Comments Add Comment

वामदेव पथमा प्रचण्ड !

सत्तारुढ दल नेकपामा ‘पूर्वएमाले’ र ‘पूर्वमाओवादी’को लक्ष्मण रेखा क्रस गर्दा प्रचण्ड ‘वामदेव पथ’मा हुँइकिन पुगेका छन् । प्रचण्ड अब ‘वामदेव’ नै भएको भनी ठोकुवा गर्नु हतार हुनसक्ला, तर संकेत गर्नु कसैका लागि पनि आश्चर्य हुन सक्दैन ।

दिन कस्तो हुन्छ, बिहानीले सुस्पष्ट संकेत गर्छ । ओह्रालो लागेका बखत प्रचण्डले लरखराउँदै र विश्राम लिँदै तय गरेको यात्राले वामदेवको पदचिन्ह पछ्याइरहेको छ । दिमागी शास्त्रभण्डार रित्तिनु, संगठनको अस्त्रभण्डार सिद्धिनु, आफन्त बिच्किनु, वैकल्पिक उपाय बाँकी नरहनु ‘वामदेव पथ’का आत्मगत आधार हुन् ।

समयक्रमसँगै त्यही आधार टेक्न बाध्य भएका प्रचण्डका लागि यतिबेला घर पनि आफ्नो भएन, पर पनि सहयोगी रहेन । फर्कने ठाउँ पनि कतै बाँकी छैन ।

‘वामदेव पथ’

माओवादी जनयुद्ध २०५४ तिर देशव्यापी उभारमा थियो । तत्कालीन नेकपा एमालेमा महाकाली सम्झौतालाई लिएर तीब्र अन्तर संघर्ष चलिरहेको थियो । नेपालगञ्जमा छैठौं पार्टी महाधिवेशन हुँदै थियो । यही महाधिवेशनबाट वैचारिकरुपमा यो अन्तरसंघर्षको हल हुने कार्यकर्तामा आश्वासन बाँडिएको थियो ।

वामदेव गौतमलगायत एमालेको टोली काठमाडौंबाट कपिलवस्तु हुँदै नेपालगञ्ज जाँदा गोरुसिंगेमा तत्कालीन विद्रोही माओवादीको भव्य र खुला सांस्कृतिक कार्यक्रम चलिरहेको थियो । ‘कहाँ जान्छौ बैरागी माइलो, गोरुसिंगेमा हुँदैछ रमाइलो’ गीतको बोलले तत्कालीन एमाले नेता तथा कार्यकर्ताको अन्तरमनमा कौतुहल जगाइदिएको देखिन्थ्यो ।

त्यतिबेलाको संसदीय सत्ता उपरीसंरचनाको अन्तरविरोधमा फसेको एमाले र जनतामाझ हुर्किरहेको माओवादीका बीचमा अन्तरविरोधबारे बुझाइ र समाधान गर्ने तरिका फरक थिए । महाकाली सम्झौतालाई लिएर देखिएको एमालेभित्रको अन्तरविरोधको जनपक्षीय नेतृत्व वामदेवले गरेका थिए । यसको ठीक विपरीत राष्ट्रघाती र जनघाती पक्षको नेतृत्व माधव–ओलीले गरेका थिए । यही अन्तरविरोधका माझ आयोजित नेपालगञ्जे महाधिवेशनबाट नेकपा एमाले विभाजित हुनपुग्यो । नेकपा (एमाले) र नेकपा (माले) गरी दुई पार्टी बने ।

नेकपा (एमाले) माधव–ओलीको नेतृत्वमा रह्यो भने वामदेव गौतमको नेतृत्वमा नेकपा (माले) निर्माण भएको थियो ।

भर्खरै छुट्टभिन्न भएका यी दुई पार्टीका बीचमा वैचारिक बहसले कुनै स्थान पाएन । आरोप–प्रत्यारोप र गालीबेइज्जती नै एकअर्कालाई सिध्याउने अस्त्र बनेको थियो । हाल एमालेभित्र अभिव्यक्त हुने सहजवृत्ति वा अतर्क बुद्धिवाद त्यहीँबाट मौलाउन पुगेको थियो ।

नेपालगञ्जमा फुट्दा आधा–आधाजसो देखिएको संगठन क्रमशः महाकाली बेचुवाहरुले आफ्नो वर्चस्व चुल्याउँदै लगे । वामदेव गौतमको नेकपा (माले) मा प्रचारप्रसार, सांगठनिक तथा संघर्षका कामहरु ज्यानलाग्दो किसिमले अगाडि बढ्न सकेनन् यद्यपि यो पार्टी स्पष्ट रुपमा राष्ट्रघात र जनघातको विरुद्धमा उभिएको थियो ।

नेकपा (माले) विचार, प्रवृत्ति र संघर्षका हिसाबले तत्कालीन विद्रोही नेकपा (माओवादी)को निकट देखिनु स्वाभाविक थियो । यसका ९० प्रतिशत नेता–कार्यकर्ता आमूल परिवर्तनको पक्षमा थिए । यद्यपि नेकपा (माओवादी)सँग नेकपा (माले)का केही वैचारिक मतभिन्नता अवश्यै थिए पनि ।

कालक्रम र घटना प्रक्रियाले पनि प्रचण्डलाई ‘खस्ला र खाउँला’को परिबन्दमा पार्दै अन्ततः दान गरिएको गाईमा परिणत गर्ने निश्चित प्रायः देखिएको छ

तर, नेता वामदेव ठीक यहीँनेर हच्कन पुगे । यही बिन्दुबाट वामदेवको ओह्रालो लाग्ने खेलोमेलो सुरु भयो । उनले केही कोर्स र रुट हेरफेर गरेर आमूल परिवर्तनको बाटो तय गर्नु जरुरी थियो । तर, यो ऐतिहासिक कार्यभारबाट पछि हटेपछि नेता वामदेव अहिलेसम्म उक्त गल्तीको सजायँका निरन्तर भागिदार बनिरहेका छन् । नेताहरुले गर्ने गल्ती र पाउने सजायँ आफैमा यिनै प्रारब्धमा बिजारोपण भएका थिए । यीभन्दा पनि ठूलो कुरो त के हो भने यी गल्तीका असर कुनै मूक/अमूक नेताका जीवनपर्यन्तमात्र होइन, युग र लामो कालखण्डसम्म रहने छन् ।

एकातिर परिवर्तन चाहनेबीच बढ्दै गएको यो निकटताले यथास्थिति चाहने अर्को डफ्फा नेकपा (एमाले) लाई संसदीय कम्युनिष्टको रंगभूमि साफहुँदै जान थालेको आभाष भैरहेको थियो । तात्कालीन एमालेले वामदेव गौतमको नेतृत्वमा रहेको नेकपा (माले)लाई माओवादीतिरै धकेल्न थाहन्थ्यो । यसैमा नै उसको भलो थियो पनि । ठीक यसै गरी वामदेव र उनको नेतृत्वमा रहेको नेकपा (माले) को भलो र भविष्य तात्कालीन नेकपा (माओवादी)सँगै एक भएर जानुमा थियो ।

वामदेवको सोच तत्कालीन माओवादीसँग मिलेर आमूल परिवर्तनको साहसिक कोर्षलाई अघि बढाउँदै नेतृत्व गरेर जानेभन्दा पनि पुनः नेकपा (एमाले)मा फर्केर माधव–ओलीलाई संसदीय कम्युनिष्टको रंगमञ्चबाट पाखा लगाइदिने मूर्खतापूर्ण खेलतिर अघि बढ्यो । उनी एमाले–माले पार्टी एकताको प्रक्रियामा सामेल भए । उनको नेता तथा कार्यकर्तासहितको धरातलीय जग भत्किएर तात्कालीन (माओवादी)मा सामेल भयो । वामदेवसँग पिरामिड आकारको पार्टी संगठनको सट्टा छाता आकारको नेतासञ्जाल मात्र हातमा रह्यो । यसले एकपछि अर्को गरी उनको दिनदसा घर्काउँदै लग्यो ।

वामदेवको एमालेभित्र माधव र ओलीको दुई ठूला गुटपछि तेस्रो सानो गुटको हैसियत कायम भयो । उनी ओलीको गुटलाई सघाउने पूरक गुटको हैसियतमा देखा परे । त्यति बेलादेखि उनी ओलीको ‘म छोडिदिउँला र खालास्’ भन्ने उधारो आश्वासनमा पुलकित हुँदै आए । गर्दैजाँदा ‘खस्ला र खाम्ला’ भनेर आशा गरेकै नेता केपी शर्मा ओली र उनको गुटको अन्तरघातका कारण संघीय निर्वाचनमा ‘लाल किल्ला’ भनिएकै बर्दियाबाट लज्जास्पद हार बेहोर्न पुगे । आजका दिनमा उनी राष्ट्रिय सभामा दान गरिएको गाईका रुपमा टुक्रुक्क उभिन पुगेका छन् ।

‘प्रचण्ड पथ’

एमाले ‘संसदीय रेस्लिङ’ मा उभिएका बेला २०५७ माघ–फागुनतिर तात्कालीन माओवादीले देशव्यापी संगठन तथा संघर्ष विस्तारका साथै विचार निर्माणको प्रक्रिया अघि बढाएको थियो । विचारको वैज्ञानिक प्रयोगका बखत प्राप्त उपलब्धी मुख्य नेताका नाममा संश्लेषण हुने धारणा अघि सार्दै ‘प्रचण्डपथ’ निर्माण गरेको थियो । एक समयका ‘प्रचण्ड पथ’ का प्रणेता उनै प्रचण्ड आज ठीक वामदेवको उही ओह्रालो लागेको ‘वामदेव पथ’ पछ्याउँदै ओलीको पूरक बन्न पुगेका छन् ।

समयचक्र भनौं वा संयोग, ओलीलाई सहयोग गर्दा वामदेवले माधवलाई पाखा लगाउन मद्दत पुर्‍याएझैं आज प्रचण्ड पनि माधवलाई अलपत्रै छाडेर ओलीसँग टाँसिन पुगेका छन् ।

यतिबेला प्रचण्डपक्षीय आन्तरिक संगठन पनि पिरामिड धरातल भत्किएर वामदेवको झैं छाता आकारको बनिरहेको छ । उनका नजिकका धेरैले उनको ‘गोठ’मा नरहेको, ‘उनले निर्णय क्षमता गुमाइसकेको’ जस्ता आरोपसहित दिनदिनै छोड्दै गैरहेका छन् । कालक्रम र घटना प्रक्रियाले पनि प्रचण्डलाई ‘खस्ला र खाउँला’को परिबन्दमा पार्दै अन्ततः दान गरिएको गाईमा परिणत गर्ने निश्चित प्रायः देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment