Comments Add Comment

अध्यात्मको चरम पद के हो ?

एउटा मान्छे जन्मिन्छ, ५ वर्षसम्मको उमेर उसलाई आफ्नो सामान्य शारीरिक विकासको लागि नै आवश्यक हुन्छ । ५ वर्ष पुग्दा नपुग्दै उसको विद्यालय जीवन सुरु हुन्छ । त्यसपछि विद्यालयमा स्तरको संघर्षमा ऊ लाग्छ । दोस्रो भए पहिलो हुने लोभ, पहिलो भए अझ उत्कृष्ठ हुने आशैआशामा उसको विद्यालय जीवन सकिन्छ । त्यसपछि ऊ रोजगारीमा लाग्न थाल्छ । रोजगारी र घरपरिवारमा पनि उत्कृष्ट हुने प्रयासमा उसको जीवन जान्छ । पैसा कमाउँदाकमाउँदै उसको जीवन जान्छ, यही तदर्थवादमा अडिएको छ जीवन । अर्काेतर्फ कोही हुन्छन् स्कुल तहदेखि नै ढुक्क खालका । अन्तिम बेन्चमा बसेर ढुक्कसँग दिन कटाउनेहरूको पनि जीवन चलेकै हुन्छ । उनीहरूको दौडधुप पनि कमै हुन्छ, यी दुईमध्ये तर आखिर कुन जीवन सरल छ त ?

जीवनलाई सरल बनाउने या कठिन भन्ने कुरा आफूले जीवन जिउने कलामा आधारित हुन्छ । यही जीवनलाई सरल रूपमा जिउन सिकाउने ज्ञान नै अध्यात्म ज्ञान हो । अध्यात्म आफैंभित्रबाट प्रकट हुने एक किसिमको ज्ञान हो । जुन कुनै स्कुलमा गएर सिक्ने नभई ध्यान र चिन्तनबाट आफैँ उत्पन्न हुने गर्छ । यो ज्ञानका बारेमा त्यतिबेला मात्रै हामीले थाहा पाउन सकिन्छ, जतिबेला हामी आत्माको गहिराईमा पुग्ने गर्छाैं ।

हामी पद, पैसा र प्रतिष्ठाको लागि दिनहुँ मरिहत्ते गर्छाैं । आफूलाई अरूसँग तुलना गरेर आफूलाई अरूभन्दा कमजोर ठान्ने गर्छाैं । जब व्यक्ति आध्यात्मिकता वा ध्यानको बाटोमा हिँड्न थाल्छ, त्यसपछि त्यो व्यक्ति सांसारिक जीवनबाट मुक्त भएका विद्वानहरूले जुन मार्ग भन्छन् त्यही मार्गको अनुयायी बन्ने गर्छ । त्यसपछि मान्छेले मुक्ति वा समाधि शर्तलाई पालना गर्न थाल्छ । जीवनलाई सरल बनाउँदै लैजाने गरिन्छ ।

ब्रह्मवैवर्त पुराणका अनुसार त्यहाँ अध्यात्ममा चार प्रकारका पदहरू छन्

१.ब्रह्मपद

२. रुद्रपद

३. विष्णुपद

४.परमपद (सिद्ध पद)

ब्रह्मापद – ब्रह्म पद सबैभन्दा ठूलो आध्यात्मिक पद हो । यो अवस्थालाई अवर्णनीय वा अव्यक्त पद मान्ने गरिन्छ । यस अवस्थामा व्यक्ति ब्रह्मलीन हुन पुग्छ ।

रुद्रपद – रुद्रपद विष्णुपद भन्दा फरक मानिन्छ । जबकि यो पदमा पुगेको व्यक्ति अखण्ड समाधिमा लीन हुने गर्छ ।

विष्णुपद – विष्णुपद सिद्धपदभन्दा माथिल्लो चरण हो । सिद्ध भएपछि व्यक्ति मोक्षतर्फ उन्मुख हुन्छ भने यो चरणमा व्यक्ति स्थिर हुन्छ ।

परमपद – जब एक व्यक्तिले आध्यात्मिक अभ्यास सुरु गर्छ, सबैभन्दा पहिले ऊ सिद्ध हुन्छ । यो सिद्धपदलाई परमपद पनि भनिन्छ ।

अध्यात्ममा समाधि

भक्ति सागरमा ३ प्रकारको समाधिको वर्णन गरिएको छ

१.भक्ति समाधि

२. योग समाधि

३ ज्ञान समाधि

भक्ति समाधि – भक्तमार्फत व्यक्तिले परमपद प्राप्त गर्छ ।

योग समाधि – अष्टांग योगको पालना गरेर व्यक्तिले परमपद प्राप्त गर्न सक्छ ।

ज्ञान समाधि – एक व्यक्तिले ज्ञानको माध्यमबाट पनि मोक्ष प्राप्त गर्न सक्छ ।

शैव मार्गमा समाधिको ६ वटा प्रकार बताइएको छ । जसलाई छवटा मुक्तिमार्ग पनि भन्ने गरिन्छ ।

१. साष्ट्री (ऐश्वर्य)

२. सालोक्य (संसारको प्राप्ति)

३. सरूप (ब्रह्मा स्वरूप),

४. सामीप्य, (ब्रह्मको नजिक),

५. साम्या (ब्रह्म समान),

६. लीनता वा सयुज्य (ब्रह्ममा लीन हुनु)

महर्षि पतञ्जलिले समाधि, मुक्ति वा पदलाई दुई प्रकारमा विभाजन गरेका छन् ।

१. सम्प्रज्ञात समाधि

२. असाम्प्रज्ञात

सम्प्रज्ञात समाधिः तपस्वी वा योगीले आफूलाई सांसारिक चीजहरू (भौतिक चीजहरू) बाट अलग राख्छन् र मन वा दिमागबाट आफ्नो इच्छालाई त्याग्दछन् भने त्यसलाई सम्प्रज्ञात समाधि भन्ने गरिन्छ ।

२.असम्प्रज्ञात समाधि : यस समाधिमा व्यक्तिलाई आफूले ध्यान गर्दैछु भन्ने ज्ञान समेत हुँदैन । ती व्यक्तिहरूले ध्यानबाहेक अरू केही महसुस गर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment