Comments Add Comment

पशुपतिनाथ दर्शन खुला गर्न सरकारी निर्णयको प्रतीक्षा

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने गरी पशुपतिनाथ मन्दिर दर्शन खोल्ने तयारी गरेको छ ।

सरकारले निर्देशन दिनेवित्तिकै मन्दिर खोल्नको लागि दर्शनार्थीले पालना गर्नुपर्ने केही नियम बनाइएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए ।

खतिवडाका अनुसार कोषले तयार पारेको योजनालाई मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईसमक्ष प्रस्तुत गर्ने तयारी गरिएको छ । मन्त्रालय स्रोतका अनुसार त्यसपछि बस्ने मन्त्रिपरिषद्को बैठकमा पशुपति मन्दिर खोल्ने प्रस्ताव पेश गर्ने तयारी छ ।

कोषले तयार पारेको प्रस्ताव अनुसार दर्शन गर्न जाँदा २ मिटरको दुरी अनिवार्य कायम गर्नुपर्ने, साबुन पानीले हात धुनुपर्ने, थर्मल गनले ज्वरो परीक्षण गरेर मात्रै भित्र प्रवेश गराइने, मूल मन्दिरको टाढैबाट दर्शन गर्नुपर्ने, पूmलपाती र अक्षतासहित दर्शन गर्न नसकिने, दक्षिणा स्वरूप चढाइने पैसालाई मन्दिरभित्र चढाउन नपाइने, चन्दन र अबिर आफैँले लिएर जानुपर्ने जस्ता शर्तहरू राखिएको छ ।

मन्दिरमा दुईवटा ढोकाको प्रयोग गर्ने, एउटाबाट छिर्नेमात्रै र अर्काेबाट बाहिर निस्कने तयारी गरिएको कोषले जनाएको छ ।

कोषले मन्दिर परिसरभन्दा बाहिर रहेको स्यानिटाइजर प्रयोग गर्ने वा हात धुनेमध्ये एउटा विकल्प प्रयोग गर्न सकिने पनि जनाएको छ । यद्यपि सरकारले निर्णय नगरेसम्म भने मन्दिर खोल्न नसकिने डा. खतिवडाले जानकारी दिए ।

स्थानीय प्रशासनले गरेको निषेधाज्ञा अझै जारी रहेकोले देशभरका मन्दिरहरूमा नित्य पूजाबाहेक भक्तजनलाई दर्शन गर्न रोक लगाइएको छ । पशुपतिलगायत देशभरका मन्दिर खोल्न माग गर्दै केहीदिन अघि पशुपति क्षेत्रमा नै प्रदर्शन समेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment