Comments Add Comment

क्रिस्टल प्यालेससँग युनाइटेड स्तब्ध, आर्सनल र एभरटनको लगातार दोस्रो जित

म्यानचेस्टर युनाइटेड प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमै पराजित भएको छ । आर्सनल र एभरटनले लगातार दोस्रो जित हात पार्दा नवप्रवेशी लिड्स युनाइटेडले पनि पहिलो जित हात पारेको छ ।

युनाइटेडलाई स्तब्ध पारेको क्रिस्टल प्यालेसले पनि लगातार दोस्रो जित हात पारेको छ । शनिबार राति भएको सिजनको पहिलो खेलमा युनाइटेड घरेलु मैदानमै क्रिस्टल प्यालेससँग ३-१ गोल अन्तरले पराजित भएको हो ।

युनाइटेडलाई उसैको मैदान ओल्ड ट्राफोर्डमा पराजित गर्न क्रिस्टलका लागि विल्फ्रेड जाहाले दुई गोल गरे । यस्तै एन्ड्रोस टाउनसेन्टले एक गोल गरे । युनाइटेडका लागि प्रिमियर लिगमा डेब्यु गरेका डच खेलाडी डोनी भान डी विकले एक गोल फर्काए ।

खेलको सातौं मिनेटमै टाउनसेन्डले गोल गर्दै क्रिस्टललाई १-० को अग्रता दिलाएका थिए । ७४ औं मिनेटमा जाहाले पेनाल्टीमा गोल गर्दै क्रिस्टलको अग्रता दोब्बर पारे । युनाइटेडका भिक्टर लिन्डलोप्ले ह्यण्ड गरेपछि क्रिस्टलले पेनाल्टी पाएको थियो । जसमा जोर्डन एयुको पेनाल्टी प्रहार युनाइटेडका गोलकिपर डे हेअले बचाए । तर, डे हेअले पेनाल्टी रोक्दा नियम विपरीत अघि बढेको भन्दै भीएआरको सहायताबाट क्रिस्टललाई पुन: पेनाल्टीको अवसर दिइएको थियो । उक्त अवसरमा जाहाले सहजै गोल गरे ।

युनाइटेडका लागि ८०औं मिनेटमा डे विकले गोल गर्दै गोलअन्तरमा २-१ मा झारे । तर ८५ औं मिनेटमा जाहाले व्यक्तिगत दोस्रो गोल गरेपछि क्रिस्टल ३-१ ले विजयी भयो । लगातार दोस्रो जितपछि क्रिस्टल प्यालेसले २ खेलमा ६ अंक जोडेको छ । क्रिस्टलले पहिलो खेलमा साउथह्याम्पटनलाई १-० ले हराएको थियो ।

आर्सनलको लगातार दोस्रो जित

नयाँ सिजन उत्कृष्ट सुरुवात गरेको लण्डन क्लब आर्सनलले प्रिमियर लिगमा लगातार दोस्रो जित हात पारेको छ । शनिबार राति घरेलु मैदानमा आर्सनलले वेस्टहम युनाइटेडलाई २–१ ले हरायो । अलेक्जेन्डर लाकाजेटले खेलको २१औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।

मिचेल एन्टोनीयोले पहिलो हाफको अन्तिम समयमा वेष्टहमका लागि गोल गर्दै खेल बराबरीमा ल्याए । तर ८५औं मिनेटमा एडवार्ड एनकेतिहले निर्णायक गोल गरेपछि आर्सनलले वेष्टहमलाई २-१ ले हरायो । एनकेतिह ७७ मिनेटमा लाकाजेटको स्थानमा मैदान प्रवेश गरेका थिए ।

लगातार दोस्रो जितपछि आर्सनलले ६ अंक जोडेको छ । समान ६ अंक भएपनि गोलअन्तरमा एभरटन पहिलो र आर्सनल दोस्रो स्थानमा छ । वेष्टहमको भने यो लगातार दवस्रो हार हो ।

लेविनको ह्याट्रिकमा एभरटनको शानदार जित

डोमिनिक काल्भर्ट लेविनले ह्याट्रिक गरेपछि एभरटनले वेष्ट ब्रोमलाई ५-२ ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ । घरेलु मैदान गुडिसन पार्कमा भएको खेलमा एभरटनले एक गोलले पछि परेपनि पुनरागमन गरेको हो । वेष्टब्रोमले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो ।

एभरटनका लागि लेविनले ३१औं ६२औं र ६६औं मिनेटमा गोल गरे । यस्तै जेम्स रोड्रिगेजले ४५औं र माइकल केनले ५४औं मिनेटमा गोल गरे । वेष्टब्रोमका लागि १०औं मिनेटमा ग्यारी डिएङ्गना र ४७औं मिनेटमा म्याथ्युज परेइराले गोल गरे । ४५औं मिनेटमा वेष्टहमका किरण गिब्स रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।

लिड्सको पहिलो जित

पहिलो खेलमा साविक विजेता लिभरपुलसँग अन्तिम समयमा गोल खाँदै पराजित भएको लिड्स युनाइटेडले दोस्रो खेलमा फुलहमलाई ४-३ ले पराजित गर्दै प्रिमियर लिगमा अंकको खाता खोलेको छ ।

१६ वर्षपछि प्रिमियर लिगमा फर्केको लिड्सले घरेलु मैदानमा पहिलो जित हात पारेको हो । लिड्सका लागि हेल्डर कोस्टाले दुई तथा माथेउस क्लिज र प्याट्रिक बामफोर्डले एक एक गोल गरे । यस्तै फुलहमका लागि अलेक्जान्डर मिट्रोभिकले दुई तथा बबी रेडले एक गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment