Comments Add Comment

चितवनमा कोरोनाबाट १७ जनाको मृत्यु, १५ सयबढी संक्रमित

२ असोज, चितवन । चितवनमा कोरोना संक्रमणबाट हालसम्म १७ जनाको मृत्यु भएको छ भने १५ सय १४ जना संक्रमित बनेका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार १५ जनाको विभिन्न अस्पतालमा उपचारका क्रममा र २ जनाको घरमै मृत्यु भएको हो ।

सबैभन्दा वढी भरतपुर महानगरपालिकामा १० जनाको मृत्यु भएको छ । त्यसमा पनि ६ जना वडा नम्बर ११ कै छन् । यस्तै कोरोना संक्रमणबाट रत्ननगरमा ३ जना, खैरहनी र राप्ती नगरपालिकामा कोरोनाबाट २/२ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ ।

यस्तै चितवनका विभिन्न अस्पतालमा उपचारका क्रममा अरु जिल्लाका १४ जनाको मृत्यु भएको छ ।

जिल्लामा संक्रमित मध्ये ६१९ जना महिला र ८९५ पुरुष छन् । संक्रमितमध्ये धेरै भरतपुर महानगरका ९ सय ९२ जनामा छन् । यस्तै रत्ननगरमा नगरपालिकामा १ सय ८८ जनामा कोरोना देखिएको छ । राप्तीमा नगरपालिकामा १२३, खैरहनी नगरपालिकामा ६९, माडी नगरपालिकामा ५५, कालिका नगरपालिकामा ५५ जना र इच्छाकामना गाउँपालिकामा १३ जनामा कोरोना देखिएको छ । चितवनमा अहिले एक हजार सात सक्रिय संक्रमित छन् ।

अहिलेसम्म ४९० जना डिस्चार्ज भएर घर गएका छन् । होम आइसोलेसनमा ५ सय ८६ जना छन् ।

भरतपुर अस्पतालले संञ्चालन गरेको कोभिड १९ प्रयोगशालामा हालसम्म करीव २५ हजार नमूना परीक्षण गरिएको छ, जसमध्ये २१ हजार चितवनका हुन् भने अन्य बाहिरी जिल्लाका हुन् ।

भरतपुर अस्पतालमा अहिले ५७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ, जसमध्ये ७ जना आईसीयूमा छन् ।

पुरानो मेडिकल कलेज भरतपुरमा २४ जना कोरोना संक्रमितको उपचार भइरहेको अस्पतालका निर्देशक डा. मनोहर प्रधानले जानकारी दिए । दुई जना आइसियूमा छन् । चितवन मेडिकल कलेज भरतपुरमा २ सय २४ जना कोरोना संक्रमितले उपचार गराएका छन् । अहिले आइसियूमा ३८ जना र भेन्टिलेटरमा ५ जना संक्रमितले उपचार गराइरहेको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

पछिल्लो समयमा संक्रमणको दर बढ्दै गएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यलयमा प्रमुख दीपकबाबु तिवारीले निषेधाज्ञा खुकुलो भएसँगै संक्रमणको अनुपात बढ्दै जान सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment