Comments Add Comment

संक्रमित संख्या बढेसँगै भारतमा अक्सिजन अभाव

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या बुधबार ५० लाख नाघेको छ । कोरोना संक्रमितको संख्या बढेसँगै भारतमा गम्भीर अवस्थामा पुगेका कोरोना भाइरसका बिरामीको लागि अक्सिजन आपूर्तिको पनि अभाव चुलिएको छ ।

भारतको महाराष्ट्र, गुजरात र उत्तर प्रदेशमा कोरोना संक्रमण उल्लेख्य मात्रामा फैलिएको छ, जहाँ अक्सिजनको माग तीनगुणाभन्दा धेरैले बढेको डाक्टरहरु र सरकारी अधिकारीहरुले बताएका छन् ।

राज्य सरकारहरुले तत्काल सहयोगको लागि केन्द्रीय सरकारसँग आग्रह गरेका छन् । ‘आत्तिएका बिरामीहरुले मलाई रातभर बोलाइरहेका थिए, तर म आफैंलाई कहिले अक्सिजन आउँछ भन्ने थाहा छैन’, पश्चिमी सहर नाशिकका अक्सिजन सप्लायर्स ऋषिकेश पाटिल बताउँछन् ।

बुधबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ९० हजार १२३ नयाँ संक्रमित थपिएका थिए । साथै सो अवधिमा कोरोना भाइरसको कारण एक हजार २९० जनाको मृत्यु पनि भएको थियो ।

भारतमा केवल ११ दिनमा १० लाखभन्दा धेरै कोरोना भाइरसका संक्रमित थपिएका छन् । कोरोना भाइरसका संक्रमितको संख्या ५० लाख नाघेको भारत अमेरिकापछि दोस्रो मुलुक हो ।

अहिले भारतमा करिब १० लाख संक्रिय संक्रमित छन्, जसमध्ये करिब ६ प्रतिशत मानिसलाई अक्सिजनको सहयोग आवश्यक पर्ने स्वास्थ्य मन्त्रालयका अधिकारी राजेश भूषण बताउँछन् । उनकाअनुसार अहिले अक्सिजनको आपूर्ति पर्याप्त मात्रामा हुन सकेको छैन । यद्यपि राज्य सरकारले प्रयोग र अभावको निगरानी गर्नु जरुरी रहेको उनको भनाइ छ । राम्रोसँग व्यवस्थापन हुन नसकेको कारण पनि समस्या उत्पन्न भएको हुन सक्ने भएकाले पत्येक राज्य सरकारले त्यसमा ध्यान दिनुपर्ने भूषणको भनाइ छ ।

अक्सिजन सिलिण्डरको माग बढ्यो

सबैभन्दा बढी जनघनत्व रहेको उत्तर प्रदेशको राजधानी लखनउमा अक्सिजनको माग पाँच हजार सिलिण्डर पुगेको छ । जबकी सामान्य अवस्थामा एक हजार सिलिण्डर मात्र थियो ।

कोरोना भाइरसको कारण सबैभन्दा प्रभावित बनेको महाराष्ट्रले आफ्नो राज्यमा अक्सिजनको माग अत्याधिक चुलिएसँगै छिमेकी राज्यमा गर्दै आएको आपूर्ति घटाएको छ । अहिले सिलिण्डर बोक्ने गाडीले पनि साइरन बजाउन पाउने व्यवस्था गरिएको छ, जसको कारण उनीहरु छिटो अस्पताल पुग्न सक्छन् ।

मुम्बईमा एक निजी अस्पताल चलाउँदै आएका डाक्टर रवीन्द्र खाडे पाटिल आफ्ना बिरामीहरुलाई अक्सिजन व्यवस्था गर्नको लागि ठूलो कठिनाइको सामना गर्नुपरेको बताउँछन् । दुई दिनअघि मात्र उनको अस्पतालमा अक्सिजन आपूर्ति गर्नेले सधैं आउने समयमा आक्सिजन ल्याउन सकेन ।

पाटिलले तत्कालै आपूर्तिकर्ता, नजिकैका अस्पताल र राजनीतिज्ञहरुलाई सम्पर्क गरेर अक्सिजन नआएको भन्दै सहयोगको लागि आग्रह गरे । किनकी अक्सिजनको अभाव भएको अवस्थामा केही गम्भीर बिरामीको ज्यान जोखिममा पर्छ भन्ने चिन्ता उनलाई थियो । र, सरकारी अधिकारीको चर्को दबाबपछि गएको मध्यरातमा अक्सिजन सिलिण्डरहरु आइपुगे । ‘यदि अक्सिजन दुई घण्टामात्र ढिला आएको भए हामीले पाँच वा ६ जना बिरामीलाई गुमाउनुपथ्र्यो । प्रत्येक दिन हामी आवश्यकता अनुसार अक्सिजन उपलब्ध गराउन सक्छौँ कि सक्दैनौं भन्ने चिन्तामा हुन्छौं’, उनले भने ।

स्रोत : अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment