Comments Add Comment

अनुगमन टोली देखेपछि प्याजको भाउ आधा घट्यो !

८ असोज, काठमाडौं । बिहिबार बिहान महानगरपालिकाको बजार अनुगमन टोली मनोहराको तरकारी बजारमा पुग्यो । बजारमा रहेको सुनापति आलु प्याज सप्लायर्सले अनुगमन टोलीलाई प्याजको मूल्य प्रतिकिलो १२० रुपैयाँ बताए । प्याजको खरिद मूल्य अनुगमन टोलीले मागेपछि नजिकैको अर्का प्याज पसलले एकाएक डराए ।

अनुगमन टोलीका एक प्रतिनिधिकाअनुसार सलेज आलु प्याज भण्डारले तत्कालै प्रतिकिलो ६० रुपैयाँमा प्याज बिक्री गर्न थाल्यो । एक पसलमा भएको अनुगमनमा अर्को पसलेले आधी मूल्य घटाएपछि उपभेक्ताहरु हाँस्न थाले ।

‘हिजो बेलुकी १४० भन्दै थिए, अनुगमन टोली आएको थाहा पाएर ८० रुपैयाँ घटाएछन्’ एक उपभोक्ताले भने । प्याजको मूल्य आधा भन्दा धेरै घटेपछि अनुगमन टोलीकै सामुन्नेमा प्याज रित्तिएको थियो ।

अनुगमनको क्रममा बजारको पनौती सैजु आलु प्याज भण्डारले १०५ रुपैयाँ किलोमा प्याज बिक्री गरेको पाइएको थियो । यस्तै युपी आलु प्याज भण्डारका सञ्चालकले खुद्रा मूल्य ११५ रुपैयाँ र बोरा किन्दा १०५ रुपैयाँ प्रतिकिलोमा प्याज बिक्री गरेको भेटिएको थियो ।

बढी मूल्यमा प्याज बिक्री गर्ने, खरिद तथा बिक्री मूल्य नराख्ने व्यापारीलाई अनुगमन टोलीले कागजात लिएर महानगरको कृषि विभागमा सम्पर्क गर्न निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment