सम्पन्न भइसकेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मंगलबार बसेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणका लागि अन्तर निकाय समन्वय, सहजीकरण समितिको बैठकले यस्तो निर्णय गरेको हो । यो समितिको अध्यक्ष पर्यटन मन्त्री योगेश भट्टराई रहेका छन् ।

बैठकमा आयोजनाको कार्यप्रगतिको समिक्षा भएको मन्त्रालयका प्रवक्ता कमल प्रसाद भट्राईले जानकारी दिए । उनका अनुसार बैठकले आगामी मंसिर मसान्तभित्र रुख तथा पोलहरुको लगत नम्बरिङकोे काम सम्पन्न गर्ने निर्णय भएको छ । उनकाअनुसार सो क्षेत्रमा नदि नियन्त्रणका कामले पनि तीब्रता पाएको बैठकलाई जानकारी गराइएको थियो ।

बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रमा पर्ने आयोजनास्थलमा अवस्थित टाँगिया बस्ती स्थानान्तरणका लागि समितिको मिति २०७६ माघ २ गतेको निर्णयानुसार भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सह सचिवको संयोजकत्वमा गठित समितिले स्थलगत रुपमा निरीक्षण गरी वस्ती व्यवस्थापनका लागि स्थानसहितको मोडालिटी तयार गरी १५ दिनभित्र समितिसमक्ष प्रतिवेदन पेश गर्ने गरी निर्णय गरेको छ । यो समितिको सदस्यमा डिभिजन वन कार्यालय, बाराका प्रमुखलाई पनि थप गर्ने निर्णय मंगलबार भएको छ ।

बैठकले विमानस्थल निर्माण क्षेत्रको चार किल्ला वरिपरि सडक निर्माण, पहुँच मार्ग निर्माण र सो क्षेत्रमा पर्ने वन क्षेत्रको रुख कटान गर्ने कार्य सम्पन्न गर्न नेपाल वन निगम लिमिटेड मार्फ्त रुख कटानको काम अगाडि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन समेत दिएको छ ।  बैठकले विमानस्थलको गुरुयोजना निर्माणको खरिद सम्झौता प्रक्रियाका बाँकी काम आगामी सातामा समेत प्राधिकरणलाई निर्देशन दिएको छ ।

लगानी बोर्डले विमानस्थल निर्माणका लागि छनौट भएको जुरिच इन्टरनेशनल कम्पनीसँग निरन्तर संवाद र पत्राचार गरी सेप्टेम्वर ३० भित्रमा परियोजना प्रस्ताब अन्तिम निर्णय लिने समेत निर्णय आजको बैठकले गरेको भट्टराईले जानकारी दिएका छन् ।

विमानस्थलको पेरिफेरी रोड निर्माणका लागि यसअघि नै गणना भएका ४२३२ रुख कटानको स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयले भेरिफिकेसनको काम सकाएर एक महिना भित्र मन्त्रिपरिषद्मा लैजाने निर्णय समेत आज भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment