Comments Add Comment

रुसले भारतलाई १० करोड डोज कोरोना खोप बेच्दै

३१ भदौ, काठमाडौं । रुसको सोभरेनवेल्थ फण्डले भारतमा १० करोड डोज कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप आपूर्ति गर्ने सम्झौता गरेको छ । रुसले कोरोना भाइरसविरुद्धको पहिलो खोप दाबी गरेको स्पुतनिक भी भारतीय औषधि कम्पनी डाक्टर रेड्डिज ल्याबरेटरिजलाई फण्डले आपूर्ति गर्न लागेको हो । पछिल्लो समय आफ्नो खोपको वितरण विश्वभर विस्तार गर्ने दिशामा अघि बढिरहेको रुसले बुधबार यस्तो जानकारी दिएको हो ।

रुसको प्रत्यक्ष लगानी कोष (आरडीआईएफ) र भारतीय कम्पनीको बीचमा भारतमा ३० करोड डोज खोप उत्पादनको सम्झौता भएसँगै भारतलाई १० करोड डोज खोप दिने सम्झौता भएको हो । रुसका लागि भारत तेल तथा सैन्य सामग्रीको प्रमुख खरिदकर्ता मुलुक हो ।

आरडीआईएफका अनुसार भारतको रेड्डिज ल्याबरेटरिजले स्पुतनिक भीको तेस्रो चरणको क्लिनिकल परीक्षण भारतमा पनि गर्नेछ । भारतमा कोरोना खोपको आपूर्ति सन् २०२० को अन्तिमबाट सुरु हुन सक्ने आरडीआईएफले बताएको छ ।

अहिले भारतमा कोरोना भाइरसका ५० लाखभन्दा बढी कोरोना भाइरसका संक्रमित छन् भने ८२ हजारभन्दा धेरैको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

यसअघि नै आरडीआईएफले काजाकिस्तान, ब्राजिल र मेक्सिकोसँग खोप आपूर्तिको सम्झौता गरिसकेको छ । अहिलेसम्म कोरोना भाइरसविरुद्धको खोपको घोषणा गर्ने पहिलो मुलुक हो । यद्यपि अझैसम्म पनि खोपको तेस्रो चरणको क्लिनिकल परीक्षण भने सकिएको छैन ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment