Comments Add Comment

मधेसमा पञ्चायती व्यवस्था !

घटना एक- सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ की १७ वर्षीया किशोरी २९ भदौमा खेतमा काम गर्न जाँदा चार युवकद्वारा सामूहिक बलात्कृत भइन् । घट्नापछि गाउँका पञ्चको पञ्चायती बस्यो । पञ्चायतीमा बलात्कारीलाई कानुनअनुसारको कार्बाही गराउनुपर्नेमा पञ्चले बलात्कारीलाई ५५ हजार जरिवाना तिराउने निर्णय सुनाए । बलात्कृत किशोरीलाई प्रहरीमा नजान चेतावनीसमेत दिए ।

बलात्कारपछि गाउँमा भेला भएका पञ्चको यस्तो पञ्चायतीपछि ती किशोरीले आत्महत्या नै गरिन् । किशोरीले आत्महत्या गरेपछि प्रहरीले त्यस्तो निर्णय गर्ने तीनजना पञ्च र चारमध्ये दुई बलात्कारीलाई पक्राउ गरेको छ ।

घटना दुई : सिरहाको लहान नगरपालिका २४ निवासी श्यामलाल रामका जेठी छोरीको विवाह १२ असारमा सप्तरीको सुरुङ्गा नगरपालिकाका युवकसँग तय गरियो । गाउँकै युवकसँग प्रेममा रहेकी उनकी छोरी आफ्नो विवाह हुने खबर पाएपछि असारको पहिलो साता किशोरी आफ्नो प्रेमीसँग भागिन् ।

यो विषयमा पञ्चले १० असारमा पञ्चायती बसाए । छोरी भागेपछि श्यामलाललाई पञ्चायतले ६० हजार रुपैयाँ जरिवाना तिर्न भन्यो । यसका साथै मासुभातको भोज गर्नुपर्ने समेत पञ्चको निर्णय थियो ।

जेठी छोरीका निम्ति २ लाख दाइजो र चार आना सुन दिइसकेर जेठी छोरी भागेपछि केटा पक्षले श्यामलालकी कान्छी छोरीसँग नै विवाह गर्ने बताएका थिए । तर, पञ्चले जरिवाना वापतको ६० हजार नतिरेसम्म त्यो विवाह पनि हुन नदिने बताएपछि श्यामलालले पञ्चको धेरैपटक खुट्टा ढोगे । बिन्ती गरे । तर, कसैले सुनेनन् । अन्ततः उनी घर नजिकैको बगैंचामा झुण्डिएर आत्महत्या गर्न बाध्य भए ।

यो पनि पढ्नुहोस गाउँका ‘पञ्च’हरुले प्रहरी भेट्न नदिएपछि बलात्कार पीडितद्वारा आत्महत्या

घटना तीन : सिराहाको नवराजपुर गाउँपालिका वडा नम्बर ५ की ४५ वर्षीया मूर्तीदेवी यादव बोक्सी हुन भन्ने प्रमाणित गराउन पनि पञ्चायती बस्यो । २६ भदौको राति १० बजेतिर स्थानीय शिव मन्दिर प्राङ्गणमा पञ्च भेला भए । पञ्च भेला भइसकेपछि मुर्तीदेवीका पति रामनारायणलाई घरबाट बलजफ्ती उठाएर ल्याइयो ।

रामनारायणलाई ल्याइएपछि पञ्चले उनीसँग प्रश्न गरे, “तिम्री श्रीमती बोक्सी होइन् ?” उनले अस्वीकार गरेपछि मुर्तीदेवीलाई पनि घिसार्दै पञ्चायतीमा ल्याइयो । र, रामनारायणकै सामुन्ने मरणासन्न हुने गरी कुटपिट गरियो । रक्ताम्य भएकी मूर्तीदेवीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । घटनापछि प्रहरीले ‘भेदभाव तथा अन्य अपमानजनक व्यवहार सम्बन्धी कसुर बोक्सीको आरोप’ शीर्षकमा मुद्दा दायर गरेको छ ।

सिराहा प्रहरीका प्रवक्ता शालिकराम पौडेलले घटनामा संलग्न भएकाहरु फरार भएको र उनीहरुको खोजी भइरहेको जनाएका छन् ।

मधेसमा पञ्चायती व्यवस्था

पञ्च र पञ्चायती । यो कुनै नौलो शब्द होइन । पञ्च भनेको गाउँका अगुवा र पञ्चायती भनेको छलफल गरिने विधि हो । समाजमा शान्ति, अमनचयन स्थापना गर्न, सामान्य गल्ती गर्नेलाई दण्डित गर्न धेरै पहिलादेखि पञ्चायती गाउँ, समाजमा गरिँदै र हुँदै आएको छ ।

माथि प्रस्तुत गरिएका दृष्टान्तले पञ्चायती अदालतभन्दा ठूलो न्यायिक क्षेत्र बन्न खोजेको देखिन्छ । सामान्य किसिमका बादविवाद मिलाउनुभन्दा जघन्य अपराधका घटनालाई समेत गाउँमै बलजफ्ती तरिकाले मिलापत्र गराउनेतर्फ पञ्च सकृय भइरहेका छन् ।

स्थानीय तहको पुर्नसंरचनापछि सबै स्थानीय तहमा न्यायिक समिति पनि गठन गरिएको छ । स्थानीय तहका उप प्रमुखको नेतृत्वमा रहेको यो समितिले विवाद निरुपण गराउने काम गर्ने भनिए पनि गाउँघरका विवाद यहाँसम्म पुग्न नदिई पञ्चायतीकै माध्यमले एकतर्फी रुपमा मिलान गर्ने प्रयास भइरहेको छ ।

परम्परागत नै हो पञ्चायती

लाभ र यादवले पञ्चायतीलाई राम्रो परम्परा भने पनि पछिल्लो समयमा मान्छे मार्ने छलफलका रुपमा विकसित हुँदै गएको छ । जसलाई लिएर यी दुवै चिन्तासमेत व्यक्त गर्छन्

गाउँघरका साना विवादलाई सल्टाउनकै लागि मुलुकमा पञ्चायती व्यवस्था ल्याइएको बताउँछन् राजनीतिक विश्लेषक सुरेन्द्र लाभ । साना विवादलाई सुल्झाउनकै लागि पञ्चायती व्यवस्था लागू भएको थियो’ उनी भन्छन्, ‘तर पछि त्यसले अर्कै मोड लियो ।’

पञ्चायती व्यवस्थाले राजनीतिक मोड लिएको उनले बताए । यो व्यवस्थाले राजनीतिक मोड लिएपनि गाउँघरमा पञ्चायती कायमै छ । यो जारी रहनुपर्नेमा जोड् दिन्छन् उनी । उनी पञ्चायतीलाई सामाजिक सम्पदाका रुपमा व्याख्या गर्छन् ।

उनी भन्छन् ‘सामाजिक सम्पदा हो पञ्चायती । यसलाई अरु परिमार्जन गरी अरु विकास गर्नु जरुरी छ’ उनी भन्छन्, ‘सामान्य झैंझगडा, विवाद, पञ्चैती स्वभाविक हो । यसलाई अदालतले पनि स्वीकार गरेको छ । यो परम्परागत हो, कुनै नयाँ होइन ।’

समाजलाई नजिकबाट हेर्दै आएका समाजशास्त्रका प्राध्यापक अजय यादव पञ्चायतीलाई परम्पराका रुपमा व्याख्या गर्छन् । ‘पञ्चायती छलफलको राम्रो माध्यम भएकै कारण अहिलेका पुस्ताले पनि यसलाई निरन्तरता दिइरहेका छन्’ उनी भन्छन्, ‘तर कुन विषयको पञ्चायती गर्नुपर्ने हो, कुन होइन भन्ने हेक्का चाहिँ हुनैपर्छ ।’

सामाजिक मान्यता भएको पञ्चायती वाद-प्रतिवाद व्यवस्थापन गर्ने थलो रहेको भन्दै यादव समाजका गन्यमान्य व्यक्ति, मुखिया, प्रहरी, वडा अध्यक्षको रोहबरमा बादविवादको छलफल हुनु धेरै राम्रो कुरा भएको बताउँछन् ।

लाभ र यादवले पञ्चायतीलाई राम्रो परम्परा भने पनि पछिल्लो समयमा मान्छे मार्ने छलफलका रुपमा विकसित हुँदै गएको छ । जसलाई लिएर यी दुवै चिन्तासमेत व्यक्त गर्छन् ।

लाभको धारणामा फौजदारी हत्या, बलात्कारमा पञ्चायती गरेर मिलाउन खोज्नु धेरै खराब हो । ‘कानुनतः फौजदारी घटना घटाउनेलाई कार्वाही हुनैपर्छ’ उनी भन्छन्, ‘पञ्चायतीका नाममा, सम्झौताका नाममा दुबै पक्षलाई मिलाउन खोजिन्छ, यो अपराध हो ।’

फौजदारी घटनालाई मिलाउन खोज्नुमा निहित स्वार्थ देखिएको बताउँछन् उनी । कतिपय ठाउँमा अज्ञानतावश पनि यस्तो गर्ने गरिएको बताउँदै पञ्चहरुलाई पनि केमा हात हाल्नुपर्ने हो वा होइन भन्ने कुरा बुझ्न जरुरी भएको उनको भनाइ छ ।

राजनीतिबाट प्रभावित देखिन थाल्यो

राजनीतिक विश्लेषक लाभ राजनीति गर्न कुनै इस्यू नभेटिए यस्ता यस्ता इस्यूमा पनि पनि हात हाल्न थालिएकाले यस्ता निर्णय हुन थालेको बताउँछन् । ‘राजनीति गर्नेले आफ्नो सीमा बुझेका हुँदैनन्’ उनी भन्छन्, ‘समाजमा पहिला यसलाई षडयन्त्र भनिन्थ्यो, त्यसलाई अब राजनीतिक भनिन थालियो ।’

दलका नेताले कुन मुद्दामा पञ्चायती गर्ने/नगर्नेमा ध्यान दिनु जरुरी छ’ लाभ भन्छन्, ‘किनभने यस्तो मुद्दामा परेपछि मान्छेले दलाल भन्न थाल्छन् । आफ्नो छवि स्वच्छ बनाउन पनि यस्तो मुद्दाबाट पछाडि रहनु र अपराधीलाई सजाय दिलाउनु जरुरी छ ।’

प्राध्यापक अजय यादव हाम्रो समाज राजनीतिकबाट प्रभावित रहेको बताउँछन् । समाजको सिस्टमभन्दा राजनीतिक सिस्टम माथि छ । अर्काे कुरा, समाजमा पुरुष प्रधानता पनि छ । त्यसैले यस्ता परिणाम देख्नुपरिरहेको छ’ उनी भन्छन् ।

सप्तरी जिल्लामा आफ्नो कार्यकाल सकेर अहिले सर्लाहीमा प्रमुख जिल्ला अधिकारी रहेका सुरेन्द्र पौडेल पनि राजनीतिक दलका नेताले यस्ता पञ्चायतीलाई प्रश्रय दिइरहेको बताउँछन् । ‘यसले भोलि समाजलाई खोक्रो बनाउँछ’ उनी भन्छन् ।

मधेस हेरेका सिडिओ भन्छन्- जघन्य अपराधमा पञ्चायती दुर्भाग्य बन्दैछ

महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल अहिलेको पञ्चायती दुर्भाग्य बन्न थालेको बताउँछन् । प्रदेश २ को सप्तरी, सर्लाही हुँदै अहिले महोत्तरीका प्रशासक उनी दलाली गर्न, पैसा उठाउन नै यस किसिमका पञ्चायती हुने गरेको बताउँछन् ।

गाउँघरमा केही मान्छे खराब रहेको भन्दै उनी त्यस्ता प्रवृत्तिका मान्छे पञ्चायती गर्ने, पैसा खाने, मान्छेलाई उचाल्ने काममा लाग्ने गरेको देखेको बताए ।

पञ्चायतीको केही राम्रो पक्ष पनि हुने गरेको तर त्यो छायाँमा परेको उनी बताउँछन् । उनी गम्भीरखालको घटनामा पीडित पक्ष चुप लाग्दा समस्या आउने गरेको उल्लेख गर्छन् ।

कटुवाल अहिले जघन्य अपराधका धेरै घटना प्रहरी प्रशासनसम्म आउन थालेको बताउँछन् । ‘बलात्कार, बहुविवाह, बालविवाहजस्ता घटना लोकलाजका कारण पनि बाहिर आउन नदिन गाउँमै मिलाउने गरेको पाइएको छ’ उनी भन्छन्, ‘जानकारीमा आएको घटनामा हामीले हात हाल्ने गरेका छौं ।’

यो पनि पढ्नुहोस संगीतालाई कसले मार्‍यो : बलात्कारी कि गाउँका अगुवाले ?

सर्लाहीका प्रमुख जिल्ला अधिकारी पौडेल अहिले पनि धेरै विवादहरुको समाधान पञ्चायतीमार्फत नै भइरहेको बताउँछन् । उनी पञ्चायतलाई अनुपयुक्त ठान्दैनन् । ‘पञ्चायत अनुपयुक्त होइन । हाम्रा पूर्खाले यसलाई त्यसै अपनाएको होइन । राम्रो पनि हो’ उनी भन्छन्, ‘तर कस्ता बिषयमा पञ्चायती गर्ने हो, त्यसमा निर्भर पर्छ ।’

खेत, खलिहान, लेनदेन, घरायसी सामान्य विवाद, बाटो, कुलो, पैनीका विवाद पञ्चायती सिस्टमबाट गरेको राम्रो हुने प्रजिअ पौडेल बताउँछन् । उनी भन्छन्, ‘अपराधजन्य घटनामा पञ्चायती गर्नु ठीक होइन ।’

जघन्य अपराधीलाई जोगाइरहने पञ्चायतीले भोलि तराई मधेसलाई नै खान सक्ने उनको धारणा छ ।

प्रहरीले जघन्य अपराधमा मिलापत्र गराउँदैन

पञ्चायतीलाई प्रहरीले पनि खराब मान्दैनन् । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक धिरजप्रताप सिंह ७० प्रतिशत सामान्य विवाद पञ्चायतीबाटै निरुपण भइरहेकाले यसलाई खराब भन्न नमिल्ने बताउँछन् । पञ्चायतीले तत्कालै न्याय समेत दिने भएकाले धेरै राम्रो भएको उनी बताउँछन् ।

सानो विवाद तत्काल नसल्टाउँदा ठूलो रुप लिन सक्ने भएकाले समयमै न्याय दिइने पञ्चायती धेरै राम्रो भएको उनको भनाइ छ । दुवैतर्फका मान्छेसँग वार्गेनिंग गर्ने क्रम बढेपछि पञ्चायतीमा विकृति देखिएको सिंहको भनाइ छ ।

उनी हत्या, बलात्कार, बलात्कार उद्योग, लागूऔषधसहित जघन्य अपराधका घट्नामा पञ्चायती गराउनु ठीक नहुने बताउँछन् । यस्ता घटनामा कुनै पनि हालतमा मिलापत्र नगराउन प्रदेशका सबै प्रहरीलाई हार्डलाइनमा निर्देशन दिइसकिएको सिंहले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment