
१ असोज, वीरगञ्ज । प्याजको कृतिम अभाव देखाई कालोबजारी भइरहेको सूचना जिल्ला प्रहरी कार्यालय बारामा आयो । प्रहरी टोली कालो बजारी कहाँ भइरहेको छ भन्दै बजार अनुगमनमा निस्कियो । थोकमा प्याज बिक्री गर्ने पसलहरु चाहारे । कतिपय पसलमा प्याज नै रहेनछ, कतिपय पसल खुलेकै रहेनछन् ।
कलैया उपमहानगरपालिका–१ स्थित खुशी स्टोर्स खुलेको र प्याज पनि रहेको पत्ता लाग्यो । सादा पोशाकका प्रहरीसहित एकजना सर्वसाधरणलाई खुशी स्टोर्समा प्याज किन्न लगाइयो ।
प्याज कति रुपैयाँ किलो हो ? भनेर सोध्दा उताबाट ८० रुपैयाँ भनेर जवाफ आयो । १० किलो प्याज जोख्न लगाइयो । पैसा तिरेपछि ग्राहकले बिल मागे । बिल हातमा आइसकेपछि सादा पोशाकका प्रहरीहरुले व्यापारीलाई खरिद बिल देखाउन भने । ८० रुपैयाँमा बिक्री हुँदै गरेको प्याज त जम्मा ४३ रुपैयाँमा पो खरिद गरिएको रहेछ ।
प्याजको कालोबजारी गरेको पाइएपछि पसलका सञ्चालक कलैया उपमहानगरपालिका–१ बस्ने चन्दन साहलाई प्रहरीले पक्राउ गरेको छ । खरिद गरेको भन्दा झण्डै दोब्बर मुल्य नाफा राखेर प्याज बिक्री गरेको पाइएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्र बताउँछन् ।
प्रहरीले खुशी स्टोरमा राखेको प्रति बोरा १९ किलो प्याज भएको १४ बोरा र प्रति बोरा ४८ किलो प्याज भएको ४ बोरा गरी जम्मा ४ सय ५८ किलो ग्राम प्याज पनि बरामद गरेको छ ।
सञ्चालक साहलाई कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4