Comments Add Comment

कर्णालीका सांसद कँडेलले विपक्षी दलको नेताको सुविधा नलिने

७ असोज, सुर्खेत । कर्णाली प्रदेशसभाका नेकपा सांसद यमलाल कँडेलले २०७७ साउनदेखि विपक्षी दलका नेतासरह सुविधा नलिने बताएका छन् । तत्कालिन एमालेबाट निर्वाचित सांसद कँडेलले विपक्षी नेतासरह सुविधा लिदै आएका थिए ।

कँडेलले भदौ ३० गते प्रदेशसभा सचिवालयलाई एक पत्र लेख्दै आर्थिक वर्ष २०७७ को साउनदेखि प्रदेशसभा सदस्यको मात्र सुविधा दिन भनेका छन् ।

‘प्रदेश सरकारको मिति २०७५ असार १६ गतेको निर्णय अनुसार पारिश्रमिक तथा सुविधा लिदै आएकोमा आर्थिक वर्ष २०७७ साउनदेखि प्रदेशसभा पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी व्यवस्था गर्न बनेको ऐन अनुसार उपलब्ध गराई दिनुहुन अनुरोध गर्दछु’ कँडेलले सचिवालयमा दर्ता गराएको निवेदनमा उल्लेख छ ।

प्रदेशसभा गठन भई सरकार गठन हुँदा तत्कालिन माओवादी केन्द्रका महेन्द्रबहादुर शाही मुख्यमन्त्री निर्वाचित भएपछि प्रदेशसभाको ठूलो दल तत्कालिन नेकपा एमालेका नेता कँडेल विपक्षी दलको नेता बनेका थिए । तर तत्कालिन एमाले र माओवादी एकता भइसक्दा पनि उनले विपक्षी दलको नेतासरह सुविधा लिँदै आएका थिए ।

सत्तारुढ सांसदलाई पनि विपक्षी दलको नेतासरह सुविधा दिएको भन्दै महालेखा परीक्षकको कार्यालयले कँडेलको नाममा ८ लाख २० हजार बढी भुक्तानी दिएको उल्लेख गरेको थियो ।

प्रदेश सरकारले २०७५ असार १६ गते कँडेलललाई गाडीसहित थप सुविधा दिने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment