Comments Add Comment

दूधको बिक्री आधा घट्यो, लकडाउनमा १५ अर्ब नोक्सान

नबिकेको दूध नमिल्काउन आग्रह

२३ भदौ, चितवन । कोभिड-१९ का कारण सुरु भएको लकडाउन र निषेधाज्ञाले निजी क्षेत्रका दुग्ध व्यवसायी संकटमा परेका छन् । अहिलेसम्म यस क्षेत्रले १५ अर्ब रुपैयाँ घाटा व्यहोरिसकेको व्यवसायीको भनाइ छ ।

दुग्ध उत्पादक कृषक र त्यसको खरिद-बिक्री गर्ने व्यवसायीलाई यति नोक्सानी भएको हो । कोरोनाका कारण डेरी तथा उद्योग क्षेत्रका ५० प्रतिशत बजार गुमेको नेपाल डेरी एसोसियसनका अध्यक्ष राधाकृष्ण सापकोटाले बताए । देशभर दैनिक ६२ लाख लिटर दूध उत्पादन हुने गरेकोमा अहिले ३१ लाख लिटर मात्र बजारमा जाने गरेको उनको भनाइ छ ।

‘होटल-रेस्टुरेन्ट लगायत बजारमा ठूलो खपत हुने क्षेत्र बन्द रहेकाले दूधको बिक्री न्यून छ,’ उनले भने, ‘अर्को तर्फ बिक्री-वितरणमा पनि प्रहरीले अनावश्यक दुख दिइरहेको छ ।’

केन्द्रीय दुग्ध सहकारी संघले कोरोना महामारीका कारण दूध उत्पादनमा नै ३० प्रतिशत ह्रास आएको जनाएको छ । कतिपय किसानले डेरी उद्योगीबाट चार महिनादेखि भुक्तानी नपाएको संघका पदाधिकारी बताउँछन् ।

दूध नमिल्काउन आग्रह

चैतदेखिको लकडाउनका कारण ठप्प भएको बजारमा लकडाउन खुलेलगत्तै केही सकारात्मक प्रभाव देखिएको थियो । तर, निषेधाज्ञाले गर्दा फेरि पुरानै अवस्था दोहोरिएको व्यवसायीहरुले बताएका छन् ।

यसबीचमा केही दुग्ध उत्पादकहरुले बिक्री नभएको दूध सडकमा पोखेर आफ्नो पीडा सार्वजनिक गर्ने प्रयास पनि गरे । तर डेरी एशोसिएसनका अध्यक्ष सापकोटा भने यसरी दूध नपोख्न आग्रह गर्छन् ।

उनले भने, ‘साना किसानले सकेसम्म घरमै बढीभन्दा बढि दूध खपत गरौं । दही, घिउ जस्ता बाइप्रडक्ट उत्पादन गरौं । तर पोखाएर खेर नफालौँ,’ उनले भने । ठूला किसानको दूध सकेसम्म बढी खपत गर्न पाउडर प्लान्ट चलाउनेबारे छलफल भइरहेको उनले बताए ।

दूध खेर जान दिएका छैनौं

दुग्ध विकास संस्थानले भने आफ्नो मातहतका सहकारीमार्फत किसानको दूध संकलनमा खासै समस्या नरहेको दावी गरेको छ । पाउडर कारखानामा समस्या आएर कहिलेकाँही कतिपय ठाउँबाट दूध उठ्न नसके पनि त्यो समस्या धेरै ठूलो नभएको संस्थानका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले बताए ।

लकडाउनका कारण बजार १८ प्रतिशतले घटे पनि कारखानामा अतिरिक्त वस्तु उत्पादन गरेर दूधको व्यवस्थापन गरिरहेको उनले जानकारी दिए । डीडीसीको कुल बिक्रीको वाषिर्क ८८ प्रतिशत हिस्सा दूध नै भए पनि बजार घट्दा व्यवस्थापन गरिरहेको संस्थानले जनाएको छ । चैतपछि भदौसम्म कम दूध उत्पादन दूध हुने समयमा पनि हरेक दिन पाउडर बनाउनु परेको संस्थानले जनाएको छ ।

पाउडर दूध, एसएमजी, घीउ तथा मख्खनका कारण गोदाम भरिएको अवस्थामा नयाँ नयाँ बजारको लागि संस्थान प्रयासरत छ ।

‘घीउ र मखन बेचिदिनुस् भनेर दूध किन्ने सहकारीलाई आग्रह गरिरहेका छौं,’ अधिकारीले भने, ‘विषम परिस्थितिमा अतिरिक्त उत्पादन गरेर वा पोषणको रुपमा खपत गरेर भए पनि दूग्ध पदार्थ खेर नफाल्न सबै किसानलाई आग्रह गरेका छौं ।’

चिन्तामा किसान

भरतपुर महानगरपालिका-६ का दूध उत्पादक किसान उपेन्द्र भण्डारी घर नजिकै रहेको सहकारीमा दैनिक डेढ सय लिटर दूध बेच्न लैजान्छन् । घरमा २२ वटा गाई पालेका उनको तिनै गाईहरुको स्याहारसुसारमै दिन बित्छ ।

हिजोआज भने उनलाई दूध बिक्री नभएर कतैं फाल्नुपर्ने हो की भन्ने चिन्ताले सताउन थालेको छ ।

भण्डारी भन्छन् ‘निषेधाज्ञाका समयमा दूग्ध लिएर जाँदा सहकारीले नलिने हो की भन्ने चिन्ताले सताउँछ,’ भण्डारीले भने ।

चितवनकै अर्का दूग्ध उत्पादक व्यवसायीक किसान आनन्द न्यूरे ४० वटा गाईबाट दैनिक २ सय ५० लिटर दूध उत्पादन गर्ने गर्छन् । पशुपालन तथा दुग्ध उत्पादक कृषक समाजका केन्द्रीय अध्यक्षसमेत रहेका उनी उत्पादित दूध हारगुहार गरेर बेचिरहेको बताउँछन् ।

‘डीडीसीले त सामान्य परिमाणमा दूध उठाएको छ, तर अरू निजी डेरी उद्योगले किसान मारे,’ उनी भन्छन्, ‘नाफा र फाइदा हुँदा मात्रैं दूध लैजान्छन्, अरु बेला वास्ता गदैनन् ।’

दूधलाई स्टोर गरेर वा विविधीकरण गरेर राख्न सक्ने तागत नेपाली किसानसँग नभएको उनले गुनासो गरे । दूधमा दिँदै आएको एक-दुई रुपैयाँ अनुदान बन्द गरेर लागत घटाउने बस्तुमा कृषकलाई राज्यले अनुदान दिनुपर्ने न्यूरोको भनाइ छ । सरकारले वितरण प्रणालीलाई सुधार गर्ने नीति ल्याए अहिलेको भन्दा तीन गुणा दूध बजारमा बिक्री हुने उनको तर्क छ ।

अहिले निषेधाज्ञाका कारण ठुला शहरमा दूधको खपत हृवात्तै घट्दा सहकारीले किसानको दूध उठाउन सकका छैनन् भने सहकारी तथा डेरीसम्म संकलन भएका दूध पनि निकै कम मात्रामा खपत हुन थालेका छन् । कोरोनाको त्रास र जिल्लामा जारी निषेधाज्ञाले गर्दा जिल्लाका ब्यवसायिक दूध किसानहरू मर्कामा परेका छन् । निजी डेरी तथा दुग्ध विकास संस्थाले दूध नउठाउँदा किसानहरु मर्कामा परेको जिल्लाका दूग्ध किसानहरु बताउँछन् ।

सहकारी र डेरीको अवस्था पनि उस्तै

भरतपुर ६ केशरवागमा रहेको अन्नपूर्ण सहकारी संस्थाले दिनको झण्डैं ६ हजार ५ सय लिटर दूध संकलन गर्दै आएको छ । सहकारीमा ४५० जना किसानले दैनिक दूध संकलन गर्दै आएका आएका छन् । तर, किसानबाट संकलन गरिएको दूध कहाँ लगेर कसरी बेच्ने भन्ने पिरलोले सधैं सताउने गरेको संस्थाका अध्यक्ष ऋषिराम चापागाई बताउँछन् ।

‘सधैं दूध ल्याउने किसानलाई नल्याउनुस् भन्न पनि अप्ठ्यारो, यता सहकारीले भने दूध बेच्न सकिरहेको छैन,’ अध्यक्ष चापागाईले भने, ‘समस्या निकै ठूलो हुँदै गयो ।’

कम्युनिष्टका सरकार आएपछि सर्वहारा किसानलाई झनै अप्ठ्यारा दिनहरु आएको न्यूरे बताउँछन् ।

‘केही होला कि भनेको तर झन् दामि्रएर मर्नुपर्ने अवस्था पो आयो,’ उनले भने ।

किसानले दूध सडकमा पोखेर स्टण्ट गरेको की साँच्चै पीडा पोखेको भन्ने प्रश्नमा अध्यक्ष न्यूरे भन्छन्, ‘मर्नुभन्दा बौलाउन निको भएर त्यसो गरेको हो ।’

जिल्लामा दैनिक करिब ३ लाख लिटर दूध उत्पादन हुनेमा करीब १ लाख ४० हजार लिटर यहीँ नै खपत हुन्छ । बाहिरी जिल्लामा १ लाख ६० हजार लिटर बाहिर जान्थ्यो । चितवनमा १ सय १० वटा दुग्ध सहकारी छन् ।

व्यवसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाजमा चितवनका झण्डैं ५ सय र देशभर ३३ हजारभन्दा बढि किसान आवद्ध छन् । चितवनमा करिब ३ सय साना डेरी छन् । चितवनमा डीडीसीका ८, निजी क्षेत्रका करिब १० वटा र सहकारीका २० वटा चिस्यान केन्ऽ छन् । यी चिस्यान केन्द्रमा एक दिनको दूध मात्रै राख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment