Comments Add Comment

केटाकेटीको खेलजस्तो नबनोस् डा. केसीको सत्याग्रह

सानो हुँदा घरमा अनेका माग राखेर मैले आमालाई निकै सताउँथेँ । आफ्नो माग पूरा नभएमा आमाले अह्राएको काम नगर्ने, नबोल्ने, भात नखाने गरेर घुक्र्याउँथें । मेरा कुनै माग पूरा हुन्थे, कुनै पूरा गर्न नसकिने हुन्थे । कुनै माग पूरा गर्न सकिने भए पनि विविध कारणले गर्दा आमाले त्यो पूरा गर्ने चासो देखाउनुहुँदैनथ्यो ।

मेरोमात्र हैन, सबैजसो बालबालिकाले आफ्नो बाल्यकालमा कुनै न कुनै समय यो अनुभव गरेकै हुन्छन् । त्यस्तै खेल अहिले डा. गोविन्द केसी र सरकारबीच भैरहेको अनुभूति हुन्छ ।

डा. केसीले माग राख्छन्, सरकारले वास्ता गर्दैन, उनी अनशन बस्छन्, सरकार अमूक नै रहन्छ । नागरिकहरूबाट केसीको पक्षमा दबाव सृजना हुन्छ, सरकारले वार्ता गरेको नाटक गर्छ, सम्झौता हुन्छ, सरकारले आफ्नो रवैया परिवर्तन गर्दैन, सम्झौताका कागत रद्दीको टोकरीमा जान्छन् र केही समयपछि डा. केसी पुनः सत्याग्रहमा बस्छन् । यही चक्र फेरि दोहोरिन्छ ।

यही चक्र दोहोरिने क्रममा पुनः अर्को चक्र सुरु भएको छ । विभिन्न माग राखेर डा. केसीले फेरि अनशन सुरु गरेका छन् । आठ वर्षमा उनको यो १९ औं अनशन हो । अर्थात् औसतमा उनले एक वर्षमा कम्तिमा पनि दुईपटक अनशन बसेका छन् ।

निसन्देह, डा. केसीले राखेका मागहरू जनताका पक्षमा छन् राज्यको हितमा छन् । केसीले कुनै पनि कपट नराखेर, कसैको बहकाउमा नआएर अनि कुनै पनि आफ्नो व्यक्तिगत या कुनै दल या समुहको स्वार्थमा नपरेर देश र जनतालाई सुलभ चिकित्सा सेवा प्राप्त होस्, सुशासन होस्, भ्रष्ट्राचार बन्द होस् भनेर आफ्नो अभियान सुरु गरेका हुन् । सुरुमा उनको त्यो अभियानले जनतालाई निकै उत्साहित बनायो र आकषिर्त पनि गर्‍यो । तर, अहिले त्यसलाई ध्यान दिन धेरैलाई फुर्सद छैन ।

आमाले मेरा केही मागहरू पूरा गर्न नसकेजस्तै या पूरा गर्न नचाहेजस्तै उनका अधिकांश मागहरू सरकारले जानीजानी पूरा गर्न चाहँदैन । सरकारका पनि आफ्नै प्राथमिकता छन्, आफ्नै राजनैतिक, व्यक्तिगत, पारिवारिक र आर्थिक स्वार्थ छन् । सरकार र दलहरूको लागि ‘मेडिकल माफिया’ र कमिसन केसीको ज्यान र जनताको स्वास्थ्यभन्दा महत्त्वपूर्ण छ । त्यो कुरा सायद डा. केसीलाई पनि थाहा छ र राजनीतिमा रुची राख्ने अधिकांश जनतालाई पनि थाहा छ । सरकारले केसी र जनता भुलाउन त्यही केटाकेटीको खेल खेल्न सुरु गरेको हो भन्ने पनि अब प्रष्ट भैसकेको छ । त्यसैले केसीको एकल प्रयास र उनका सत्याग्रहरूबाट सबै समस्या सुल्भिmने आशा गर्नु दिवास्वप्न देख्नुजस्तै हो ।

विगतका उनका सत्याग्रहहरू हेर्दा उनका केही सत्याग्रहहरू विविध कारणले बीचमै तुहेका पनि छन् । यसरी पटक-पटक अनशन बस्ने अनि बीचमै तुहिने कारणले गर्दा जनतामा उनको सत्याग्रहप्रति भरोशा पनि धेरैसम्म टुटिसकेको छ । उनका सुरुसुरुका सत्याग्रहमा जति जनचासो हुन्थ्यो, त्यो हराएको छ ।

यसको ठ्याक्क विपरीत उनले लगातार कुनै उलेख्य उपलब्धीविना सत्याग्रह तोड्दा मेडिकल माफिया र उनीहरूको हितमा काम गर्ने सरकारका अधिकारीहरूको मनोबल पनि बढेको छ । अहिले सरकार र मेडिकल माफियाहरू निकै बाठा भैसकेका छन् । उनीहरूले डा. केसी, उनका समर्थक र आम जनताको भावना बुझिसकेका छन् र केसीले सत्याग्रह सुरु गरे पनि कुनै न कुनै बहानामा सरकारले त्यसलाई सजिलै तुहाउन सक्नेछ भन्नेमा उनीहरू विश्वस्त देखिन्छन् ।

‘धेरै खाएपछि चिनी पनि तीतो हुन्छ’ भन्ने नेपाली उखान छ । डा. केसीको सत्याग्रहले त्यस्तै ‘तीतो’ हुन थालेको त हैन भन्ने अनुभूति भएको छ । सामान्य नागरिकहरू, जो पहिले डा. केसीको समर्थक थिए, उनीहरूले पनि उनको पटक-पटकको सत्याग्रह देख्दा ‘बुढो अरू काम छैन खालि अनसन बसेको छ’ भनेर भन्न थालिसके ।

हुन त उनका क्रियाकलापले अवश्य पनि सरकार र मेडिकल माफियाहरूलाई केही हदसम्म भए पनि नियन्त्रित गरेका छन् र चिकित्सा क्षेत्रमा केही सुधारहरू हुन थालेका छन् । तर, खासै ठूलो सुधारका संकेतहरू जनताले अनुभव गर्न पाएका छैनन् र सामान्य जनताको जीवनमा उनको अनसनले केही तात्विक अन्तर ल्याएको छैन ।

मेडिकल माफियाको बाक्लो जालो अलिकति पनि टुटेको छैन । यो जालो यति व्यापक र बलियो छ कि त्यसले तलदेखि माथिसम्म सबैलाई नराम्रोसँग जेलेको छ । स्वास्थ्यकर्मी, नीतिनिर्माता, व्यापारीदेखि मन्त्रीहरूसम्म पनि यसबाट अछुतो छैनन् । त्यसैले त्यसबाट बाहिर निस्कन सबैलाई निकै अप्ठ्यारो छ । ‘लहरो तान्दा पहरो गर्जिने’ स्थिति छ र त्यही डरले सबै ‘तैं चुप मै चुप’ को अवस्थामा छन्। अहिले कुनै राम्रो मन्त्री आएर शुद्ध मनले दत्तचित्त भएर काम गर्न चाहे पनि तुरून्तै सबै कुरा सतहमा ल्याउन र तिनलाई समाधान गर्न निकै कठिन छ । त्यसैले सरकारले चाहेमा पनि डा. केसीका केही मागहरू पुरा गर्न अहिलेको सन्दर्भमा असम्भवजस्तै छ ।

पटक-पटकका असफल सत्याग्रहहरूले केसीको लोकपि्रयतामा ह्रासमात्र आएको छैन सत्याग्रहको दौरान यदि केसीलाई केही भइहाल्यो भने पनि खासै ठूलो कुरो हुने छैन भन्ने मानसिकतामा सरकार पुगेको छ । सकभर सामान्य सहमति गराएर तोडाउने, नभए जवर्जस्ती गर्ने र त्यो पनि नभए जेसुकै होला भनेर उनलाई त्यत्तिकै छाडिदिँदा केही भैहाल्यो भने पनि अहिले उनको समर्थनमा पहिलेजस्तो जनता सडकमा आउने माहोल छैन । त्यसैले योपटकको सत्याग्रहमा पनि सरकार कानमा तेल हालेर ढुक्कसँग बस्ने र सहमति गरेजस्तो गरेर त्यसलाई टुङ्याउने रणनीति लिने पक्का छ ।

केसीले पनि बुझिसकेको हुनुपर्छ कि सरकारले उनलाई केटाकेटीलाई भुलाएजस्तै भुलाइराख्ने नीति लिएको छ र उसको त्यो नीतिलाई पराजित गर्न केसीले पनि त्यहीअनुसार आफ्नो रणनीति बदल्नुपर्छ । सबै काम एक्लैले गर्न सकिदैन । अझ ठूलाठूला अभियानहरूमा त सामुहिक प्रयास नभएर सफलता हासिल गर्न सकिँदैन । केसीको अहिलेको अभियान निकै ठूलो अभियान हो । त्यसैले केसीले एकल प्रयास र मुढे बलमात्र लगाउनु भन्दा पनि यो अभियानलाई अब परिमार्जन गरेर अनशन बसेर आफ्नो जीउ गलाउनुभन्दा सामुहिक रूपमा अझ सशक्त र बढिभन्दा बढि जनताको समर्थन पाउने गरी अगाडि बढाएर लैजानु नै केसी, उनका समर्थक र सबै सामान्य नेपाली नागरिकको हितमा हुनेछ ।

अझै पनि उनका समर्थकहरूको कमी छैन । उनले आफैं डाक्टर र प्राध्यापक भएर काम गरेको हुनाले पनि उनका सहकर्मीहरू र उनका विद्यार्थीहरूले उनलाई अवश्य साथ दिने नै छन् । त्यसको अतिरिक्त उनको अभियान र त्यसले जनताको लागि ल्याउने फाइदाबारे सामान्य जनताले बुझ्ने गरेर सम्झाउन सके काठमाडौँका शिक्षित जनतामात्र होइन, देशका सबै ठाउँका जनताले पनि उनलाई साथ दिनेछन् ।

अहिले डा. केसीको पक्षमा जनमाहोल भए पनि उनको पक्षमा दिनरात खटेर काम गर्ने व्यक्तिहरू निकै कम छन् । उनले अब आफ्ना समर्थकहरूलाई एकत्रित गरेर, अस्पतालहरूका चिकित्सक तथा स्वास्थ्य कर्मी अनि विद्द्यार्थीहरू सबैलाई मिलाएर संगठित र व्यवस्थित रूपमा रूपमा यो अभियानलाई अगाडि नबढाएसम्म अहिलेको सत्याग्रहले मात्रै निकास पाउने स्थिति छैन ।

डा. केसीले सत्याग्रहको रूप परिवर्तन नगरे निष्कपट देश र जनताको पक्षमा आफ्नो स्वास्थ्यसमेत पर्वाह नगरी उनले गर्ने सत्याग्रह केटाकेटीको खेल बन्न बेर छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment