Comments Add Comment

सदस्य सचिवसहित १९ खेलकर्मीलाई पदक तथा विभूषण

काठमाडौं । नेपाल सरकारले संविधान दिवसका अवसरमा खेलकुद क्षेत्रका १९ जनालाई विभिन्न पदक तथा विभूषण प्रदान गर्ने भएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रमेशकुमार सिलवालसहित १९ जना खेलकुद क्षेत्रका व्यक्तित्वले पदक तथा विभूषणबाट विभूषित हुन लागेका हुन् ।
सरकारले राखेपका सदस्य सचिव रमेशकुमार सिलवाललाई सुप्रबल जनसेवा श्री (तृतीय)बाट विभूषित गर्दैछ । यस्तै तेक्वान्दोकी कीर्तिमानी खेलाडी तथा प्रशिक्षक संगिना वैद्य र प्रशिक्षक तुलसीकुमार गुरुङलाई प्रबल जनसेवा श्री (चतुर्थ)बाट र राखेपका प्रशासन विभागका प्रमुख कुलबहादुर थापालाई कीर्तिमय राष्ट्रदीप (चतुर्थ)बाट विभूषित गर्ने भएकाे हाे ।
सरकारले विभागीय टिमबाट अन्तराष्ट्रिय पदक जितेका १५ जनालाई समेत विभिन्न पदकबाट विभूषित गर्ने भएको छ ।
जसमा १२औं सागमा म्याराथनमा स्वर्ण जितेका शसस्त्र प्रहरी बल (एपीएफ)बाट एथ्लेटिक्सका किरण सिंह बोगटी र जुडोकी देविका खड्का सुकीर्ति पदकबाट विभूषित हुने भएका छन् ।
यस्तै, पुलिसका ७ खेलाडी सरकारबाट विभूषित हुने सूचिमा परेका छन् । पुलिसबाट भारत्तोलनका विकास थापा, तेक्वान्दोका कमल श्रेष्ठ र विर बहादर महरा, बक्सिङका भुपेन्द्र थापा, करातेका सुनिता महर्जन, सरु कार्की र महशुश मोक्त्तान नेपाल प्रताप भूषणबाट विभूषित हुने भएका छन् ।
यसैगरी आर्मीका पारा क्रिकेटर हिमाल टमाटा परम पौरख भास्करबाट विभूषित हुने भएका छन् भने आर्मी अन्तर्गतनै तेक्वान्दोका सञ्जिब ओझा, मिनु गूरुङ, संगीता मगर तथा बक्सिङका मिनु गुरुङ र कराँतेका प्रविन मानन्धर सुकीर्ति पदकबाट विभूषित हुने भएका छन् ।
सरकारले यस वर्ष ५ सय ९४ जनलाई विभिन्न मानपदवी र अलंकार र पदकबाट विभूषित गर्ने घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment