Comments Add Comment

कोटेश्वरका व्यापारी सडकमा, सहज रुपमा व्यवसाय चलाउन दिन माग

३० भदौ, काठमाडौं । निषेधाज्ञाको विरोधमा कोटेश्वरका व्यापारीहरुले प्रदर्शन गरेका छन् । लामो समय भइसक्दा पनि अझै निषेधाज्ञा पूर्ण रुपमा नहटाइएको भन्दै कोटेश्वर व्यवसायी संघले मंगलबार विहान प्रदर्शन गरेको हो ।

अब निषेधाज्ञा पूर्णरुपमा खुलाई सहज रुपमा व्यापार व्यवसाय गर्न पाउनुपर्ने संघको माग छ । करिब ४ महिना लकडाउन र त्यसपछिको निषेज्ञाधाका कारण व्यवसायीहरु निकै ठूलो समस्यामा फस्न लागेको संघका अध्यक्ष सरोज थापाले बताए । सधैं घरभित्र थुने कोरोनाभन्दा पनि भोकले मर्ने अवस्था आउने भन्दै अब सहज बनाउनु पर्ने अध्यक्ष थापाको माग छ ।

बन्दाबन्दी अवधीभरको बैंक तथा वित्तीय संस्थाहरुको ब्याज मिनाहा गर्नुपर्ने, करको जरिवाना मिनाहा गर्नु पर्ने घरभाडामा सहुलियत दिनु लगायतका मागहरु संघले अघि सारेको छ ।

बन्दाबन्दीका कारण व्यवसायीहरु समस्यामा परेको भन्दै विभिन्न मागहरु राखेर नेपाल राष्ट्रिय व्यवसायी महासंघ पनि आन्दोलनमा छ । केही दिनयता महासंघले सरकार तथा विभिन्न राजनीतिक दलका नेताहरुलाई भेटेर ज्ञापन पत्र बुझाउँदै आएको छ ।

महासंघले केही दिनअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठलाई भेटेर आफ्ना मागहरु पूरा गर्न ध्यानाकर्षण गराएको थियो । त्यसपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पनि आफ्नाहरु पूरा गराउन भूमिका खेलिदिन आग्रह गरेको थियो ।

सोमबारमात्रै पनि महासंघले पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईलाई भेटेर आफ्ना मागहरुबारे जानकारी गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment