Comments Add Comment

काठमाडौंमै छाउपडी !

हाल त कोरानाको कहरले हामी घरकै चौघेराभित्र कैदी भएका छौं । कतै नहिँडेपछि घटनाक्रम नदेख्नु र नभोग्नु स्वाभाविकै हो । तर, लकडाउनअघिकै कुरा यहाँ सेयर गर्न गइरहेकी छु ।

कामविशेषले एकजना चिनजानकी दिदीकहाँ गएकी थिएँ । उहाँ आफ्नै घरको एउटा कोठा धमाधम खाली गरिरहनुभएको थियो । मलाई लाग्यो, भाडा लगाउनलाई होला ।

सोधें, दिदी कोठाभाडा लगाउन खाली गर्नुभएको ? दिदीले अनुहार अलि मलीन लगाएर ‘हैन’ भन्दै ग्लुले टाँसेको कार्पेट निकाल्न थाल्नुभयो ।

पछि उहाँले भन्नुभयो, ‘नानी नछुने भएर स्कूलबाट फोन आएको थियो, अनि नानीलाई राख्न खाली गरेको ।’

कल्पना भण्डारी

मनमनै सोचें, पहिलोपल्ट महिनावारी भएर होला, नयाँ कार्पेट हाल्नलाई पुरानो निकालेको । कति राम्रो विचार ! शिक्षित आमाबुबा हुदाँ भन्ने लागेर सोधें, ‘कार्पेट पुरानो भयो भनेर नयाँ राखिदिनुभएको ?’

‘हैन । पहिलोपल्ट नछुने हुँदा कार्पेट निकाल्नुपर्छ ।’

मैले थप कारण सोध्न चाहिनँ र भनें, ‘नानीलाई भेट्न मिल्छ ? म जान्छु नि ।’

मसँग मेरो एघार बर्षको छोरो थियो । उहाँले भन्नुभयो, ‘बाबुले त हेर्नुहुन्न, घर पुर्‍याएर आउनु न है…।’

म अवाक भएँ । केही प्रतिकृया दिइनँ ।

घरमा आएर सोचें, ती नानीलाई भेट्न जसरी भए नि जानैपर्छ ।

माघको चिसो दिन । घाम पनि राम्रोसँग लागेको थिएन । जुन कोठा अघिल्लो पल्ट जाँदा दिदी सफा गर्दै हुनुहुन्थ्यो, त्यही अगाडि गएर ढकढक पारें । सबैतिर सुनसान थियो । दिदीलाई बोलाएँ । दिदी बारीमा रायोको साग टिप्दै हुनुहुन्थ्यो, मलाई देखेर आउनुभयो ।

म नानी सुतेको बिस्तरामा बस्न आँटेकी थिएँ, दिदीले त्यहाँ त हुँदैन बैनी भनेर टुल दिनुभयो । नानी भएको कोठामा लिएर जानुभयो । अँध्यारो कोठा । चिसो भुइँ । एउटा पलङ्ग र त्यसमा बिछ्याएको सानो डस्ना । छेउमा सानो टेबल । झ्यालमा टम्म पारेर पर्दा लगाएको ।

कस्तो अँध्यारो कोठा ? पर्दा किन नखोल्नुभएको ? मेरो प्रश्नको जवाफमा दिदीले पर्दा खोल्नुको साटो बत्ति बाल्नुभयो ।

धेरै रगत बगेर जाने हुनाले यो समयमा शरीर शिथिल बनेको हुन्छ र शरीरलाई विभिन्न प्रकारका भिटामिन आवश्यक पर्छ । सूर्यबाट आउने भिटामिन डीबाट १२ दिनसम्म बञ्चित हुँदा कलिलो शरीरलाई उल्टै हानी पुर्‍याउँछ भन्ने कुरा नबुझ्नु कहाँसम्मको मूर्खता होला ?

नानी लाज मानिरहेकी थिइन् । परिस्थिति अलि सहज लागेन । त्यसैले, मैले अर्को विषयमा कुरा निकालें । एकछिनपछि नानी तिमीलाई कस्तो छ, पेट, खुट्टा, ढाड, कम्मर दुखेको छ कि छैन भनेर सोधें । अप्ठ्यारो मानीमानी उनले आधाउधि उत्तर दिइन् ।

म त्यहीँ हुँदाहुँदै एकजना महिला आउनुभयो । कुनै प्राइभेट संस्थामा जागिरेजस्तो लाग्यो । आफैं कार चलाएर आउनुभएको थियो । उहाँ पनि नानीलाई पहिलोपल्ट महिनावारी भएको भनेर फलफूल, लत्ताकपडा लिएर भेटन आउनुभएको रहेछ । मैले त यस्तो चलन पहिलोपल्ट देख्दैख थिएँ ।

महिनावारीकै विषयमा कुराहरु भए । मैले भनें- यो एउटा प्राकृतिक प्रकृया हो । पहिला–पहिला थाहा नभएर महिनावारीलाई जटिल बनाइएको हो । अब त हाम्रो पुस्ताले नराम्रा कुराहरुमा परिवर्तन ल्याउनु आवश्यक छ ।

उनले सहज तरिकाले भनिन्, ‘हाम्रो परिवारमा त यसरी नै बार्ने गरेको छ र म पनि एघार दिनसम्म कसैलाई नहेरी बसेको हो ।’

मलाई अचम्म लाग्यो ।

झण्डै २८/२९ बर्षअगाडि म पहिलोपल्ट महिनावारी हुँदा यसरी कालो कोठामा बसेकी थिइनँ । कक्षा ९ को वार्षिक परीक्षा चलिरहेको थियो । घरबाटै सधैं झैं परीक्षा दिन गएको थिएँ । बुबा, हजुरबुबा, काका, दाजु, भाइ सबै घरमै थिए । भान्सामा र पूजा गर्ने ठाउँमा जान मनाही थियो । त्यहीमाथि वार्षिक परीक्षा भएकाले अरु काम पनि हुने भएन । केही मात्रामा असजिलो त हुने नै भयो ।

अहिले मलाई थप कुरा बुझ्न मन लाग्यो र सोधें, अरु के–के गर्नु हुदैन तपाईहरुको चलनमा ?’

उहाँहरुले भन्नुभयो, पुरुषलाई हेर्नु, भेट्नु हुँदैन चाहे त्यो आफूभन्दा सानो किन नहोस् । सूर्य हेर्नु हुँदैन ।’

मैले सोधें, ‘किन ?’

‘पाप लाग्छ’ भन्ने जवाफ आयो । म अक्क न बक्क भएँ । पर्दा नखोलेर बत्ति बाल्नु अनि मेरो छोराले नानीलाई हेर्नुहुँदैन भनेको अर्थ बल्ल बुझें ।

काठमाडौंमा जिजुबाजेका पालादेखि नै बस्दै आउनुभएको । आमाबुबा दुबै जागिरे । पहिलोपल्ट महिनावारी हुँदा बाह्र दिन अँध्यारो कोठामा दिनभरि एक्लै राखेर सूर्य हेर्नुहुँदैन भन्नु कहाँसम्मको वैज्ञानिक र व्यवहारिक कुरा हो ?

महिनावारीको समयमा शरीरबाट धेरै रगत बगेर जाने हुनाले यो समयमा शरीर शिथिल बनेको हुन्छ र शरीरलाई विभिन्न प्रकारका भिटामिनको आवश्यकता पर्छ । सूर्यबाट आउने भिटामिन डीबाट १२ दिनसम्म बञ्चित हुँदा कलिलो शरीरलाई उल्टै हानी पुर्‍याउँछ भन्ने कुरा नबुझ्नु कहाँसम्मको मूर्खता होला ?

राजधानीमा नै यस्तो अवस्था छ भने दूरदराजका गाउँहरुमा महिनावारी हुँदा ओढारमा बस्नु कुन नयाँ कुरा भयो र । शहरका शिक्षित भनिएका अभिभावकहरुले नै महिनावारीलाई जटिल तरिकाले बुझिदिँदा छोरीहरुको कलिलो मानसिक स्वास्थ्यमा परेको नकारात्मक असरका बारेमा बुझिदिने कसले ?

दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामाजिक संघ/संस्थाहरु छाउपडी प्रथा हटाउन लागेको दशकौं भइसक्दा पनि यसले दिएको नतिजा नगन्य नै मान्दा फरक नपर्ला । पश्चिम नेपालका गाउँहरुमा छाउगोठहरु भत्काउने काम भइरहँदा नयाँ छाउगोठ बन्ने क्रम पनि जारी नै छ ।

मन्त्री, प्रमुख जिल्ला अधिकारी, सभासदहरुले छाउगोठ भत्काएर राजधानी वा जिल्ला सदरमुकाममा आइपुग्दा नयाँ छाउगोठ बनि सक्छन् । वा ओढारहरुलाई नै छाउगोठका रुपमा प्रयोग गर्न थालिन्छ । बर्सेनि धेरैको संख्यामा छाउगोठमा सर्प, बाघ, चितुवाले खाएर महिलाले मृत्युवरण गरेका घटना हाम्रा सामु छन् ।

यसरी हेर्दा छाउगोठ भत्काउँदैमा समस्या समाधान हुने होइन, मानिसको मानसिकता र व्यवहारमा परिवर्तन नआउञ्जेलसम्म छाउगोठहरु बनिरहनेछन्, भत्किरहनेछन्, महिलाहरु मरिरहनेछन् र बाँच्नेहरुको मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव परिरहनेछ ।

पश्चिम नेपालका गाउँहरुमा मात्र हैन, नेपालभरि निम्न माध्यमिक स्तरको विद्यालय जाने बालिकाहरुका आमाबुबा दुबैलाई मर्यादित महिनावारीका विषयमा सकारात्मक ढंगले परामर्श गर्नुपर्ने देखिन्छ ।

अहिलेको परिवेश हेर्दा लगभग चारदेखि सात कक्षासम्मका बालिकाका अभिभावकहरुलाई बोलाएर आफ्ना छोरीहरुको पहिलो महिनावारी वा महिनावारीको समयमा के–कस्तो व्यवहार गर्ने भनेर उचित जानकारी दिनु आवश्यक देखिन्छ ।

एउटै भूगोल भित्र पनि कति समाज र परिवारले महिनावारीलाई सहज तरिकाले लिने र बार्ने चलन नभएको पाइन्छ भने धेरै परिवारहरुले बार्ने गरेको पाइन्छ । एउटै विद्यालयमा अरु साथीहरुको घरमा महिनावारीलाई सहजरुपमा लिने तर आफ्नो घरमा चाहिँ कडिकडाउ हुँदा छोरीहरुलाई मेरो परिवारले किन यो विषयमा नबुझेको होला भनेर नकारात्मक असर पर्न सक्छ ।

हामीले हाम्रा छोरीहरुको कलिलो मानसिकतामा बोझिलो भारी बोकाउनु कदापि हुँदैन । महिलाहरुमा हुने यो प्राकृतिक प्रकृया हो भनेर यसलाई सहज र सरलरुपमा लिन अभ्यस्त गराउनुपर्छ ।

महिनावारीको समयमा आवश्यक पर्ने सामाग्रीहरुको व्यवस्था गरिदिनु आमाबुबाको कर्तव्य हो । आमाहरुले मात्र हैन, बुबाहरुले पनि महिनावारीबारे खुलेर छोरीहरुसँग अन्तरक्रिया गर्नुपर्छ । यसरी बुबाहरुले पनि महिनावारीका बारेमा कुराकानी गर्दा छोरीहरुको मनबाट एक प्रकारको डर भागेर जान्छ ।

अहिले लकडाउनको समयमा हामी सबै घरभित्र छौं, यो समयमा महिनावारी हुने उमेर भएका हाम्रा धेरै छोरीहरु छन्, उनीहरुलाई हामी आफैंले राम्रोसँग महिनावारीबारे बताउनुपर्छ । आमाबुबा साथमा नहुनेहरुलाई अभिभावकले सकारात्मक तरिकाले सिकाउनुपर्छ ।

आफ्नो आर्थिक अवस्था हेरेर महिनावारीका बेलामा छोरीहरुलाई पोसिलो खानेकुराको व्यवस्था गरिदिन सक्यो भने हाम्रा छोरीहरु हामीप्रति कृतज्ञ हुनेछन् । र, उनीहरु महिनावारी भएको समयमा पनि साथीहरुसँग विद्यालयमा निर्धक्क र निस्फिक्रीका साथ हाँस्न सक्नेछन् र भन्नेछन्, महिनावारी हुँदा म अँध्यारो कोठामा परिवारका सदस्यसँग अलग भएर, बुबा, दाजुभाइ र घाम नहेरी बस्ने हैन, नियमित विद्यालय आएर पढ्दै साथीहरुसँगै खेल्ने हो !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment