
६ असोज, काठमाडौं । सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गरेको छ ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले असोज २४ गतेका लागि तय भएको निर्वाचन रोक्ने निर्णय गरेको कानूनमन्त्री डा. शिवमाया तुम्बाहाम्फेले बताइन् ।
मन्त्रिपरिषद बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचनका लागि देशका विभिन्न ११० ठाउँमा स्थापना गरेको निर्वाचन कार्यालयका कर्मचारीको काज फिर्ताको निर्णय पनि गरेको छ भने प्रमुख निर्वाचन अधिकृतलाई पनि फिर्ता बोलाएको छ ।
सोमबार श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद बैठकले आधिकारिक ट्रेड युनियनको हालको कार्यसमितिको म्याद वैशाख मसान्तसम्म थप गरेको छ । आधिकारिक ट्रेड युनियनको हालको कार्यसमितिको म्याद गत जेठ १९ गते नै सकिएको थियो ।
तर काबुबाहिरको परिस्थिति भए उक्त कार्यसमितिको म्याद एक वर्षसम्म थप गर्न पाइने व्यवस्था गरिएको छ । यसअघि कोरोना भाइरसको महामारीका कारण जेठमा चुनाव गर्नु सम्भव नहुने भन्दै असोजमा सारिएको थियो । तर असोज २४ गते पनि कोरोना महामारीकै कारण फेरि स्थगित गरिएको हो ।
आधिकारिक ट्रेड युनियनका अध्यक्ष भोलानाथ पोखरेलले सरकारले निर्वाचन गर्नु उपयुक्त नहुने देखेर स्थगित गरेको हुनसक्ने बताए । ‘सरकारले प्राइभेट सेक्टरको संघसंस्थाको पनि निर्वाचन रोकेको छ, निर्वाचन गर्न अप्ठेरो परिस्थिति भएर हुन सक्छ’ उनले भने ‘राष्ट्रसेवक निजामती कर्मचारीले एकजुट भएर कोभिडसँग लड्नुपर्ने स्थिति आएको छ ।’
अहिले निजामती कर्मचारीले कोभिड १९ सँगको लडाइ लड्नुपर्ने कार्यभार सम्पन्न गर्ने र अनुकुल समयमा निर्वाचन गर्नुपर्ने उनले बताए ।
प्रतिक्रिया 4