
२४ भदौं, काठमाडौं । राष्ट्रिय स्तरको लघुवित्त कालिका लघुवित्त वित्तीय संस्थामा लाखौँ अनियमितता भएको विषय बाहिर आएपछि राष्ट्र बैंकले अनुसन्धान थालेको छ ।
संस्थाको तनहूँको साजबोट शाखा कार्यालयमा ५३ जना नक्कली ऋणी खडा गरेर शाखा प्रवन्धक शर्मिला घिमिरेले कर्जा लिएको भन्दै उजुरी परेको थियो । संस्थाका निमित्त सीईओकै मिलेमतोमा यस्तो अनियमितता भएको कतिपय कर्मचारीको आशंका छ । नक्कली ऋणी खडा गरेर पैसा निकालि आपसमा भागबण्डा गरिएको कर्मचारी स्रोतले दावी गर्यो ।
साजबोट शाखा साविकको जनसेवी लघुवित्त वित्तीय संस्था अन्तरगत थियो । जनसेवी लघुवित्त कालिकामा मर्ज भएपछि उक्त शाखा पनि मर्ज भएको हो । त्यसबेला जनसेवीको सीईओ रहेका कमल खत्री कालिकाको डेपुटी सीईओ नियुक्त भएका थिए । अहिले उनले निमित्त सीईओ भएर कालिकाको नेतृत्व गरिरहेका छन् ।
नक्कली ऋणी खडा गरी कति रकम निकालियो भन्ने प्रष्ट भएको छैन । तर, एक करोडभन्दा बढि हिनामिना भएको आशंका गरिएको छ । अहिले निमित्त सीईओ खत्रि स्वयम्ले यो प्रकरणमा अनुसन्धान गरिरहेका छन् । आशंकित व्यक्तिले नै गरेको अनुसन्धानलाई कर्मचारीले विश्वास गरेका छैनन् ।
खत्रीले घटना बाहिर ल्याएको भन्दै साजबोट शाखामा कार्यरत कर्मचारीलाई सरुवा पुर्जी थमाएर विकट जिल्ला पठाएका थिए । बन्दाबन्दीकै अवस्थामा ३ दिनमा हाजिर हुनु भन्दै डोटीको बुडर सरुवा गरिएको स्रोतले बतायो । सामान्य अवस्थामा पनि २ दिन लाग्ने ठाउँ ३ दिनमा पुग्न बन्दाबन्दीका बेला सम्भव थिएन । ती कर्मचारीले अहिले जान सम्भव नभएको बताउँदा बढुवा रोकिदिने चेतावनी दिएका थिए ।
अनियमितताका विषयमा बोल्ने अन्य कर्मचारीहरुलाई पनि उनले धमाधम सरुवा गरेको स्रोतको भनाइ छ । कतिपयले यस्तो बेलामा सरुवा भएर जान नसक्ने भन्दै जागिर छाड्न बाध्य भएका छन् ।
मर्जर गरेकोमा अध्यक्षलाई पछुतो
संस्थाका सञ्चालक समिति अध्यक्ष विकास गौचनले कर्मचारीबाट अनियमितता भएको हुनसक्ने बताए । उनले संस्थामा भएका कमजोरीहरु सुधार गर्नु पर्नेमा धेरै राजनीति गरिएको गुनासो गरे ।
उनले भने, ‘पक्कै केही भएर नै कुरा बाहिर आयो, घाउ नभई औंशा पर्दैन भन्ने त उखानै छ नि ।’
अहिले आएको विवादका विषयमा सीईओ र डेपुटी सीईओ नै अनुगमनमा गएको भन्दै उनले छानविन नभई अनावश्यक राजनीतिक गर्नु गलत भएको बताए ।
‘दोषी भेटिए कारवाही गर्नैपर्छ’ उनले थपे, ‘तर अनावश्यक रुपमा राजनीति गर्न थालियो, भएका समस्या समाधान गर्नेतर्फ सोचिएन ।’
उनले कालिका लघुवित्तसँग मर्जर गराएर अहिले आफूलाई पश्चताप भइरहेको सुनाए । अब चाडै नै साधारणसभा बोलाएर अध्यक्ष पदबाट राजीनामा दिने गौचनको भनाइ थियो । अहिले नै छाड्न चाहे पनि राजीनामा दिन साधारणसभासम्म पर्खनुपर्ने बाध्यता रहेको उनले बताए ।
गौचनकाअनुसार यसअघि कालिकाको बाग्लुङ गलकोट नजिकको शाखामा पनि २५ लाख अनियमितता भएको थियो । यस विषयमा पनि अब छानबिन हुनुपर्ने उनले बताए ।
संस्थाका सञ्चालक सन्तोष श्रेष्ठले पनि घटना बाहिर आएपछि अहिले छानविन भइरहेको बताए । चाँडै सञ्चालक समिति बैठक ठाकेर आवश्यक कारवाही हुने उनको भनाइ छ ।
‘प्रमाण जुटाउँदै छौं’
लामो समयदेखि साजबोट शाखा कार्यालयको लेखा परीक्षण समेत हुन सकेको छैन । कर्मचारीहरुले पटक-पटक उच्च व्यवस्थापनमा जानकारी गराउँदा पनि केही सुनवाइ नभएपछि मर्जपश्चात सीईओलाई नै यो विषयमा जानकारी गराइएको थियो ।
त्यसपछि सीईओले संस्थाका वरिष्ठ प्रवन्धक फणिन्द्र पाण्डेको संयोजकत्वमा कामु अधिकृत यामप्रसाद अर्याल र सुपरीवेक्षक प्रकाशकुमार बोगटीलाई अनुमगनका लागि पठाएका थिए । त्यसबेला अनुगमन नगरी फर्किएको टोलिले अहिले भने छानविन गरिरहेको बताएको छ ।
समितिका संयोजक पाण्डेले अनियमितताको विषय बाहिर आएपछि छानविन भइरहेको बताए । के कति अनियमितता भएको भन्ने पुष्टि नभए पनि प्रारम्भिक अनुसन्धानमा अनियमितता देखिएको उनले बताए । ऋणका फाइल सीईओलाई बुझाइएको भन्दै उनले बैंकिङ कसुर अनुसार मुद्दा अघि बढ्न देखिएको र अहिले प्रमाण जुटाउने काम भइरहेको जानकारी दिए ।
‘५३ जनामध्ये केही ग्राहक वास्तविक नै भएको कुरा पनि आएको छ, यस विषयमा सीईओकै संयोजकत्वमा अनुसन्धान भइरहेको छ’ पाण्डेले भने, ‘हामी यथेष्ठ प्रमाणहरु जुटाउन लागेका छौं ।’
सीईओ भन्छन्- गलत नियत छैन
संस्थाका निमित्त सीईओ खत्रीले यो प्रकरणमा एक जना शाखा प्रमुखसहित २ जनामाथि मात्र आरोप लागेको बताए । तर आरोप पुष्टि भने भइनसकेको उनको भनाइ छ । दोषी देखिए जो कोहीलाई कारवाही पनि हुने उनी बताउँछन् ।
तर, यसमा तपाईं स्वयम्को संलग्नता रहेको आशंका पनि छ नि ? भन्ने प्रश्नमा सीईओ खत्रीले इन्कार गरे ।
अनुसन्धानकै लागि ऋणका फाइलहरु लगिएको उल्लेख गर्दै खत्रीले भने, ‘सम्बन्धित मान्छेहरुलाई राखेर छानविन भइरहेको छ, ऋण लिएको हो कि होइन भन्ने कुराहरु पुष्टि हुन बाँकी छ । ५३ जना वा त्योभन्दा बढी वा कम हुन सक्छन् । बाहिर आएको भन्दा फरक व्यक्ति पनि दोषी देखिनसक्छन् । ‘
बन्दाबन्दीका अवस्थामा गरिएको कर्मचारी सरुवामा आफ्नो कुनै गलत नियत नरहेको उनले दावी गरे । ८ गतेको चिठी काटेर ११ गते हाजिर हुन भनेर चिठी लेख्दा ११ गतेदेखिकै सेवा सुविधा पाउने भएकाले चिठ्ठीमा त्यस्तो लेखिएको उनले बताए । तत्कालै जान नसक्नेलाई जबरजस्ति नगरिएको खत्रिको भनाइ छ ।
राष्ट्र बैंकले थाल्यो अनुसन्धान
अनियमितताको विषयमा नेपाल राष्ट्र बैंकले पनि अनुसन्धान शुरु गरेको छ । राष्ट्र बैंकको लघुवित्त प्रवर्द्धन तथा सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले उजुरी परेपछि अनुसन्धान सुरु गरिएको बताए ।
उनका अनुसार राष्ट्र बैंकमा अनौपचारिक उजुरी परेपछि संस्थालाई जवाफ पेश गर्न भनिएको छ । अहिले बन्दाबन्दीको अवस्था भएकाले सोही शाखामा जान गाह्रो परेको उनले बताए ।
‘संस्थाले आफै पनि छानविन गरिरहेको छ भन्ने कुरा आएको छ, हामीले त्यो प्रतिवेदन पनि मागेका छौं’ उनले भने, ‘संस्थाबाट त्यो प्रतिवेदन र जवाफ आएपछि हामीले के गर्नु पर्छ, गर्छौ ।’
प्रतिक्रिया 4