Comments Add Comment

चुनौती र अवसरको सगरमाथा

विश्व अहिले नोबल कोरोना भाइरस (कोभिड–१९) को महामारीसँग लडिरहेको छ । सायदै संसारको कुनै पनि देश यो महामारीको असरबाट बचेका छन् । संसारभरका चिकित्सा क्षेत्रका बैज्ञानिकहरु यो महामारीबाट मानिसलाई कसरी बचाउने भनेर अनुसन्धानमा केन्द्रित भएका छन् । महामारीको छ महिना बितिसक्दा पनि उचित उपचार पद्दति नभेटिएकाले कतै मानव अस्तित्व नै संकटमा त पर्दैन भन्ने प्रश्न पनि अहिले गम्भीर रुपमा उठेको छ । यही बिन्दुमा गम्भीर चुनौतीसँगै महान अवसर पनि विश्व समुदायमा छ ।

यही संकटकाबीच नयाँ उपचार पद्दति मात्रै होइन जीवनशैलीकै खोज अनुसन्धान गर्नु विश्व मानव समुदायका लागि अहिलेको मुख्य आवश्यकता हो । चिकित्सा विज्ञानका वैज्ञानिकहरु आफ्नो ठाउँबाट दिनरात लागिरहेकै छन् तर समाज विज्ञानमा हामीले केही नयाँ खोज अनुसन्धान गर्न सकेनौं भने त्यो आविस्कारले मात्रै मानव अस्तित्व माथिको संकटको अन्त्य गर्दैन । यिनै चुनौती र अवसर क्षितिजमा देखापरेका छन् ।

मानव मात्रै यस्तो प्राणी हो जसले चुनौतीलाई नयाँ अवसरमा रुपान्तरण गर्न सक्छ । यो समय वास्तवमा समाज विज्ञानमा नयाँ विचार जन्माउने समय हो । नयाँ विचारले नयाँ संस्कार जन्माउँछ । नयाँ संस्कार, सभ्यता र नयाँ सभ्यताले मानव समाजलाई सन्चालन गर्छ । यदि अहिले नयाँ विचार र संस्कार जन्माउन सकिएन भने मानिसको मृत्युलाई पर सार्ने औषधि त पत्ता लाग्ला तर अहिले भएको मानवीय सभ्यता र संस्कार बच्ने कल्पना पनि गर्न सकिदैन । यो समय सामाजिक दुरी कायम गर्नैपर्ने तर प्रेम र सदभावको दुरी घटाउनु पर्ने समय हो । नयाँ संस्कार, सभ्यता वा जीवनशैली यहीँभित्र जन्मिन्छ ।

नेपाली समाजको सन्दर्भ

नेपाली समाजको विश्लेषण गर्दा अहिले सर्वाधिक राजनीतिक शक्तिमा रहेका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल (प्रचण्ड) र शेरबहादुर देउवा आदि हुन् । हामी इतिहासका घटनाको या त निकै प्रशंशा गर्छौं या घृणा मात्रै । हामी केपी ओलीको संघर्षमय जेल जीवनदेखि देशभक्तिको चट्टानी अडानको प्रशंशा गर्छौं तर उनका केही उडन्ते कुराको चर्को आलोचना पनि गर्छौं ।

नेपालको जनयुद्धमा १७ हजार नेपालीको मृत्यु हुनुको दोष प्रचण्डलाइ मात्रै दिन्छौं । तर, त्यो जनयुद्धपछि गरिएको वृहत शान्ति सम्झौता र त्यसपछिका राजनीतिक रुपान्तरण बिर्सन्छौं । शेरबहादुर देउवाका पछिल्ला कतिपय राजनीतिक कमजोरीको आलोचना गरिरहँदा पञ्चायतविरुद्धको आन्दोलनमा उनले जिब्रोमा करेन्ट लगाइपाएको कठोर यातना बिर्सन्छौं ।

नेपाली समाजको सन्दर्भमा यहाँ भन्न खोजिएको कुराचाहिँ के हो भने एकपटक वैधानिक र स्वीकार्य भैसकेपछि फेरि–फेरि त्यो कुरा अल्झाइरहनु इतिहासको परिघटनालाई पछाडि धकेल्नु मात्रै हो । तर सँगसँगै नेतृत्वले पनि उनको संघर्ष, त्याग समर्पणको गरिमालाई कायम राख्न सकेको भए पनि उनीहरुको यति ठूलो आलोचना हुँदैनथ्यो र समाजले एकपछि अर्को निराशाभित्र रुमल्लिनु पर्दैनथ्यो ।
केपी ओलीले केही हलुका कुरा नगरेको भए र आफ्नो टीमका गलत व्यक्तिहरुलाई सीधा कारबाही गर्न सकेको भए प्रचण्डले हिजोको बलिदानको मर्म अनुसार आफ्ना पाइला चालेको भए र शेर बहादुर देउवा पजेरो काण्ड लगायतामा नलागेको भए सायद यी नेतृत्वविरुद्ध जनतामा चरम निराशा पैदा हुँदैनथ्यो ।

को चाहन्छ र रत्नाकर रहिरहन ?

कुनै बेलाका रत्नाकर डाँकु पछि निकै सज्जन भएका कथा सबैले एकचोटी पढ्यौं । सही अवसर र समय आएपछि उतिबेलाका डाँकु सज्जन वाल्मीकि ऋषि बन्न सक्नेरहेछन् । अहिले पनि परिस्थितिले रत्नाकर बनेकाहरु सज्जन वाल्मीकि बन्ने अवसर पो खोजिरहेका छन् कि ? वाल्मीकि भैसकेपछि फेरि उनलाई हिजोका रत्नाकर भनेर इतिहासमा आरोपित गरिरहनु वाल्मीकि जन्मने प्रक्रियालाई बन्ध्याकरण गर्नु पो हो कि । यसले समाजलाई अगाडि बढाउने होइन कि पछाडि धकेल्ने कुरा हुन्छ । अब यो कुराको अन्त्य हामीले नै अहिले गर्नुपर्छ । किनकि हाम्रो पुस्ताले ढुंगे युगदेखि चरम विकासको आधुनिक युगसम्मको सबै परिस्थिति भोगिसकेको छ ।

हामी सबैले आ–आफ्नो ठाउँमा गल्ती गरेका हुन सक्छौं । म पनि विदेश आएर बिगत लगभग डेढ दशकदेखि यतै छु । मातृभूमिको लागि थोरै मात्रै गर्न सकेको छु । मेरो केही कमजोरी पक्कै छ जसको कारणले मैले देशको लागि चाहेर पनि थोरै मात्रै गर्न सकेको छु भन्ने कुराको मन पखाल्ने वा प्रायश्चित गर्ने सुरक्षित ठाउँ मैले नपाएको हुनसक्छु । विद्यार्थी स्कूल नगएर कक्षा छोडिरहेका पो छन् कि, शिक्षकले समयमा स्कूल गएर पढाएका पो छैनन् कि, कर्मचारीले घुस पो खाएका छन् कि, व्यापारीले नचाहिदो नाफा पो असुलेका छन् कि, इन्जिनियरले विधि मिचेर काम पो गरेका छन् कि, डाक्टरहरुले कमिसनको लागि कमसल औषधि पो रिफर गरेका छन् कि, पत्रकारले समाचार विचार प्रवाहमा निश्पक्षता अपनाएका पो छैनन् कि, न्यायमूर्तिहरुले सही न्याय नदिएका पो छन् कि र हाम्रा राजनीतिक दलका नेताहरुले सही र देश केन्द्रित नीति पो निर्माण गरिरहेका छैनन् कि । तर सबैलाई अर्काको र स्वयं आफ्नो पनि गल्ती कमजोरी भने राम्रोसँग थाहा छ ।

अर्काका थाहा पाइएका गल्ती वा कमजोरीका लागि अड्डा अदालत, दण्ड सजायँ वा जेल र सुधार गृहको परिकल्पना छ तर आफैंलाई थाहा भएका आफ्ना गल्ती कमजोरीको प्रायश्चित गर्ने सुरक्षित र उपयुक्त थलो कहा छ ? अहिलेसम्म यो कुराको सार्थक परिकल्पना गरिएको छैन । त्यसैले गल्तीहरु झन् बढेका छन् ।

यहाँनेर एउटा सान्दर्भिक संक्षिप्त कथा थपौं ।

एउटा गाउँमा मन्दिर थियो । त्यहाँ मुख्य पूजाको दिन गाउभरिका मानिसले दूध चढाउने चलन थियो । एकजना मानिसलाई चिन्तन आयो आखिर सबैले दूध चढाइहाल्छन् म एक जनाले पानी चढाए पनि केही फरक पर्दैन । त्यो चिन्तन पूजाको दिन सबैजनालाई एकैचोटी आयो । परिणाम, मन्दिरमा दूध कुण्ड होइन जल कुण्ड मात्रै भयो । हाम्रो समाजमा पनि त्यही भएको हो की ? सबैले अरुले राम्रो गरिहाल्छन् नि भन्दै हरेकले आ–आफ्ना गल्ती कमजोरीको आत्मसमीक्षा होइन की अर्कोलाई दोषारोपण मात्रै गरेको । त्यही भएर हाम्रो परिवार, समाज र देशको विकास नभएको हो कि ?

 

देशलाई अहिले केही खर्ब ऋणको भारी बढेको छ । यो अवस्थाबाट पार पाउन सबैभन्दा ठूलो कुरा राज्यले नै नयाँ घोषणा गर्नसक्छ । त्यो हो, निश्चित समय तोकेर सबैलाई आफूले अनुचित रुपमा जम्मा गरेको सम्पति यौटा गोप्य राष्ट्रिय खाता निर्माण गरी त्यसमा जम्मा गर्न खुल्ला आह्वान गर्ने

अहिले सबैलाई आफ्ना गल्ती, कमजोरी, अपराध वा भ्रष्टाचारको आत्मसमीक्षा वा प्रायश्चित गर्न पक्कै पनि मन छ । किनकि सबैलाई प्रश्नरहित किसिमले खुशी बन्ने चाहना छ । सबै खालका बिकारहरुले भरिएको मन र मस्तिष्कलाई आत्मालोचना मार्फत धोइपखाली गर्ने र खराव नियतले जम्मा गरेका भौतिक बस्तुहरु स्वघोषणा गर्ने उपयुक्त वैज्ञानिक र मनोवैज्ञानिक विधि चाहिएको छ । किनकि मानिस अन्तत खुशी हुन चाहन्छ । देखाउन नमिल्ने अथाह धन र दुःखी मन आफैसँग राखेर अहिलेको मानिस खुशी हुन सकेको छैन ।

सबैले असल काम कसैले सुरु गरिदिएको भए, असल नेता अरु भैदिएको भए, कसै न कसैले यो अफ्ठेरो र बरफको पहाड फोड्ने काम गरिदिएको भए त्यसपछि म पनि लाम लाग्थें भनेर मनमनै सोचिरहेका छन् । तर सबैले यो कुरा मनमै सोच्ने तर आफ्नो स्थानबाट आफ्नो व्यवहारले सानै भएपनि काम सुरु गर्न भने सकेका छैनन् । अर्को हिसाबले यो पनि माथिको कथाको जस्तै सबैले मन्दिरमा दूधको ठाउँमा पानी हालिरहे जस्तै हो । कसैले दूध हाल्न सुरु गरेका भए म पनि सुरु गर्थें भनेजस्तै भएको पो छ कि ?

विधि र प्रविधि के हुन सक्ला ?

यसका लागि छुट्टै नयाँ विधि र प्रविधिको आवश्यकता छैन, छ भने केवल सामाजिक विश्वासको । अहिले सामाजिक विश्वास नै नयाँ विचार हो । यदि समाज, राज्य, परिवार सबैले आफ्ना गल्तीहरुलाई माफी दिन्छ, प्रायश्चित गर्ने अवसर दिन्छ र भोलिपल्टदेखि कुनै किसिमको भेदभाव हुँदैन भन्ने ग्यारेन्टी दिलाउन सकिएको दिनदेखि रामराज्यको सुरुवात हुनेछ । अथवा यसो भनौं त्यो विश्वास भएमा स्वीस बैंकको धन आफैं फिर्ता आउँछ, देश विदेशमा भएका आफन्तलाई राख्न दिइएकालगायतका अन्डरग्राउण्ड धन होस् वा पानी ट्यांकी र जमिनमुनि गाडिएको धन होस् त्यो स्वघोषणाद्वारा निस्कन सक्छन् । अनि हाम्रो देशको विकास गर्न अन्यत्रै ऋण खोज्नु पर्ला र ?

यो पक्का हो कि कोही पनि नेपाली नेपाललाई निकै माया गर्छ । सबै नेपाली देशभक्त पक्का हो । कहिलेकाहीँ भएको गल्तीलाई आफ्नो विरोधिले चकलेट दिँदा बच्चाले आफ्नो बाआमालाई एकछिनलाई गाली गरेजस्तै मात्रै हो । सबैको त्यो बालसुलभ कमजोरीको आत्मालोचना गर्ने स्थान सुरक्षित गरिदिनु पर्दछ । पूर्वप्रधानमन्त्री प्रचण्डले आफ्नो पहिलो प्रधानमन्त्रीकालमा र पछि पनि आफ्ना राजनीतिक कमजोरीहरु रहेको स्वीकारेका थिए । तर अझै पनि उनले ती अरुले भनिदिएका कमजोरीको जवाफमा मात्रै भनेका हुन् । तर उनी आफैंले देखेका आफ्ना कमजोरी खुलेर भन्न पाएका छैनन् कि ? सायद अरु नेताको हकमा पनि यस्तो होला ।

हिजो कसले के गर्यो वा गर्न चाहेन त्यो अलग कुरा हो । तर अब केही नयाँ गर्न सकिन्छ । विश्व परिस्थितिसँगै देशको परिस्थिति बदलिरहेको छ । हालैको एक तथ्यांक अनुसार देशलाई अहिले केही खर्ब ऋणको भारी बढेको छ । यो अवस्थाबाट पार पाउन सबैभन्दा ठूलो कुरा राज्यले नै नयाँ घोषणा गर्नसक्छ । त्यो हो, निश्चित समय तोकेर सबैलाई आफूले अनुचित रुपमा जम्मा गरेको सम्पति यौटा गोप्य राष्ट्रिय खाता निर्माण गरी त्यसमा जम्मा गर्न खुल्ला आह्वान गर्ने । स्वघोषणा गर्नेको परिचय राज्यले सधैं नै गोप्य राख्ने र त्यो दिनदेखि उसमाथि कुनै पनि कानूनी वा नैतिक प्रश्न नउठाउने ग्यारेन्टी गर्नुपर्छ । त्यो विश्वास दिलाउने वैधानिक र प्राविधिक संरचना निर्माण गर्नुपर्दछ ।

यो अख्तियार वा सम्पति शुद्धीकरण जस्तो हुनुहुँदैन, त्योभन्दा नितान्त नयाँ संरचना र एक पटकका लागि मात्र । त्यो भएमा आफूसँग अनुचित रुपमा जम्मा हुन आएको सम्पति राज्यलाई बुझाएर भोलिपल्टदेखि ऊ खुशी कमाउन र सुख सन्चय गर्न थाल्ने छ । झट्ट हेर्दा यो काल्पनिक र आदर्शको कुरा लाग्छ तर यो सम्भव छ ।

यसको नाम ‘सदाचार महाकोश’ नाम राख्न सकिन्छ र त्यसमा जम्मा भएको रकम देश निर्माणको गौरवमय काममा लगानी गर्नुपर्दछ ताकी हिजोसम्मका गल्ती गर्नेहरु आफूले गल्ती गरे पनि अन्तिममा राज्यले दिएको सच्चिने अवसरमा जम्मा भएको ‘सदाचार कोष’बाट बनेको गौरवमय आयोजनाको आफूलाई हिस्सेदार ठानेर खुशी बटुलिरहेको हुन्छ ।

नत राज्यले फलानो फलानोबाट खोसिएको रकमबाट बनेको भनिरहनुपर्छ नत जम्मा गर्नेले मैले जम्मा गरेर बनेको भनेर खुलमखुल्ला नै भन्नु पर्दछ । यदि इतिहासमा दिवंगत भैसकेका केही नेताहरुलाई यो अवसर भएको भए सायद उनीहरु पनि सास जानुअघि नै त्यसो गर्थे र इतिहासले उनीहरुलाई धिक्कारीरहनु पर्दैनथ्यो । उखान जेसुकै भए पनि कसैलाई पनि जिउँदै त के मरिसकेपछि पनि आफ्नो घृणा हुने स्थान राखिरहन मन हुँदैन ।

यस्तो एउटा घोषणा बनोस्

यस्तो घोषणामा सबैको जीत हुनेछ । सदाचार र उच्च नैतिकताको जित हुने छ । सदाचार र उच्च नैतिकता जाँच्ने भौतिक प्राविधिक संरचना हुनेछन् तर ती सबैले अभेद्य गोपनियता कायम राख्नेछन् । तर यदि त्यो समय सीमा सकिएपछि भने राज्य निर्मम भएर सत्य पत्ता लगाउँदै सदाचार ‘स्वघोषणा’को अबज्ञा गर्नेलाई गल्तीको पाँच गुणा बढी सजाए गर्ने विधि पनि समानान्तर रुपमा लैजानु पर्दछ । अख्तियार वा सम्पति शुद्धीकरण जस्ता संस्थालाई त्यो उचाइमा त्यसपछि उठाउन सकिन्छ र त्यो सर्वस्वीकार्य पनि हुने निश्चित नै छ ।

एकातिर महामारीको त्रास र अर्कोतिर आजीवन आरोप, प्रत्यारोप, अपमान, घृणाको पात्र बन्न कसैलाई मन छैन । सबैलाई आरोपको आजीवन ट्याग भिरेर र भिराएर दुःखी आत्मा भड्काइरहने अवस्थाको अन्त्य गर्न अनुशासन, सदाचार, आत्मनिर्भरता र स्वाधिनताको संयुक्त अभियानको थालनी नै मुख्य कुरा हो ।

तर यो सदाचारको विचार लागु गर्नेचाहिँ कहाँबाट ? यो प्रश्नको सही उत्तर हो– हरेक परिवारले आफ्ना हरेक सदस्यलाई आत्मशुद्धीकरणको सभ्यता दिउन् र त्यो अवसर जुटाइदिउन्, जहाँबाट एक पूर्ण, संस्कारयुक्त र सदाचारी मानवको निर्माण होस् ।

मानसिक, शारीरिक र सामाजिक रुपमा तन्दुरुस्त हुँदै प्राकृतिक निधनलाई सचेतनापूर्वक स्वीकार गर्दा पछिल्लो पुस्ताको भन्दा अघिल्लो पुस्ताको निधन पहिले हुने पक्का छ

जब संस्कारयुक्त बालक विद्यार्थीका रुपमा अनुशासित रुपमा स्कूल जान थाल्दछ, तब शिक्षक समयमै गएर पढाउन थाल्दछन् । कर्मचारी आफ्नो कर्तव्यपथमा आत्मानुशासनपूर्वक हिँड्छ, जब डाक्टरले आफ्नो फीभन्दा बिरामीको अनुहारमा खुशी हेर्न थाल्दछ, ब्यापारीले नाफामात्र भन्दा ग्राहकको सेवालाई प्राथमिकता दिन्छ, पत्रकार इन्जिनियर, न्यायमूर्ति आफ्नो पेशामा इमान्दार हुन्छन्, नेताहरु जब राजनीतिमा त्यागको व्यवहार र भावनाले मात्रै आउँछन् तब मात्र समाज र संसार सुन्दर बन्दछ । त्यसपछि कल्पना गरौं त अहिलेको महामारीले तोकिदिएको डेढ मिटर भौतिक दुरीभन्दा बढी दुरी कुनै व्यक्ति–व्यक्तिबीच, समाज–समाजबीच वा देश–देशबीच कायम राखिरहन आवश्यक होला र ?

हामीले उदाहरण दिने हो भने हाम्रा सर्वशक्तिमान नेताहरुको दिनचर्या कस्तो छ ? महामारीले सिर्जना गरेको अहिलेको परिस्थितिबीच पनि उनीहरुको दिनचर्याको अनुकरण गर्न योग्य छैन । बिहान सूर्योदय नहुँदै उनीहरुका निवासमा भेटघाटको भिड जारी छ । महामारीले ठूलालाई र ठूलालाई भेट्नेलाई छुँदैन जस्तो भान दिँदै त्यो लस्कर बिहानभरि हुन्छ । दिउँसो देशको लागि दिनु पर्ने खास समयको पनि सदुपयोग हुन पाउँदैन र साँझ फेरि त्यस्तै भेटघाट र अनावश्यक कुरामा नै समय जान्छ, मानौ कुनै आत्मानुशासन नै छैन । आफैं आत्मानुशासनमा रहन नसक्ने नेताले गर्ने शासन कसरी सुशासन हुनसक्ला ? यो प्रश्न गर्ने बेला भएको छ ।

मानव सभ्यतालाई अर्को उचाइमा पुर्याउने गरी स्वस्थ, आत्मानुशासित, आत्मनिर्भर, स्वाधिन, संस्कारी, उद्यमशील र स्वयंसेवी नेतृत्व अहिलेको समयले माग गरिरहेको छ । बिहानको समय आफ्नो लागि दिएर मानसिक र शारीरिक तन्दुरुस्तीको लागि ध्यान, योग, जीम, स्विमिंग र अध्ययन गर्ने गर्नुपर्छ । दिउँसो आधुनिक विज्ञानले आविस्कार गरेका फाइभ जीको रफ्तारमा काम गर्ने र आविस्कार हुन बाँकी सिक्स जीको आयाम र रफ्तारमा सामाजिक तथा व्यवसायिक जिम्मेवारी बहन गर्न योग्य बनाउनुपर्छ । साँझको समय सकारात्मक चेतनाले आफ्नो परिवार, साथीसंगी र समाजलाई खुशी राख्नसक्ने व्यवहार र विचारयुक्त व्यक्ति नै यो समयले खोजेको नेतृत्व हो । के हामी यो चुनौती र अवसरलाई स्वागत गर्न तयार नहुने ?

अमर मार्गको यात्रा

अरुमा होइन कि आफैंमा यो कुराको जीवनशैली निर्माण गर्न हामी सबै लाग्नु पर्दछ । त्यसपछि समाजले प्रश्न गरोस् मेरो जीवनशैलीका बारेमा । अरुका लागि होइन मैले आफ्नो लागि, समाजको लागि र परिवारको लागि यो अनुकूलको जीवनशैलीको अभ्यास सुरु गरिसकेको छु । अहिले शारीरिक रुपमा इम्युन सिस्टम बलियो बनाउने बहस हुन्छ र त्यसका लागि बेसार पानीको चर्चा समर्थन वा विरोधमा मात्रै हुन्छ, तर बेसार पानी पिउनु स्वास्थ्यका हिसाबले राम्रो हो । साथै त्यो अघि र पछि पनि अरु केही कुरा हुन सक्छ वा गर्न सकिन्छ भन्ने सकारात्मक बहस किन नगर्ने ?

बेसार पानी लगायत भौतिक बस्तु शारीरिक इम्युन सिस्टमका लागि ठीक कुरा हो तर शारीरिक इम्युन सिस्टम, मानसिक इम्युन सिस्टम बलियो नबनी सम्भव छैन । उदाहरणका लागि हामी रुख काट्नु अघि बन्चरो तिखार्नु परेजस्तै हो । हामीले बन्चरो तिखार्नु भनेको पहिले मानसिक इम्युन सिस्टम बलियो बनाउनु हो । व्यक्ति, व्यवसाय वा सिंगो राज्यले नै सोसियल रेस्पोन्सिबिलिटी स्वरुप पहिले मानसिक र सँगै शारीरिक इम्युन सिस्टम बलियो बनाउने योजना निर्माण गर्नु पर्दछ । त्यसपछि व्यक्ति, समाज र देशको विकास जुनसुकै परिस्थितिसँग सामना गर्ने क्षमता बढ्ने र विकास अर्को उचाइमा पुग्ने सुनिश्चित छ ।

अन्त्यमा,

मृत्यु सत्य कुरा हो । यो सबैलाई थाहा छ । तर थाहा होइन कि बोधको स्तरमा सबैमा हुने हो र नयाँ जीवनशैली अपनाउँदै मानसिक, शारीरिक र सामाजिक रुपमा तन्दुरुस्त हुँदै प्राकृतिक निधनलाई सचेतनापूर्वक स्वीकार गर्दा पछिल्लो पुस्ताको भन्दा अघिल्लो पुस्ताको निधन पहिले हुने पक्का छ । यो सत्यलाई संस्कार पनि बनाउने हो भने हरेक पहिलो पुस्ताको व्यक्तिले नयाँ पुस्तालाई यो सत्यको बोध गराउँदै जान्छ र सबै अमर बन्ने सभ्यताको सुरुवात यही बिन्दुबाट सुरु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment