Comments Add Comment

चितवनका ८५ वडामा संक्रमित, १३ वडा सुरक्षित

भरतपुर महानगरपालिकाको बाक्लो बसोबास क्षेत्र ।

४ असोज, चितवन । साउनको तेस्रो हप्ताबाट चितवनमा कोरोना संक्रमणको दर ह्वातै बढ्यो । जिल्लाका ठूला अस्पतालमै धेरै संक्रमित भेटिए । डेढसयभन्दा बढी स्वास्थ्यकर्मी कोरोनाबाट संक्रमित बने । अस्पतालहरुको सेवा खुम्चियो ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारीका अनुसार चितवनका कोरोना एकाएक बढ्नुमा ३ कारण छन् । यहाँका उद्योग धन्दामा वीरगञ्ज लगायतका स्थानबाट कामदार आउनु, प्रदेश २ का अधिकांश अस्पतालले कोभिडका बिरामीको मात्र उपचार गर्न थालेपछि नन कोभिड बिरामी उपचारका लागि चितवन आउनु र कृषि क्षेत्रमा काम गर्ने कामदार प्रदेश नं. २ बाट लुकीछिपी आउनु नै चितवनमा कोरोना फैलिनुको मुख्य कारण भएको उनको दावी छ ।

अहिले जिल्लाका सातवटै स्थानीय तहमा कोरोना संक्रमित छन् । केही स्थानीय तहको वडामा मात्रै कोरोना पुगेको छैन । तीन स्थानीय तहमा सबै वडामा संक्रमण पुगेको छ । जिल्लामा अहिलेसम्म ११ पुरुष र ७ महिला गरी १८ जना संक्रमितको मृत्यु भएको छ ।

६० देखि ७० बर्ष उमेर समूहका ५ जनाको मृत्यु भएको तथ्यांक स्वास्थ्य कार्यालयसँग छ ।

जिल्लाको भरतपुर महानगरपालिका र त्यसको पनि केन्द्र वडा नं. १० मा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । चितवनका धेरै अस्पताल यसै वडामा छ भने बस्ती पनि बाक्लो छ ।

चितवनमा संक्रमित १५ सय १९ मध्ये भरतपुर महानगरपालिकाको मात्रै ९ सय ९२ जना छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या पनि भरतपुरमा १० जना छ, त्यसमध्ये पनि भरतपुर– ११ का मात्रै ६ जना छन् ।
२९ वटा वडा रहेको भरतपुर महानगरपालिकामा सबैभन्दा बढी संक्रमित वडा नं. १० मा २५० जना र सबैभन्दा कम संक्रमित वडा नं. २४ मा २ जना छन् ।

भरतपुरपछि सबैभन्दा बढी कोरोना संक्रमित रत्ननगर नगरपालिकामा छन् । यहाँका नगर प्रमुख नारायण वनसमेत संक्रमित भए । नगरपालिकाका सबै वडामा कोरोना संक्रमण फैलिएको जनस्वास्थ्य निरीक्षक माधव पौडेलले जानकारी दिए ।

उनका अनुसार १६ वटा वडा रहेको रत्ननगर नगरपालिकामा सबैभन्दा बढी वडा नं. ४ मा ६० जना र सबैभन्दा कम वडा नं. ६ मा १ जना संक्रमित छन् । कोरोना संक्रमणबाट रत्ननगरमा ३ जनाको मृत्यु भएको छ । रत्ननगरमा अहिलेसम्म १८९ जना संक्रमित पुगेका छन् ।

खैरहनी नगरपालिकाको पनि सबै वडामा कोरोना भाइरस फैलिएको छ । नगरपालिकाको १३ वटा वडामध्ये सबैभन्दा बढी वडा नं. ३ र र सबैभन्दा कम वडा नं. ११ कोरोना संक्रमित छन् । खैरहनीमा दुई जना संक्रमितको मृत्यु भएको छ । नगरपालिकामा हालसम्म ९० जना संक्रमित छन् ।

कालिका नगरपालिकाको ११ वडामध्ये वडा नं. १, २, ३, ६, ७, ८, ९ मा कोरोना संक्रमित भेटिएका छन् । सबैभन्दा बढी ८ र ९ मा समान २२/२२ जना रहेको नगर स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारीले बताए ।

उनका अनुसार सबैभन्दा कम वडा नं. १, २, ३ र ६ मा समान २/२ जना छन् । कालिकामा संक्रमितको संख्या ५५ पुगेको छ । आइतबार विहान कालिका नगरपालिकाका ५५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

पूर्वी चितवनको राप्ती नगरपालिकाका १३ वडामध्ये वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, ९ मा कोरोना संक्रमित भेटिएका छन् । नगर स्वास्थ्य प्रमुख सुरेश न्यौपानेका अनुसार सबैभन्दा बढी वडा नं. ६ मा ६० जना र सबैभन्दा कम वडा नं. १ मा २ जना छन् । राप्ती नगरपालिकामा कोरोना संक्रमित दुई जनाको मृत्यु भएको छ । नगरपालिकामा अहिलेसम्म १२५ पुगेको छ ।

माडी नगरपालिकाको ९ वडामा ८ वटामा संक्रमण फैलिएको छ । नगर स्वास्थ्य प्रमुख शिव सुवेदीका अनुसार वडा नं. १ र ६ मा समान १३/१३ जना संक्रमित छन् । सबैभन्दा कम वडा नं. ३ र ४ मा १ जना रहेको सुवेदीले जानकारी दिए । माडीमा संक्रमितको संख्या ५५ पुगेको छ ।

जिल्लाको एक मात्रै गाउँपालिका इच्छाकामनाका ७ वडा मध्ये वडा नं. ३, ४, ५ मा कोरोना संक्रमित पुष्टि भएको छ । वडा नं. ५ रहेको मुग्लिन क्षेत्रमा सबैभन्दा बढी ९ जना संक्रमित छन् ।

गाउँपलिकाका जनस्वास्थ्य प्रमुख बासु सापकोटाका अनुसार सबैभन्दा कम वडा नं. ३ र ४ मा एक/एक जना संक्रमित छन् । वडा नं. ३ फिस्लिङ र वडा नं. ४ कुरिनटार, कुरिनघाट क्षेत्र पर्दछ । इच्छाकामनामा संक्रमितको १३ संख्या पुगेको छ ।

संक्रमणबाट जोगिएका १३ वडा

चितवनको भरतपुर, रत्ननगर, खैरहनीका सबै वडामा कोरोनाको संक्रमण देखिए पनि कालिका, राप्ती, इच्छाकामना र माडी नगरपालिकाका केही वडामा भने अहिलेसम्म एक जना पनि संक्रमित देखिएका छैनन् ।

राप्ती नगरपालिकाको वडा नं. ३ १०, ११, १२ र १३ गरी पाँचवटा वडामा अहिलेसम्म एक जना पनि संक्रमित नभेटिएको नगरका जनस्वास्थ्य निरीक्षक सुरेश न्यौपानेले जानकारी दिए ।

चार वडा नगरको पहाडी क्षेत्रमा पर्दछन् । लोथर, कोराना र वासवाङ क्षेत्रमा पर्ने यी वडामा चेपाङ र तामाङ समुदायको बसोवास छ । नगर स्वास्थ्य प्रमुख न्यौपानेले पहाडी क्षेत्र भएको र मानिसहरुको ‘मुभमेन्ट’ कम भएकोले संक्रमणबाट जोगिएको बताए ।

यस्तै, कालिका नगरपालिकाको वडा नं. ४, १० र ११ गरी चार वटा वडामा कोरोनाबाट एक जनालाई पनि संक्रमित बनेका छैनन् । नगर स्वास्थ्य प्रमुख दीपक भण्डारीका अनुसार वडा नं. ४ र ५ पदमपुर क्षेत्र पर्दछ भने वडा नं. १० र ११ चेपाङ बहुल क्षेत्र सिद्धि पर्दछ ।

कालिकामा बाहिरबाट आएका पोजेटिभ व्यक्तिहरुबाट समुदायमा कोरोना सार्ने काम भएको स्वास्थ्य प्रमुख भण्डारीले बताए । त्यसलाई रोक्नका लागि नगरपालिकाले प्रयास गरिरहेको उनले बताए ।

९ वटा वडा रहेको माडी नगरपालिकामा वडा नं. ९ बाहेक बाँकी सबै वडामा कोरोना संक्रमण पुगेको छ । नगर स्वास्थ्य प्रमुख शिव सुवेदीका अनुसार ठूलो भूगोल, बजार क्षेत्रसँग कम सम्पर्क, फैलिएको बस्ती भएकोले अहिलेसम्म वडा सुरक्षित रहेको हो । वडाबाट बाहिर जाने र आउने मान्छे कम हुँदा संक्रमण हुन नपाएको उनको भनाइ छ ।

यस्तै, इच्छाकामनामा वडा नं. १, ६ मा कोरोना संक्रमण पुगेको छैन । वडा नं. २ का संक्रमित एक जना भरतपुरमा नै बसोबास गरेको र वडा नं. ७ को एक जना संक्रमित कालिका नगरपालिकामा बसोवास गरेकोले वडा नं. २ र ७ पनि कोरोना संक्रमणमुक्त रहेको गाउँपालिकाका स्वास्थ्य प्रमुख बासु सापकोटाले बताए ।

‘ठेगानामात्रै वडा नं. २ र ७ हो, उहाँहरु यहाँ बस्नुहुन्न, यी वडामा बसोवास गर्ने अरु कसैलाई पनि संक्रमण नभएपछि कोरोनामुक्त नै भन्नुपर्ला’ सापकोटाले भने । उनका अनुसार वडा नं. १ र २ साविक काउले गाविसमा पर्छ भने, वडा नं. ६ साविक चण्डीभञ्याङ गाविस र वडा नं. ७ दाहाखानी क्षेत्र पर्दछ ।

भरतपुर महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक दीपकबाबु तिवारीले अहिले संक्रमण नभएका वडाहरूलाई जोगाउँदै कम संक्रमण भएका वडाहरूलाई क्रमशः कोरोना संक्रमणमुक्त बनाउँदै जानुपर्ने बताए ।

‘नागरिक सचेतना सबैभन्दा महत्वपूर्ण हुन्छ, चेतनाका हिसाबले सबैभन्दा सचेत ठाँउमा नै लापरवाही हुँदा संक्रमण मद्धत पुगेको विगतका अनुभवहरूले देखिएको छ’ प्रमुख तिवारीले भने, ‘कोरोनासँग जोगिएर बाँच्ने अभ्यास गर्नुपर्ने अवस्था आएको छ ।’

‘चितवन कोरोनाको ट्रान्जिट बन्न सक्छ’

जिल्ला प्रशासन कार्यालय चितवनले साउन ३२ गतेबाट जारी गरेको निषेधाज्ञा खुकुलो बनाएसँगै जिल्लामा चहलपहल सुरु हुन थालेको छ । जिल्लाभित्र सवारी साधन बाक्लिन थालेका छन् । बैंक वित्तीय संस्था, सरकारी कार्यालय, होटल तथा रेष्टुरेन्टहरू खुल्न थालेका छन् । रेष्टुरेन्टमा खाजा खानेहरुको भीड बढ्न थालेको छ । अन्य ब्यापार व्यवसाय पनि खुलेको छ ।

उद्योग तथा कलकारखाना पनि पूर्ववत अवस्थामा फर्किदै छन् । सडकमा सवारी र यात्रुको चाप कम गराउन जोर बिजोर प्रणाली लागु गरिएको छ ।

अबको एक महिनामा नेपालीहरुको महान पर्व दशैं आउने भएकोले मानिसहरुको आवतजावत बढ्ने र त्यसले संक्रमण फैलिन सक्ने जनस्वास्थ्यका विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

चाडपर्व नजिकिएसँगै ब्यापार पनि बढ्ने र कोरोना पनि बढ्ने बताउँछन् जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दीपकबाबु तिवारी । उनी भन्छन्, ‘अहिले संक्रमण कम भएका वा नफैलिएका क्षेत्रमा पनि कोरोना बढ्न सक्ने देखिन्छ, सावधानी कति अपनाउने भन्ने कुरा अब व्यक्ति, परिवार र समाजमा निर्भर छ ।’

चितवनमा तनहुँ, लमजुङ, गोरखा, बागलुङ, पर्वत, कास्कीलगायतका जिल्लाबाट आएर बसोबास गर्नेको बाक्लो उपस्थिति छ । उनीहरू चाडपर्वमा आफन्तजनसँग टीका लगाउन तथा भेटघाटका लागि जाने र आउने हुँदा संक्रमण गाउँगाउँसम्म पुग्न सक्ने जोखिम छ । अर्कोतिर, उपचारका लागिसमेत ती भेगबाट बिरामी चितवन नै आउने हुँदा बिरामीसँगै संक्रमण जानसक्ने विज्ञहरू बताउँछन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment